तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीः मन्त्री श्रेष्ठ
कपिलवस्तु : तिलौराकोटलाई छिटै नै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए।
शाक्यमुनी बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक दरवार क्षेत्र प्राचीन तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले तिलौराकोटलगायत कपिलवस्तुका विभिन्न ऐतिहासिक तथा पुरातत्विक क्षेत्रको सम्वर्द्धन र संरक्षणका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताए।
पर्यटकीय क्षेत्रको विकासको लागि योजना बनाएर कार्य गरिरहेको छु, मन्त्री श्रेष्ठले भने, 'तिलौराकोटलाई संसारको बुद्ध धर्मालम्बी तथा अन्य धर्मालम्बीहरूको तीर्थस्थलको रूपमा चाडै नै विकास गरिने छ।' शाक्यमुनि बुद्धले तिलौराकोट दरवारमा आफ्नो जीवनको २९ वर्ष विताएका थिए। यहाँ बुद्धकालीन ईतिहासका प्रशस्त प्रमाणहरू छन्। प्राचीन बौद्धकालीन दरवारका अवशेषहरू छन्।
मन्त्री श्रेष्ठले तिलौराकोटका साथै मायादेवी र शुद्धोधनको समाधिस्थल (जोडी स्तुप), कुदान र गोटीहवालगायतको क्षेत्रको अवलोकन गरेका थिए।
तिलौराकोट दरवार क्षेत्रको अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ
तस्बिर : अन्नपूर्ण पोष्ट