भक्तपुरको डोलेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)
भक्तपुर : भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा सोमबार पूजा आराधना गर्ने महिला भक्तजनको भीड लागेको छ। साउनको चौथो सोमबारको अवसरमा भक्तपुर, काभ्रे ,ललितपुर र काठमाडौंका हिन्दु धर्मालम्बी महिलाहरू त्यहाँ पुगेका थिए।
मन्दिरमा बिहान ३ बजेदेखि नै ब्रतालुहरू लाइन लागेका थिए भने अपरान्हसम्मै भीड थियो। यहाँ विभिन्न नदीहरूबाट शुद्ध जल चढाउने बोलबमहरूको पनि उत्तिकै भीड थियो। मन्दिरको चारैकुनामा हितमा मेहेन्दी,हरियो चुरा र कपडा लगाएका महिलाहरू लाइन लागेका देख्न सकिन्थ्यो।
भारतमा रहेको केदारनाथको शीरको रूपमा पूजा गरिने यस मन्दिरमा पछिल्लो समय टाढा टाढाबाट भक्तजन आउने गरेको स्थानीयहरू बताउँछन्।
आन्तरिक धार्मिक पर्यटकहरूको भीडसँगै यहाँ आजकल बजार विस्तार भएको छ। २०६६ सालमा भारतस्थित केदारनाथको शीर रहेको घोषणा गरिएसँगै यो क्षेत्र प्रसिद्ध तीर्थस्थलको रूपमा चिनिन थालेको छ।