‘नागरिकताको अपमानित नामले धेरै रोएँ’

‘नागरिकताको अपमानित नामले धेरै रोएँ’

२०४६ सालमा गाउँमा नागरिकता टोली आयो। तत्कालीन मेहेलतोली गाउँपञ्चायत–६, (हालको भगवतीमाई गाउँपालिका–३) का कविराम कामी पनि नागरिकता लिन टोली समक्ष पुगे। टोलीलाई उनले आफ्नो नाम ‘कविराम कामी’ भएको बताए। तर, गाउँपञ्चायतले ‘कुकुर कामी’ भनेर सिफारिस बनाइदियो। कथित माथिल्लो जातिको ठान्ने ‘गन्यमान्य’ले उनको नाम ‘कुकुर कामी’ नै भएको दाबी गरिरहे। त्यसैकारण जबर्जस्ती नागरिकतामा लेखियो ‘कुकुर कामी’। 

आफ्नो नाम त्यो नभएको भन्दै उनले केहीबेर त विमति जनाए। ‘तर मेरो कुडा (कुरा) कसले सुन्थ्यो र ? उनको पीडा पोखे, ‘जबर्जस्ती त्यही नामका कारण उनी घर परिवार र समाजबाट अपहेलित भइरहे। छोराछोरीले समेत बाबुको नाम लिन लज्जाबोध महसुस गर्न थाले। नामकै कारण ३३ वर्षसम्म उनी र परिवारले सामाजिक पीडा भोग्नुपर्‍यो। 

अन्नपूर्ण पोष्ट् दैनिकले साउन १७ गते ‘नागरिकतामा अपहेलित नाम’ शीर्षकमा विशेष समाचार र सम्पादकीय प्रकाशन गर्‍यो। कान्तिपुर दैनिकले पनि नागरिकतामा अपमानित नामहरुसम्बन्धी समाचार र सम्पादकीय नै लेख्यो। मिडियामा यस्ता समाचारले व्यापकता पाएपछि सदनदेखि सामाजिक सञ्जालमा अपहेलित नामका विषयमा बहस सुरु भयो। 

गृह मन्त्रालयले नागरिकतामा प्रयोग भएका अपमानजनक शब्द हटाउन र त्यस्ता नागरिकता प्रमाणपत्र सच्याउन मातहतका जिल्ला प्रशासन कार्यालयहरूलाई सोमबार परिपत्र गर्‍यो। कविरामले मंगलबार नै ‘कुकुर कामी’ उल्लेख गरिएको नागरिकता सच्याउन जिल्ला प्रशासन कार्यालय दैलेखमा निवेदन दिए। वास्तविक नाम पाउने आशाले ‘मुस्कुराए।’ तिनै कविरामसँग अन्नपूर्णकर्मी हिक्मतबहादुर नेपालीले गरेको कुराकानीको 
सम्पादित अंश :


तपाईंको परिवारमा को–को हुनुहुन्छ ? 

श्रीमती, ३ छोरी र ४ छोरा छन्। जेठी छोरी लक्ष्मी हो। उसको जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बिहे भइसकेको छ। अरू दुई छोरी छन्। माइली छोरी कल्पनाको भगवतीमाई गाउँपालिका–७ तप्लुङमा बिहे भएको छ। कान्छी छोरी रत्ना हो। जेठो छोरा जयबहादुर विदेश जाने भनेर लाग्या छ। माइलो सन्तराम, साइलो पप्पु र कान्छो शिवराज हो। पप्पुले ८ कक्षा पढ्दा–पढ्दै स्कुल छोडेर कालापहाड लाग्यो। कान्छो छोरा शिवराज अहिले गाउँकै स्कुलमा १० कक्षामा पढ्दैछ। बिहे गरेका छोराछोरीबाट नातिनातिना पनि छन्।

नागरिकतामा तपाईंको नाम ‘कुकुर कामी’ कसरी राखियो ? 

उही जमानाको कुरा हो। क्यारी भनुँ ? बा–आमाको हुँदाखेरीमा अहिले यस्तो भयो। मेरो बुबाको नाम भुन्टो कामी हो। आमाको नाम बुदिसरा। म अघिका तीन जना दाइहरू बितिगए। म कान्छो हुँ। म पछिका तीन जना बहिनी छन्। बहिनीहरू अहिले पनि छन्। उहीँ बेला छोराछोरी जन्मिदै मर्दै गरेपछि छोराछोरी बाँचोस भनेर नराम्रा नाउँले बोलाउने चलन रहेछ। छोरो बाँचोस् भनेर मलाई पनि मेरो बाआमाले कुकुर...कुकुर.. भनेर भुने होलान्। अब क्या गरम्। पछिपछि सारा गाउँलेले पनि त्यही नाउँले बोलाउँथे। म जन्मिएपछि बुबा घर नजिकको गन्म गाउँका जैसीकाँ गएर मेरो नाउँ हेराएछन्। जैसीले मेरो नाउँ कविराम आयो भनिकन भनेछन्। 

