बाघ जोगाउनै सकस
गुलरिया : नेपालमा लोपोन्मुख पाटेबाघको संख्या दोब्बर बढेसँगै संरक्षणमा गम्भीर चुनौती देखापरेको छ। देशका बाघ पाइने जंगलहरूमा बाघले मान्छे मार्ने क्रम नथामिएपछि मानव समुदाय र बाघबीच सहअस्तित्व खल्बलिएको छ। दिगो बाघ संरक्षणका लागि राष्ट्रिय रूपमै बाघ संरक्षणको भरपर्दो रणनीति बनाएर यसको संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गर्न थालिएको छ।
जैविक विविधतामा पारिस्थितिक प्रणालीको सूचक मानिने बाघका प्रजातिहरू पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेपछि विश्वका बाघ पाइने १३ देश संरक्षणमा लागेका छन्। बासस्थान विनाश, आहाराको कमिलगायत बढ्दो चोरी, सिकारका कारण बाघका उपप्रजाति लोप हुने अवस्थामा पुगेका हुन्। विश्वमा पाइने ९ उपप्रजातिमध्ये सन् १९४० को दशकमा बाली, १९७० को दशकमा क्यास्पिएन र १९८० को दशकमा जाभान ३ उपप्रजातिका पाटेबाघ संसारबाटै लोप भइसकेका छन्।
अस्तित्वमा रहेका बाघ विश्वबाटै लोप हुन सक्ने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशका प्रमुखबीच बैठक भएको थियो। उक्त बैठकले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता गरेको थियो। सोही अनुरूप नेपालमा पनि बाघको संरक्षण सुरु गरिएको हो।
नेपालले तोकिएको समयमै बाघको संख्या दोब्बर पारी प्रतिबद्धता पूरा गरेको छ। नेपालमा विश्व बाघ दिवसका अवसरमा बाघ गणनाको पछिल्लो नतिजा सार्वजनिक गरिँदैछ।
पछिल्लो सर्वेक्षणअनुसार बर्दियामा पाटेबाघको संख्या वृद्धि भएको अनुमान छ। निकुञ्ज प्रशासन, नेपाली सेना, स्थानीय समुदायलगायत संरक्षणमा आवद्ध संघसंस्थाहरूको सक्रिय सहभागिताले बाघको संख्या बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।
पाटेबाघ बढेसँगै यसको बासस्थान, आहारा व्यवस्थापन गर्न घाँसे मैदानहरूको संख्या थप वृद्धि गर्न आवश्यक छ। श्रेष्ठले भने, ‘बासस्थान, आहारा प्रजातिको घनत्व, चोरी सिकार तथा मानव–बाघबीचको द्वन्द्व बाघ संरक्षणको प्रमुख चुनौतीका रूपमा छ। उनका अनुसार बाघ बढेपछि द्वन्द्व निराकरण गर्दै सहअस्तित्व कायम गर्न ५ वर्षे रणनीतिक योजना बनाएर बाघ संरक्षणको कार्य अघि बढाइएको हो। राजमार्गहरूमा सवारी दुर्घटनाका कारण बाघ मर्ने क्रम बढ्दो छ। आहाराको खोजीमा जंगलबाहिर निस्कदा मानवीयलगायत पशुधनको क्षति बढेको छ।
भारतको कर्तनियाघाट वाइल्ड लाइफ सेञ्चुरी र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्गमा पछिल्लो समय मानव र बाघबीच द्वन्द्व बढेको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रवीण बिडारीले बताए। समुदायले मानवीय तथा पशुधनको क्षति व्यहोर्नु परेको छ।