मुआब्जाको लागि बिहारका सिँचाइ मन्त्रीलाई ज्ञापनपत्र
विराटनगर : बिहारका जलसंसाधन मन्त्री सञ्जय झालाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ। सप्तकोसी नदीमा भइरहेको कामको निरीक्षण गर्नका लागि नेपाल आएका उनलाई ज्ञापनपत्र बुझाइएको हो।
लामो समयदेखि सप्तकोसी नदीको कटानमा परेको जग्गाको मुआब्जा र बालीको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन पीडितले ज्ञापनपत्र बु्झाएका बताइएको छ। कोसी बाढी कटान डुवान पीडित संघर्ष समिति सुनसरी, सप्तरी र उदयपुरले तत्काल कोसी सम्झौता अनुसार बाली मुआब्जा र कटानमा परेका जग्गाको क्षतिपूर्ति उपल्ब्ध गराउन ज्ञापनपत्र बुझाएका हुन्। संघर्ष समितिका अध्यक्ष महि नारायण चौधरीले कोसी सम्झौता अनुसार मुआब्जा र क्षतिपूर्ति नदिए आफूलाई पीडित बनाएको मन्त्रीलाई बताएका थिए।
पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी नेपाल आएका हुन्। मन्त्री झाले सप्तकोशीको पूर्वी तटबन्ध हुँदै चतरामा निर्माण भएको पुलको निरीक्षण गरेका छन्। उनको प्राथमिकतामा सप्तकोशी नदीको बाढीले कटान गरेको क्षेत्र परेन। दुई दिनदेखि कोसीमा पानीको बहाव बढेर सुरु भएको कटानले सुनसरी र उदयपुरको दुई स्थानीयका हजारौं स्थानीयबासी विस्थापित भएको स्थानको उनले निरीक्षण गरेनन्।
विराटनगरस्थित सम्पर्क सह भु-आर्जन कार्यालयका सम्पर्क भु-आर्जन अधिकृत प्रमोद पौड्यालका अनुसार पूर्वी तटबन्धमा भएको र भइरहेको कामको निरीक्षण गर्दे सुनसरी र सप्तरीको सीमामा रहेको कोसीको पुल निरीक्षण गर्दे बिहार जाने कार्यक्रम तय भएको छ।