जिम्बु टिप्ने क्रममा शंकास्पद वस्तु फेला, पड्किएर ४ युवा घाइते
जोमसोम : जिम्बु टिप्ने क्रममा शंकास्पद वस्तु समात्दा म्याग्दीका ४ युवा घाइते भएका छन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङ माथिको प्याङ भन्ने उच्चलेंकको ओढारमा मंगलबार बेलुका करिब ५ बजेतिर जिम्बु खोज्न जाने क्रममा शंकास्पद वस्तु भेटिएको र त्यसलाई के रहेछ भनी खोल्ने क्रममा अचानक पड्किएर ४ जना युवा घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
घाइते हुनेमा म्याग्दीको मालिका गाउँपालिका –३ का २२ वर्षीय रेस रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोक्कामगर र २५ वर्षीय दिलिप रोक्कामगर घाइते भएको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए ।
प्रजिअ शर्माका अनुसार वारागुङको तेताङ लेंकमा जिम्म टिप्न गएका युवाहरु विस्फोटक पदार्थ पड्किएर घाइते भएको र उनीहरुलाई जोमसोम अस्पतालबाट थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिए।
जिम्बु टिप्न गएका युवाहरु अचानक घाइते भएर जोमसोम अस्पतालमा ल्याएपछि वारागुङ प्रजिअ शर्मासहित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नाम्गेल गुरुङ र सुरक्षाकर्मीको टोली अस्पताल पुगेको थियो।
घाइतेहरुको थप उपचार गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गाडीको समन्वय गरेको प्रजिअ शर्माले बताए । यस्तै,घाइतेहरुको बाटो खर्चका लागि वारागुङ मुक्तिक्षेत्रले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको प्रजिअ शर्माले जानकारी दिए ।
घाइते भएकामध्ये सुरेश मगरको दुबैतर्फको हातको औलामा क्षति पुगेको छ । उनको बायाँतर्फको हातको ३ वटा औंला समेत नरहेको अस्पतालले जनाएको छ । रेश रोक्कागमरको दुबै खुट्टाको घुँडाको तलको भाग जलेको छ ।
यस्तै,टिका बुढामगरको गर्दन र बायाँ खुट्टा जलेको छ भने दिलिप रोक्कामगरको अनुहारदेखि तलसम्मको भाग जलेको अस्पतालका डाक्टर कुन्दन कर्णले जानकारी दिए । यता,जिल्ला प्रहरी कार्यालय मुस्ताङले बुधबार बिहानै ईलाका प्रहरी कार्यालय छुसाङमा कार्यरत प्रहरी ईञ्चार्ज प्रहरी नायव निरीक्षक पदम् राना नेतृत्वको टोली थप अनुसन्धानका लागि घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ ।