कर्मचारीले गरे सामान्य प्रशासन मन्त्रालय घेराउ
सन्धिखर्क : प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले सोमबार सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् ।
नायब सुब्बा बचाउ अभियानको पहलमा विभिन्न नारा र मागहरु लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।
प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन र सेवा प्रवाह गर्न सबैभन्दा महत्वपूर्ण भूमिकामा रहेका राजपत्र अनंकित कर्मचारीहरूले विगत लामो समयदेखि उठाउँदै आएका सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई नजरअन्दाज गरिएकोले सरकारको ध्यानाकर्षण गर्न यो कार्यक्रम राखिएको अभियन्ता एवं नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए ।
संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राखिनुपर्ने, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत र आन्तरिक/अन्तरतह प्रतिस्पर्धा २० प्रतिशत कायम गरिनुपर्ने, सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने तथा सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान समावेश गरी यथासिघ्र संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने माग गर्दै नायब सुब्बाहरुले विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।