उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रमा फोरजी सेवा

उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रमा फोरजी सेवा

जोमसोम : उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्र कोरला नाका क्षेत्रका बासिन्दालाई लक्षित गरेर फोरजी सेवा विस्तार गरिएको छ। नेपाल टेलिकमले द्रुत गतिको ब्रोडब्याण्ड (ताररहित) जिएसएम फोरजी इन्टरनेट सेवा विस्तार गरेको हो। 

उपल्लो मुस्ताङमा फाइबर नेटको पहुँच पुगेको छैन। यसअघि टेलिकमले नै थ्रिजी सेवा सञ्चालन गरेको थियो। थ्रिजी सेवा प्रभावकारी नहुँदा उपल्लो मुस्ताङका सेवाग्राहीले द्रुत गतिको इन्टरनेट उपयोग गर्न पाएका थिएनन्। 

जिल्लाको लोमान्थाङ-४ नाम्डोकमा रहेको थ्रिजी टावरमा बिहिबार ताररहित ब्रोडब्याण्ड जिएसएम फोरजी सेवा जडान गरेको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ र स्याङवचेमा द्रुत गतिको फोरजी सेवा सुरु गरिएको थियो। 

लोमान्थाङको नाम्डोकमा फोरजी जडान भएसँगै उत्तरी सीमावर्ती क्षेत्रका लगभग सबै गाउँहरूमा फोरजी इन्टरनेटको पहुँच पुगेको अध्यक्ष गुरुङले बताए। 'साविक थ्रिजी इन्टरनेट निकै सोलो थियो, अहिले फोरजी इन्टरनेट तिब्र गतिमा चलेको पायौ',अध्यक्ष गुरुङले भने, 'अब सरकारी कामकाजदेखि व्यक्तिगत प्रयोजनमा प्रयोग गरिने सबै सुविधा सहज भइसकेको छ।

यसले उपल्लो मुस्ताङबासीलाई निकै राहतको अनुभुती दिलाएको उनको भनाइ छ। यसैगरी नेपाल टेलिकमले शुक्रबार लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमीमा पनि द्रुत गतिको जिएसएम फोरजी इन्टरनेट जडान गर्दैछ। यसका लागि टेलिकमका प्राविधिक टोली घमी आएर प्राविधिक जडानको काम गरिहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। 

नेपाल टेलिकमले यसवर्ष मुस्ताङको मार्फा र खिङ्गामा नयाँ टावरसहित फोरजी इन्टरनेट सञ्चालनमा ल्याएको छ भने बाँकी ५ ठाउँमा पुरानै टावरमा फोरजी उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउँदैछ। टेलिकमले मुस्ताङको पाँच स्थानीय तहको पाँच स्थानमा गतवर्ष द्रुत गतिको फोरजी इन्टरनेट सञ्चालनमा ल्याएको थियो भने यसवर्ष थप सात स्थानमा फोरजी सेवा विस्तार गर्ने काम भइरहेको नेपाल टेलिकम बाग्लुङका कार्यालय प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए। उनले भौगोलिक विकटताका कारण फाइबर नेटको पहुँच नपुगेका स्थानमा फोरजी विस्तार गर्ने कार्य भइरहेको बताए।

टेलिकमले यसअघि मुस्ताङको जोमसोम, लेते, मुक्तिनाथ, लोमान्थाङ र चराङमा द्रुत गतिको जीएसएम फोरजी सेवा सञ्चालनमा ल्याएको थियो। यसवर्ष जोमसोम, मार्फा, खिङ्गा, घाँसा देउराली, कागबेनी, घमी र नाम्डोकमा फोरजी सेवा सञ्चालन हुने वरिष्ठ इन्जिनीयर शर्माको भनाइ छ। उनका अनुसार मुस्ताङका १२ स्थानमा फोरजी जडान हुने र बाँकी रहेको समर, छुसाङ र घाँसामा पनि चालु आर्थिक वर्षभित्रै फोरजी इन्टरनेट जडान गर्ने योजना रहेको छ।

नेपाल टेलिकम जोमसोमले मुस्ताङको शान्ता गाउँबाहेक सबै गाउहरूमा नेपाल टेलिकमको पहुँच विस्तार भएको जनाएको छ। भौगोलिक रूपले विकट र कम जनघनत्व रहेको शान्ता गाउँमा पनि चालु आर्थिक वर्षभित्रै थ्रिजी इन्टरनेट जडान गर्ने तयारी भइरहेको कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार सुर्खाङ र तेताङ गाउँमा भने साविक थ्रिजी सेवालाई निरन्तरता दिइनेछ।

ग्रामिण भेगमा ८०० मेगाहर्जमा फोरजी चल्ने हुँदा सिग्नल कभरेजको पहुँच पनि बढी ठाउँमा पुग्ने टेलिकम जोमसोमले जनाएको छ। फोरजी मोबाइल ब्रोडब्याण्ड उच्चगतिको मोबाइल सेवा हो। यसको क्षमता थ्रिजी भन्दा क्षमतायुक्त र तिव्र गतिको हुने टेलिकमले जनाएको छ। 

फोरजी इन्टरनेटको गति प्रतिसेकेन्ड एकसय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ। फोरजी इन्टरनेट साविक थ्रिजी भन्दा बढी प्रभावकारी हुने भएकालेले सेवाग्राहीले सजिलै भिडियो कल, च्याट गर्न सक्छन्। फोरजीले अहिलेको डिजिटल नेपालको लक्ष्यलाई पनि योगदान पुर्‍याउने कार्यालय प्रमुख श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.