वन्यजन्तु पीडितलाई राहत प्रदान
जोमसोम : मुस्ताङमा वन्यजन्तु पीडित परिवारलाई राहतस्वरूप दुई लाख २९ हजार रूपैयाँ वितरण गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा वन्यजन्तुको आक्रमणमा परि क्षति व्यवहोरेका चारवटा स्थानीय तहका पीडित पशुपालक किसानलाई कुल दुई लाख २९ हजार ६ सय रुपैयाँ प्रदान गरिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट घाइते भएका, बालीनालीमा क्षति पुगेका तथा घरपालुवा जनावरमा क्षति पुगेका परिवारलाई राहतस्वरूप रकम प्रदान गरिएको हो।
हिमाली कालो भालुको आक्रमण परी घाइते भएका थासाङ गाउँपालिका-३ धम्पु बस्ने स्थानीय रेशमबहादुर पुर्जालाई उपचार खर्चवापत २३ हजार ४ सय र हिमाली कालो भालुको आक्रमण परी घाइते भएकी थासाङ गाउँपालिका-४ की अर्का स्थानीय रविना थापामगरलाई उपचार खर्चवापत १८ हजार २ सय ९० रूपैया प्रदान गरिएको हो।
थासाङमा हिमाली कालो भालुले स्थानीयको बालीनाली सखाप पार्ने गरेको छ भने स्थानीयलाई चरनक्षेत्र र गाउँबाहिर हिँडडुल गर्न समेत जोखिम बढेको छ।
आर्थिक वर्ष २०७८/७९ मा हिमचितुवाको आक्रमण परी ६ घरधुरीका ३१ वटा भेडाच्यांगा मरेका थिए। घरपझोङ-४ जोमसोमका पशुपालक मनोज विश्वकर्माको गत असोज १२ गते गोठमै पसेर हिमचितुवाले छवटा च्यांग्रा र एउटा भेडा मारेको थियो।
पीडित विश्वकर्मालाई एक्यापले ३६ हजार ६ सय राहत दिएको छ। मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमका अर्का पशुपालक किसान ङिमा साम्तु गुरुङको पनि गत मंसिर ७ गते हिमचितुवाले दुईवटा च्यांग्रा खाइदियो। ङिमा साम्तुलाई पनि एक्यापले राहतस्वरूप नगद १४ हजार रुपैयाँ दिएको छ।
घरपझोङकै पशुपालक सुनिल नेपालीको तीनवटा च्यांग्रा हिमचितुवाले मार्यो। उनलाई पनि १७ हजार रूपैयाँ उपलब्ध गराइएको छ। जोमसोमका अर्का पशुपालक पंचल विकको एउटा झोपा हिमचितुवाले आक्रमण गरी मारेको थियो। उनलाई राहत स्वरूप २४ हजार दिइएको छ।
थासाङमा हिमाली कालो भालुको आतंक र घरपझोङमा हिमचितुवाको आतंक बढेपनि पछिल्लो समय उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ पनि हिमचितुवाले पशुचौपायामा क्षति बनाउन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए।
आर्थिक वर्ष २०७७/७८ मा मुस्ताङका वन्यजन्तु पीडित पशुपालक किसानलाई एक्यापले ३ लाख ४८ हजार २ सय रुपैयाँ राहत वितरण गरेको थियो। सो वर्ष कुल ११ घरधुरीका दुईवटा घोडा, एउटा झोपा र ६१ वटा भेडाच्यांग्रा गरी ६४ वटा पशुचौपाया हिमचितुवाको आक्रमणमा परेका एक्याप जोमसोमको रेकर्डमा उल्लेख छ।
मुस्ताङमा संरक्षित हिमचितुवा र भालुलगायतका वन्यजन्तुले मानव र पशुचौपाया क्षति बनाउने घटना बढ्दै गइरहेको छ। पीडित पशुपालकहरू क्षतिपूर्तिका लागि दावी गर्न एक्याप कार्यालयसम्म पुग्न सकेका छैनन्। एक्याप कार्यालय प्रमुख सुवेदीका अनुसार वन्यजन्तुको आक्रमणले कुनै घटना वा पशुधनको क्षति पुग्न गएमा राहतका लागि निवेदन, घटनास्थलको मुचुल्का, क्षति पुग्न गएको पशुचौपायाको प्रमाणीकरणका लागि फोटो, स्थानीय संरक्षण समितिको सिफारिस र वडा कार्यालयको क्षतिपूर्ति सम्बन्धी सिफारिस पेश गर्नुपर्नेछ।
क्षतिपूर्ति रकम कम र प्रक्रिया पिन झन्झटिलो भएकाले राहतका लागि पीडित एक्यापसम्म जाँदैनन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्रका वन्यजन्तु पीडित पशुपालकलाई एक्यापले बर्सेनि आर्थिक सहयोग स्वरूप राहत वितरण गर्ने गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए।
नेपाल सरकारको वन्यजन्तु क्षतिको राहत सहयोग निर्देशिका २०६९ को तेश्रो संसोधन २०७५ बमोजिम उल्लेखित हात्ती, गैडा, बाघ, भालुलगायतका विभिन्न १४ वटा वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा १० लाखसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ।
आक्रमणमा परी गम्भीर घाइते भएको अवस्थामा बढीमा २ लाखसम्म राहत दिने व्यवस्था भएको कार्यालय प्रमुख सुवेदीले बताए। बाघ,चितुवा, हिँउ चितुवालगायतका सातवटा विभिन्न वन्यजन्तुकोले पशुधनको क्षति भएमा भेडाच्यांग्रा, बाख्रालाई बढीमा १० हजार र वयस्क भैसी, रागो वा गोरु र उन्तत जातको गाई क्षति भएमा बढीमा ३० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था निर्देशिकामा उल्लेख छ।
हिमचितुवा र हिमाली भालुको क्षति नियन्त्रण तथा व्यवस्थापनमा आवश्यक उपकरणको प्रयोग नभएको तथा वन्यजन्तुको जोखिमका लागि सावधानी अपनाउन नसक्दा बर्सेनि मुस्ताङका पशुपालक किसान मर्कामा पर्ने गरेको मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघका अध्यक्ष करन ताङ्वेले उल्लेख गरे।