धरानमा दर्जन बढी कलाकारले जेबी टुहुरेका गीत गाउने
धरान : जन गायक जेबी टुहरेको स्मृति दिवसमा धरानमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ। जेवी टुहरेको स्मृति दिवसको अवसर पारेर आगामी भदौं १० गते धरानको भानुचोकमा विशाल सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ।
जेवी टुहरे फाउण्डेशनले जेवी टुहरे स्मृति संध्या तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्न लागेकी हो। जेवी टहरेको सम्झनामा विशाल सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको उनकी छोरी तथा फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन्। उनका अनुसार भानुचोकमा दर्जन बढी कलाकारले टुहुरेका दर्जन बढी गीत गाउने छन्। फाउण्डेशनले धरानमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएको छ।
२००१ भदौ १० गते धरानको पुरानो बजारमा जन्मिएका टुहुरेको जन्मदिन पारेर धरानमा विशाल सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको फाउण्डेशनका सदस्य राजेश थापाले बताए। खड्गी समाज धरान र धरान संगीत प्रतिष्ठानले संयोजनको भूमिका निर्वाह गरेका छन्। निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आमा दिदीबैनी हो, कति बस्छौ दासी भै, दुःख सँगै व्यासी बनेर बोलको गीत चर्चामा आएको थियो।
कार्यक्रममा बरिष्ठ गायकहरू दीप श्रेष्ठ, शम्भु राई, जीवन शर्मा, नन्दकिशोर जोशी, चेतन सापकोटा, प्रश्ना शाक्य, बाबु बोगटी, रुपक डोटेल, भिषण मुकारुङ, प्रदेश लिम्बु, साजन राई, आकास थापा, दुर्गा परियार, हर्षु राई, गंगा राई, सविन लिम्बु, जितेन्द्र चौधरी, कृष्णराजा श्रोष्ठ, प्रशान्त शर्मा, सञ्जय तुम्रोक, सुवोद गौतमलगायतले आफ्नो प्रस्तुति दिने फाउण्डेशनका सल्लाहकार चोत्लुक लिम्बुले जानकारी दिएका छन्।
टुहरे धरानमा जन्मिएकाले उनको सम्झनामा धरानमा कार्यक्रमको आयोजना गरिएको उनले बताए। कलाकारहरूले टुहरेका गीत गाउनुका साथै अन्य गीतहरू प्रस्तुत गर्नेछन्। जन गायक टुहुरेको सम्मानमा धरानमा विशाल सांस्कृतिक कार्यक्रम आयोजना गरिनुले उनीप्रति सम्मान हुने भाषविद् प्रा.डा टंक न्यौपानेले बताए।
कार्यक्रममा टुहुरेका सांस्कृतिक योगदानबारे प्रकास पार्ने, टुहरेका वर्गीय मुक्ति आन्दोलनका गीतहरूलाई नयाँ पुस्तामाझ परिचित गराउने, जनपक्षीय सांस्कृतिक आन्दोलनमा समर्पित कलाकारहरूको हौषला प्रदान गर्नका लागि धरानमा कार्यक्रमको आयोजना गरिएको फाउण्डेशनकी अध्यक्ष टुहुरेले बताइन्।