पहिले मुखिया, अहिले न्यायिक समिति
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङका ९६ वटै गाउँवस्तीमा मुखिया प्रथा छ। मुखियाले गाउँभित्र भएका समस्या सुल्झाउने गर्छन्। लोमान्थाङमा सम्बन्ध बिच्छेदका लागि एक जोडी मुखियाको शरणमा पुगे। लोमान्थाङ गाउँका मुखिया हुन् ढुक्के बिष्ट। उनी लोमान्थाङ-५ का वडाध्यक्षसमेत हुन्। मुखियाको शरणमा पुगेका विवाहित जोडीलाई यसपटक भने गाउँपालिकामा पठाइयो।
सोमबार सम्बन्धबिच्छेद गर्ने हिसाबले त्यो जोडी गाउँपालिका कार्यालयमा पुगेको थियो। यसपछि लोमान्थाङमा पहिलो पटक सम्बन्ध विच्छेदको झगडा छिनोफानो गर्न न्यायिक समितिको बैठक बस्यो। संघीयताको पहिलो कार्यकालमा न्यायिक समितिमा कुनै मुद्दा परेको थिएन।
सम्बन्ध तोड्ने उद्देश्यले ४० वर्षीय झाङजुक गुरुङ र श्रीमती छिरिङ ढिकी गुरुङ न्यायिक समितिको ढोकामा पुगेका थिए। श्रीमान् तिब्बती नागरिक हुन्। श्रीमती लोमान्थाङकै एक गरिब र विपन्न परिवारकी हुन्। झाङजुक सानै उमेरमा तिब्बतबाट भागेर काठमाडौं बसे। उनी त्यहाँ लामा भई बसेका थिए। उनी विस्तारै युवा हुँदै गए। त्यसपछि उनलाई घरको यादले तड्पायो। उनको घर उत्तरी कोरलानाकाबाट करिब चार घण्टामा पुग्न सकिन्थ्यो। बर्सेनि असार र साउनमा कोरलानाकामा व्यापार मेला लाग्ने गर्थ्यो। त्यही मेलामा कोरलानाकाबाट घर जान सकिन्छ भन्ने ठानेर उनी उपल्लो मुस्ताङ आए। तर उनी कोरलानाकाबाट घर जान पाएनन्। उनलाई चिनियाँ सुरक्षाकर्मीले कोरलाबाटै फर्काइदियो। त्यसपछि उनी काठमाडौं नफर्कि लोमान्थाङमै लामा काम गरेर बसे।
गुरुङकी आमा मात्र थिइन्। उनको बुबा बितिसकेका थिए। सानै उमेरदेखि आमासँगै लोमान्थाङको खर्कमा याकचौरी र भेडाच्याँग्रा हेर्दै बस्थिन। समय परिवर्तनसँगै छिरिङ पनि परिपक्क भइसकेकी थिइन्। दुवै जना लोमान्थाङमा बस्ने क्रममा भेट भयो। त्यसपछि उनीहरूबीच प्रेम सम्बन्ध बस्यो। उनीहरूले एक अर्कालाई मन पराए त्यसपछि दुवै वैवाहिक बन्धनमा बाँधिए। अहिले विवाह भएको १२ वर्ष भयो। उनीहरूको साथमा ११ वर्षकी छोरी समेत छिन्।
बिहे गरेको केही वर्षपछि सम्बन्धमा चिसोपना आउन थाल्यो। छिरिङले मिलेर बस्ने अवस्था नभएको र विभिन्न समस्या आएको भन्दै एक वर्षअघि सम्बन्धबिच्छेदका लागि मुखिया कहाँ पुगेकी थिइन्। त्यसबेला मुखियाले उनीहरूलाई सम्झाएर पठाए। पुनः सम्बन्धमा फाँटो आउन थाल्यो। यसको प्रमुख कारण थियो श्रीमानले मदिरा पिउनु। मदिराको नसामा यातना दिएको भन्दै श्रीमतीले सम्बन्धबिच्छेद गर्ने बताइन्।
त्यसपछि उनीहरू अगल हुने निर्णयमा पुगे। गाउँका केही भद्रभलादमी राखेर सम्पती र अंश बाँडफाँड गरे। त्यसपछि अनौपचारिक रूपमा यी दुई जोडी आपसमा अलग बसे। तर घरको केही बढी अचल सम्पती श्रीमतीको नाममा रहेको भन्दै फेरी श्रीमान् झाङजुकले मदिरा सेवन गरी श्रीमतीकोमा पुगेर दुःख दिन थाले।
मुखियाकै सल्लाहमा गाउँपालिकी उपाध्यक्ष छिमी बिष्टको घरमा उनले पुगेर समस्या भनिनु्। उपाध्यक्ष छिमीले यो समस्या घरबाट होइन गाउँपालिकाको न्यायिक समितिले समाधान गर्ने भन्दै गाउँपालिकामा आउन सुझाव दिइन्।
सोमबार गाउँपालिका कार्यालयको न्यायिक समितिमा पुगेका यी दुई जोडीबीचको समस्या र विवाद न्यायिक समितिले सुन्यो। श्रीमान् झाङजुक र श्रीमती छिरिङबीचको सम्बन्धमा दरारको प्रमुख कारकतत्व थियो मदिरा। तर यी दुवै जोडीबीच मायाप्रेमको सम्बन्ध अझै जिवितै थियो। गाउँपालिकामा दुवैका गुनासा पोखिए। न्यायिक समितिले सकभर छुटाउने भन्दा मिलाउन उपयुक्त हुन्छ भन्ने ठान्यो। उनीहरूको साथमा ११ वर्षकी छोरीको भविष्य जोडिएको थियो। न्यायिक समितिमा श्रीमतीको छिरिङको एउटै शर्त थियो मदिरा छोड्नुपर्ने। छिरिङसँग अलग हुन नचाहेका श्रीमान् झाङजुकले अब कहिल्यै मदिरा नपिउने न्यायिक समितिमा प्रतिवद्धता गरे। उनले मदिरा पिएमा कानुन अनुसार सजाय भोग्न राजी भए। यही शर्तलाई आधार बनाएर दुबै जाडीलाई मिलापत्रको कागज गरायो।
गाउँपालिकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक छिमी बिष्टले संघीयतापछि न्यायिक समितिमा पहिलो मुद्दा आएको र त्यसलाई सहज ढंगले निकास दिएको बताइन्।