मुक्तिनाथमा 'यार्तुङ' मेलाको तयारी सुरु
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बस्ने गुरुङ समुदायको मुख्य पर्व हो यार्तुङ पर्व। यसो त यो पर्व उपल्लो मुस्ताङमा पनि मनाइने गरिएको पाइन्छ। बर्खायाममा स्थानीय उत्पादन उवा, जौ र गहुँलगायतका अन्नबाली घरमा थन्क्याएपछि परम्परागत यार्तुङ पर्व मनाउने चलन छ।
स्थानीय भाषामा यारको अर्थ हो बर्खा र तुङको अर्थ हो मेला। बर्खायाममा खेतीपातीको कामकाज सकेर फुर्सदिलो महिनामा वारागुङ मुक्तिक्षेत्रमा यार्तुङ पर्व मनाउने चलन छ। वारागुङ मुक्तिक्षेत्रका १९ वटा गाउँहरूमा फरक फरक दिनमा मनाउने गरिन्छ। यार्तुङ पर्वमा मिठोमिठो परिकार बनाएर खाने, राम्रो लगाउने, छरछिमेक र आफन्त भेला हुने, परम्परागत घोडा दौडाउने र आपसमा नाँचगान गरी यार्तुङ पर्व मनाइन्छ। पर्वमा स्थानीयहरू भौलिक भेषभुषामा प्रस्तुत भई स्याब्रो नाचगान गर्छन।
तर वारागुङ मुक्तिक्षेत्रमा आ-आफ्नै प्रकारले यातुङ पर्व मनाइने गरिएको भएपनि मुक्तिनाथको पुराङ रानीपौवास्थित जनप्रिय युवाक्लवले यार्तुङ पर्वलाई यातुङ मेलाको रूपमा सञ्चालन गर्ने गरेको पाइएको छ। यसअघि कोरोनाका कारण मेलाको रूपमा आयोजना हुन नसकेको मुक्तिनाथ यार्तुङ मेला यसपटक सञ्चालन गर्न लागिएको जनप्रिय युवाक्लवले गरेको क्लवको सचिव छिरिङ नर्बु गुरुङले जानकारी दिए।
कोरोनाको समयमा परम्परा जोगाउन सामान्य रूपले यार्तुङ पर्व मनाइएको थियो। कोरोनाको जोखिम हटेकाले क्लवले यसपटक यार्तुङ मेलाको सञ्चालनको तयारी गरेको हो। हरेक साउन महिनामा मेला सञ्चालन हुने मुक्तिनाथ यार्तुङ मेला यस वर्ष पुराङ रानीपौवा बजारमा साउन २३ देखि २७ गतेसम्म हुनेछ।
'मुक्तिनाथको दर्शन गरौं, यार्तुङ मेलामा रमाऔं' भन्ने सन्देशसहित क्लवले सेभेन ए साइड फुटबल, तारा खेल, डोरी तान्ने खेल र साहसिक घोडा दौड प्रतियोगिता सञ्चालन हुनेछ। वारागुङको झारकोटदेखि मुक्तिनाथ रानीपौवासम्मको करिब तीन किमी दूरीमा घोडा दौड प्रतियोगिता हुने गर्छ। यसका अलावा प्रतियोगिता नभई स्वतस्फुर्त रूपमा रानीपौवा बजारमा घोडा दौडाउने गरिन्छ। तिव्र गतिमा घोडा दौडाएर जमिनमा राखिएका खाँदा टिप्नेलाई स्थानीय र दर्शकले नगद र खाँदा लगाएर सम्मान गर्छन। निकै जोखिमपूर्व साहसिक घोडा दौड हेर्न मुस्ताङीहरू मुक्तिनाथ रानीपौवामा जाने गर्छन।
यसपटक जनप्रिय युवक्लवले चर्चित गायिका मिलन नेवारलाई मुस्ताङमा ल्याउने भएको छ। यस्तै मुस्ताङका युवाहरूको मनोभावनालाई आत्मसाथ गर्दै क्लवले नाईट कन्सर्ट आयोजना गर्दैछ। क्लवले वाङदेन शेर्पा, राजु गुरुङ, मिना आमालिया र डिजे तेन्जिङलाई मुस्ताङमा आमन्त्रण गरेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए।
जनप्रिय युवाक्लवको आयोजनामा हुने यार्तुङ मेलामा वारागुङ मुक्तिक्षेत्रले विशेष सहयोग गर्नेछ। नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र गोर्खा ब्रुअरी, लो मुस्ताङ हिमालयन रिसोर्ट, चिल्मे अचार्ड ढुम्बा र स्थानीय विकास एवं स्थानीय संरक्षण समितिले यार्तुङ पर्वलाई प्रायोजन गर्नेछन्।