कुसुन्डामा भाषा संरक्षणकै चिन्ता
दाङ : लोपोन्मुख जाति कुसुन्डामा अहिले भाषालाई जीवत राख्ने चुनौती छ। विगतदेखि भाषा संरक्षणका लागि प्रयासहरू भए पनि भाषा जानकारहरूको अभावले भाषा संरक्षणमा चुनौती थपिँदै गएको अगुवाहरू बताउँछन्। नेपालमै कुसुन्डा भाषा बोल्ने र त्यो भाषाका विषय पूर्ण जानकार, भाषा संरक्षक दाङकी ज्ञानीमैया कुसुन्डाको २ वर्षअघि ८५ वर्षको उम्मेरमा निधन भयो। त्यसपछि भाषा पुस्तान्तर हुन नसक्दा संरक्षणमा समस्या देखिएको हो। भाषाको संरक्षणका लागि उनको स्थान ओगट्ने अन्य कुसुन्डा समुदायमा देखिएका छैनन्।
उनको शेषपछि भाषा लोप हुने अवस्थामा पुगेको कुसुन्डा विकास समिति केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डा बताउँछन्। लमही नगरपालिका–६ कुलमोहर र घोराही उपमहानगरपालिकाका विभिन्न वडामा गरेर ७४ जना कुसुन्डा बसोबास गर्दै आएका छन्। कुसुन्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसुन्डाले अहिले भाषा जोगाउन हम्मेहम्मे भएको बताए।
‘ज्ञानीमैया आफ्नो भाषालाई संस्थागत बनाउन र पुस्ता हस्तान्तरण गर्न खोज्दै थिइन्, उनकै आग्रहमा भाषा संरक्षण र सिकाइका लागि कुसुन्डा जातिका अन्य व्यक्तिलाई सिकाउनसमेत थालिएको थियो’, अध्यक्ष धनबहादुरले भने, ‘उहाँले आफूले ल्याएको योजना पूरा गर्न सक्नु भएन। तर, हामीले धेरथोर मात्रै प्रयास गरेका छौं, त्यो प्रयासको प्रभावकारिता के हुने भन्ने अन्योलमै छौं हामी।’
कुसुन्डा भाषामा दोहोरो कुरा गर्ने अहिले कोही छैन। ज्ञानीमैया र उनको एकजना बहिनी कमला भएर दोहोरो सम्वाद गर्दै आएका थिए। ज्ञानीमैया अस्ताएपछि यो अभ्यास अहिले टुटेको छ। ‘दुई जनाले मात्रै आफ्नै भाषामा कुराकानी गर्थे, अब भाषा जगेर्ना गर्न समस्या भइरहेको छ’, समितिका अध्यक्ष धनबहादुरले भने, ‘हामीले केही मात्र सिकेका छौं, तर भाषा रुजु गर्ने भाषा संरक्षकको अभाव सधैं खड्किरहेको छ।’
कुसुन्डा भाषालाई अहिलेसम्म बचाएर राखेको र त्यसबाट नै केही आफूहरूले सिकेको धनबहादुर बताउँछन्। कुसुन्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको उनको भनाइ छ। कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले कुसुन्डा भाषाका लागि मूल स्रोत नै अहिले नरहेको बताए। आलेले भने, ‘ज्ञानीमैयापछि भाषा संरक्षणको मूलस्रोत हराएको छ। लोपोन्मुख कुसुन्डा भाषा पूर्णरूपमा जान्ने व्यक्ति देशभर जम्मा एक जना मात्रै रहेको र त्यो पनि ज्ञानी मायाको संगतले केही भाषा उनीमा सरेको छ।’
दाङमा कुसुन्डा जातिको संख्या ७४ रहेको छ। देशभर १ सय ५६ जना कुसुन्डा जातिका मानिस रहेका समाजका अध्यक्ष धनबहादुरले जानकारी दिए। अहिले दाङमा २३ जनाले दोस्रो चरणको भाषा सिकेका छन्। भाषा आयोगको आयोजनामा भाषा सिकाइएको उनले बताए। एकीकृत बस्ती निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। अहिले छरिएको बस्ती हुँदा भाषा संरक्षण नहुने उनको धारणा छ।
कुमालको पेसा लोप हुँदै लोपोन्मुख आदीवासी जनजाति कुमाल जातिको परम्परागत पेसा लोप हुन थालेको छ। नयाँ पुस्ता परम्परागत भाषा, संस्कृति पेसामा जोडिन नमानेपछि कुमालेहरूको माटोका भाडा बनाउने पेसा संकटमा परेको समुदायका अगुवा दीपक कुमालले बताए।