मुस्ताङमा घाइते घोरलको उद्धार
जोमसोम : मुस्ताङको संरक्षित क्षेत्रमा घाइते घोरल भेटिएको छ। थासाङ गाउँपालिका-४ घाँसा गाउँ नजिकै पाखोमा शुक्रबार बिहान एक घाइते घोरल भेटिएको हो।
अन्नपूर्ण सरक्षित क्षेत्रको घाँसा गाउँ नजिकै प्रहरीले घाइते घोरल फेला पारेको हो। घाइते अवस्थामा भेटिएको घोरललाई घाँसा प्रहरी र स्थानीयको समन्वयमा जोमसोम ल्याइएको एक्याप जोमसोमले जनाएको छ। उक्त पोथी घोरलको अगाडिपट्टिको दुवै खुट्टा भाँचिएको छ।
घाइते घोरलको एक्याप कार्यालयमा ल्याएर भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक दुर्गानन्द मण्डलको टोलीले प्रारम्भिक उपचार गरेको कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए। संरक्षित क्षेत्रमा फेला परेको घाइते घोरलको स्वास्थ्य अवस्था सामान्य रहेको पशु प्राविधिक मण्डलले बताए।
एक्यापका अनुसार घाइते अवस्थामा फेला परेको घोरल निको भएपछि पुनः जंगलमै छाडिनेछ।