नामले कोही अपमानित हुनु नपरोस्

नामले कोही अपमानित हुनु नपरोस्

व्यक्तिको परिचय नामबाट सुरु हुन्छ। नाममा व्यक्तिको आत्मसम्मान पनि जोडिएको हुन्छ। नामले व्यक्तिलाई पहिचान दिन्छ। मूलतः विश्वभरि नै व्यक्तिलाई नाम दिने पहिलो हकदार उसका जन्मदाता हुन्छन्। धार्मिक विधिपूर्वक नामकरण गरिए पनि नाम दिने आमाबाबुले नै हो। परिवारले नै हो। अझ नाममा व्यक्तिको मौलिक अधिकार हुन्छ। कुनै पनि व्यक्तिलाई आफ्नो नामको अधिकार उसैलाई हुन्छ। तर, दैलेखको भगवतीमाई गाउँपालिका—३ मेहेलतोलीका कविराम कामी त्यो अधिकारबाट बञ्चित भए।  त्यतिमात्रै नभई नेपालको संविधानमा मौलिक हक सम्बन्धमा पहिलो धारामा उल्लिखित ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’ भन्ने हक छिनियो। गाउँमा नागरिकता वितरण गर्न आएको कर्मचारी टोलीले उनको नागरिकताको नाम कुकुर कामी राखिदियो।

त्यही नामका कारण उनले सार्वजनिक रूपमा आफ्नो उपस्थिति देखाउन सकेनन्। २०४६ जेठ ७ गते त्यो नाममा नागरिकता बनेयता अपमानको घुट पिएर बाँच्न विवश छन् उनी। नागरिकतामा बाबुको नाम लेख्न शरम मानेरै बिहेबारी भइसक्दा पनि छोरीले नागरिकता बनाउन आँट गरेनन्। परदेशमा भएका छोराले बाबुको नाममा पैसा पठाउन हिच्किचाए। पञ्चायतकालमा नागरिकता बनाउन गाउँ जाने कर्मचारीले स्थानीयले अनौपचारिक रूपमा वा हेलाँहोचो गरेर कविरामलाई बोलाउने गरिएको नाममै नागरिकता बनाइदिँदा कविरामको आत्मसम्मानमाथि प्रहार भयो। यो खासमा त्यतिबेलाको राज्य संयन्त्र, त्यसका प्रतिनिधिहरूको हैकम र सीमान्तकृत वर्गमाथिको थिचोमिचोको एउटा उदाहरण हो। पञ्चायतपछि पनि त्यस्तो हैकम र कथित उच्चजातीय अहंकारवाला दम्भ निरन्तर छ। दलित भएकै हुँदा कविरामलाई चोट खेप्नु परेकोमा कुनै शंका छैन। उनी आवाजविहीन नागरिक भएकैले कर्मचारीले जे थमाइदिए, पहिचानको त्यही कागज लिन बाध्य भए।

नोकरशाही प्रवृत्ति कतिसम्म जातिवादी र हैकमवादी थियो र छ भन्ने उदाहरण उनले पाएको नाम र आजको जीवनले देखाउँछ। प्रायः नोकरशाही प्रवृत्ति संसारभर एकैनास हुन्छ भन्ने त प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले आफ्नो जन्म र नाम दर्ता खेपेको हैरानीले पनि देखाउँछ। नेपालमा त्यसभन्दा बढी नै छ। भलै एलन मस्कले अंकसहित राखेको छोराको नाम ‘एक्सएस एटुवेल मस्क’ले पछि मान्यता पायो। तर, कविराम कामी अझै पनि कुकुर कामी नामकै नागरिकता बोकिरहन बाध्य भइरहनु चाहिँ नेपाली र यहाँको कर्मचारीतन्त्र, राज्य संयन्त्र पछौटे हुनुको द्योतक हो। दलित समुदाय पछाडि परेको होइन, पछाडि पारिएको हो भन्ने अरू थुप्रै तथ्य प्रमाण इतिहासमा ताजा छन्। नामबाटै पनि कसरी ज्यादती गरिएको छ र आतंकित पारिएको छ भन्ने सानो दसीमात्रै कविराम कामी हुन्। आजसम्म कुनै पनि वृत्ति विकास गर्न नपाएका कविरामलाई पुगेको क्षतिको परिपुरण अब कसरी हुन्छ ? त्यो राज्यको दायित्व हो। उनको गुमेको समय त फर्केर आउँदैन, तर बाँकी जीवन सम्मानपूर्वक बाँच्ने हैसियत उनलाई प्रदान गरिनुपर्छ।

अरू कागजात जसरी नागरिकतालाई सच्याउने भन्ने परिकल्पना हाम्रो कानुनले कमै गरेको छ। तर कसैको सनकका भरमा कविराममाथि भएको अत्याचार नसच्याएर सुखै छैन। नागरिकतासम्बन्धी ऐनअनुसारै स्थानीयको सरजमिन गरी पालिकाको वडादेखि सिफारिसका आधारमा प्रशासनले पुरानो नागरिकता खिची नयाँ नागरिकता दिन सक्छ। त्यसो गर्दा पनि हाम्रा यान्त्रिक र हैकमवादी प्रवृत्तिका कर्मचारीबाट फलानो भन्ने ढिस्काना भनेर नाम लेखिदिने गरेका छन्। त्यही सूत्रले हुने भनेको कुकुर कामी भन्ने कविराम कामी नामको नागरिकता हो। तर कविरामलाई मात्र कविराम लेखेको नागरिकता दिनुपर्छ। त्यसरी नै बिगारिएका नामहरू पूरापूर अरूका पनि सच्याइनुपर्छ। नागरिकता ऐन वा जुनसुकै कानुनका नौ सिङ देखाएर फेरि अपमान गर्ने बहाना गरिनुहुन्न। यो सामान्य विवेकको पनि कुरा हो। आखिर कानुन वा प्रक्रियाभन्दा विवेक र न्याय माथि हुन्छ। कविराम कामीलाई न्याय हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.