क्युबाको तेल भण्डारणमा चट्याङले आगलागी, ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
मातान्जास : शनिबार क्युबाको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रक बेपत्ता भएका छन्।
अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका छन्। शुक्रबार राति सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन ।
क्युबा सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरे पनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारण बारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ। आगलागी नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउने प्रयास गरिरहेको छ।
मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेका अनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन्।
मातान्जासको प्रान्तीय सरकारको फेसबुक पेजले घाइतेको संख्या ७७ पुगेको र १७ जना बेपत्ता रहेको उल्लेख गरेको छ।
घाइते मध्ये सात जनालाई हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको छ। क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो। यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै यकिन भएको छैन। रासस