बेनी जोमसोम सडक ३ दिनपछि खुल्यो
जोमसोम : सोमबारदेखि अवरुद्ध बेनी-जोमसोम सडक तीन दिनपछि सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भाँसिएपछि सडक खवरुद्ध भउको थियो।
अवरुद्ध सडक भर्खरै सञ्चालनमा आएको बेनी-जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए। सडक बिहिबार साँझ ५ बजेबाट सञ्चालनमा आएको हो। वर्षाले म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरोले तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभीरमा करिब ५० मिटर सडक भाँसिएको थियो।
सोमबारदेखि अवरुद्ध बेनी-जोमसोम सडकअन्तर्गत काभ्रेभीरमा सडक मर्मत तथा सडक सफा गर्न वर्षाले अवरोध भएको थियो। बुधबार मौसममा सुधार आएपछि सडक मर्मत तथा सडक सफा गर्ने काम अघि बढेको थियो। सडक स्तरोन्नतिमा परिचालन गरिएको निमार्ण कन्ट्रक्सनको उपकरण र जनशक्ति परिचालन गरी बेनी-जोमसोम सिधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले जानकारी दिए।
काभ्रेभीरमा सडक अवरुद्ध हुँदा म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दी जाने दर्जनौं सवारी साधन तथा ट्रकहरू बीचमै अलपत्र परेका थिए। सडक खुलेसँगै अहिले रोकिएका सबै सवारी साधन गन्तव्यमा प्रस्थान गरेको उनले बताए।
यसअघि काभ्रेभीरमा सडक अवरुद्ध हुँदा काभ्रेभीरको कालिगण्डकी पारी पैरोथाप्लाको पदमार्ग हुँदै डेढ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो।