१५ करोडको लगानीसहित विराटनगरको जनरल हस्पिटल आफ्नै भवनमा
विराटनगर : विराटनगर-१३ मलाय रोडस्थित साल्ट ट्रेडिङ छेउमा जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर आफ्नै भवनमा नयाँ ढंगका साथ सञ्चालनमा आएको छ।
३ कठ्ठा क्षेत्रफलमा १५ करोड बढीको लगानीमा अस्पताल सञ्चालनमा आएको हो। बुधबार विहान एक औपचारिक कार्यक्रमको आयोजना गरी अस्पतालको उद्घाटन गरिएको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रिबन काटेर अस्पतालको उद्घाटन गरेका हुन्।
नवनिर्मित आफ्नै भवनमा सञ्चालनमा आएको भवन १५ शय्याको रहेको छ। विशेषज्ञ सेवासहित सञ्चालनमा आएको अस्पतालबाट बिरामीहरुले गुणस्तरीय सेवा पाउने विषयमा कुनै शंका उपशंका गर्ने ठाउँ नरहेको अस्पतालका अध्यक्ष जयप्रकाश रायले दाबी गरे। उनले केहीदिनमै अस्पताललाई २५ शय्यामा विस्तार गर्ने योजना रहेको बताए। यसअघि जनरल हस्पिटल विराटनगर-९ स्थित घोघापुल चोकमा भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो।
हालः अस्पतालमा बालरोग विशेषज्ञ डा. फरेन्द्र साह, वरिष्ठ फिजिसियन डा. सच्चिदानन्द दास, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. क्षितिज गिरी, फिजियो थेरापिस्ट डा. मो. जावेद पिटी, अर्थोपेडिक सर्जन डा. मिलन केसी र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तुलसी महतो लगायतले सेवा प्रदान गर्नेछन्।
आफ्नै भवनमा सञ्चालनमा आएको हस्पिटलमा १०० बढीले रोजगारी पाउने जनाइएको छ। बुधबार उद्घाटनको अवसर पारेर अस्पतालमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो।
विराटनगर-१३ मा अवस्थित रहेको जेनरल हस्पिटल एण्ड ट्रमा सेन्टर। तस्बिर : राकेश कर्ण