आँधीखोला गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह थाल्यो
स्याङ्जा : आँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा दिन थालेको छ। अब पालिकाबासीले एउटै भवनबाट सेवा पाउन सक्नेछन्।
गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर पौडेलले बिहीबार झण्डोत्तलन गरेसँगै सेवा प्रवाह सुरु भएको छ। आँधीखोला गाउँपालिका-५ मा १७ रोपनी क्षेत्रफलमा निर्मित ३ तले भवन ५ करोड ६४ लाख ४२ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ। भवन निर्माणका लागि संघीय, प्रादेशिक र स्थानीय पालिकाको आर्थिक सहयोग छ।
२०७६ जेठमा निर्माण सम्झौता भई काम सुरु गरिएको थियो। भवनमा ३३ कोठासहित ठूल्ठूला दुईवटा बैठक कक्ष बनाइएका छन्। देव एण्ड सागर क्याराभान जेभीले भवन निर्माणको जिम्मा लिएको हो। २०७४ सालको स्थानीय तहको निर्वाचनपछि तत्कालीन अध्यक्ष सुधिर पौडेलले तत्कालीन कृषि तथा पशु सेवा केन्द्रका पुराना भवनको मर्मत गरेर पालिकाको कार्यालय बनाएका थिए।
अध्यक्ष भएको दुई वर्षपछि नै उनी १७ रोपनी जग्गा खरिद गरेर भवन निर्माण कार्यमा जुटे। संघ, प्रदेशसँग सहयोग माग गर्दै जिल्लाकै नमूना गाउँपालिकाको कार्यालय बनाए। जीर्ण र साना दुईतीनवटा ससाना कृषि तथा भेटेरिनरीका भवनलाई मर्मत तथा निर्माण गर्दै पालिकाका काम गरिँदै आएको थियो।
पालिकाका अध्यक्ष विश्व पौडेलले भने, 'सहज र गुणस्तरीय सेवा प्रवाहका लागि प्रशासनिक भवनको आवश्यकता रहन्छ। जहाँवाट पालिकाबासीले छिटो छरितो र सहजरूपमा सेवा पाउँनेछन्।' कम्पाउण्डिङ्का केही काम बाँकी छन्। ती सबै पूरा भएपछि विधिवत् रुपमा कार्यालयको उद्घाटन गरिने पालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए।