लमजुङको सुपर दोर्दी 'ख' जलविद्युतको ८८ प्रतिशत निर्माण पूरा

लमजुङको सुपर दोर्दी 'ख' जलविद्युतको ८८ प्रतिशत निर्माण पूरा

बेंसीसहर : लमजुङको दोर्दी खोलामा निर्माणाधिन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’जलविद्युत आयोजनाको निर्माणकार्य ८८ प्रतिशत पूरा भएको छ । 

पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको बाँध, विद्युतगृह, सुरङमार्ग सबै क्षेत्रको काम एक साथ अघि बढेको कम्पनीले जनाएको छ । आयोजनाको बाँध क्षेत्रको पुनः निर्माणको काम भइरहेको छ । गत असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएको थियो । बाढी पहिरोले बाँध क्षेत्रसम्म पुग्ने पुहँचमार्ग बगाएपछि रोकिएको काम तीब्र गतिमा अघि बढेको हो ।

आयोजनाको ५ हजार १०० मिटर सुरुङ खन्ने र १ हजार १०० मिटर पेनस्टक पाइप जडानको काम पूरा भएको छ । हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माण गरिरहेको विद्युतगृहको ८५ प्रतिशत काम पूरा भएको छ । इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम ७० प्रतिशत पूरा भएको छ ।

आयोजनाको सबै काम पूरा गरेर २०७९ माघभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाबाट यसअघि २०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गत असार १ गते राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्याउँदा तालिका प्रभावित भएको हो ।

आयोजना सम्पन्न  भएपछि उत्पादन हुने विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको  किर्तीपूर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको  आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहनेछ । लाइनको काम पनि ६५ प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ ।

आयोजनाबाट २०७६ फागुनदेखि विद्युत उत्पादन गर्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड–१९ महामारीको असरले निर्माण प्रभावित हुँदा धकेलिँदै गएको हो ।

कोभिड–१९ को नियन्त्रण गर्न गरिएको लकडाउन र निशेधाज्ञाका कारण निर्माण सामाग्री आयात गर्न नसक्दा तथा कामदार अभावले आयोजनाको निर्माण ६ महिनासम्म सुस्त बनेको थियो । अवस्था सहज हुँदै गएपछि मात्रै फेरि निर्माणलाई गति दिन सकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको कम्पनीले जनाएको छ । विद्युत उत्पादन अवधि लम्बिँदा तथा विदेशी विनिमयदरमा भएको वृद्धिले लागत बढ्ने देखिएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । २ अर्ब ४९ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी छ । आयोजनामा लमजुङबासीको २७ करोड रुपैयाँ लगानी छ । सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुर्‍याइएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.