त्यहीबेला नागरिकता बनाउनुपर्छ भनेर पनि थाहा नाईँ (थाहा पाइन्)। अहिले जसो बेलैमा नागरिकता बनाउनुपर्छ भनेर पनि थाहा नाईँ। म जन्मिएको २९ वर्षपछि २०४६ सालमा गाउँमा नागरिकता दिने टोली गएका थिएँ। मेरो बुबा बितिसक्नुभएको थियो। आमा अन्तै ब्या (विवाह) गरी गइसक्नुभएको थियो। 

भगवतीमाई गाउँपालिका–३ दैलेखका कविराम कामी अहिले खुसी छन्। कारण ३३ वर्षपछि आफ्नै सच्चा नामको नागरिकता बन्दै छ। २०४६ सालमा गाउँमा गएको नागरिकता टोलीले उनको नागरिकतामा अपमानजनक नाम ‘कुकुर कामी’ लेखेको थाहा पाएपछि पीडामा थिए। सच्याउन प्रयास नगरेका पनि होइनन्। तर, कुरा कसैले सुनेनन्। अन्नपूर्णले साउन १७ गते ‘नागरिकतामा अपहेलित नाम’ शीर्षकमा विशेष समाचार प्रकाशन गरेपछि उनको मुस्कुराउने दिन सुरु भए। गृहले त्यस्ता नाम सच्याउन प्रशसनलाई परिपत्र गरेसँगै उनले नाम सच्याउन निवेदन दिएका छन्। अब केही दिनमा नै पाउने छन् नागरिकता र त्यहाँ नामको महलमा लेखिनेछ ‘कविराम कामी’। 

नागरिकता टोलीसँग नागरिकता लिन गएँ। म पढेलेखेको नाईँ (थिइन्)। मैले मेरो नाउँ कविराम हो भनेर सबैका माझ पटक–पटक भने। गाउँपञ्चायतले ‘कुकुर कामी’ नै भनेर सिफारिस बनाइदिएछन्। त्यतिबेला मेहेलतोली गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्का थिए। अरू कागजपत्र पनि ‘कुकुर कामी’ नै लेखिदिएछन्। त्यसबेलाका सचिव को थियाँ (थिए) अहिले बिर्सिगएँ। मैले मेरो नाउँ कुकुर होइन् जैसीले हेराएको (जुराएको) नाउँ कविराम हो भनिरहेँ। त्यत्रा ठूलाठालू मान्छेको अगाडि मेरो कुडा (कुरा) कसैले सुनेनन्।

त्यसबेला गाउँकै अलि जान्ने बुझ्ने कविराम जैसी र आउसे जैसीको जोडबलले मेरो नाउँ कुकुर राखिएको हो भनेर पछि थाहा पाएँ। ती दुई जना बितिगएकी (निधन भइसक्यो) कि थाहा छैन। गाउँपञ्चायतका मान्छे, अली पढ्या लेख्या जान्ने बुझ्नेले अनि नागरिकता टोलीले यही नाउँ भए चल्छ... चल्छ... भनेर सुधार्न मानेनन्। नागरिकतामा नामै बिगारिदिएछन्। 

त्यहीबेला नागरिकता टोलीमा को–को थिए ख्याल भएन्। मैले आफ्नो नाउँ कविराम बताएको थिएँ, गाउँले त्यसबेला जान्ने बुझ्ने र ब्राह्मण क्षेत्रीहरूले होइन, कुकुर लेखिदिए हुन्छ भनेर भने। मलाई त हेपेर यस्तो नाउँ राखिदिए।

नागरिकतामा यस्तो लेखिएको कुरा कतिखेर थाहा पाउनुभएको थियो ? 

आफू पढ्या पनि लेख्या पनि नाई। सोझो जमाना। तल्लो जात भनि हेपेर बोलेको कुरा पनि कसैले सुन्दैनथे। हामी त हेपिएर चेपिएर बसेका त भईगयौ। नागरिकता हात पर्नेबित्तिकै मेरो नाउँ त कुकुर लेखिएछ भनेर थाहा पाएँ। नागरिकता हेरेपछि त्यहीँ बेला अली–अली पढेलेखेका गाउँले साथीभाइले तेरो नाउँ त कुकुर लेखिएछ भनेर सुनाए। 

मैले आफ्नो नाउँ कविराम बताउँदा–बताउँदै मेरो कुरा कसैले नसुनेकोमा पीडा धेरै भयो। तीन/चार दिनसम्म त खान मन पनि लागेन्। भोकै बसे। खुब धेरै पीर लाथ्यो। गाउँ समाजमा आफ्नो नाउँ कुकुर भनेर कसरी परिचय दिने ? भनेर दुःख लाग्थ्यो। आँखाभरि आँसुका धारा बग्थ्यो। तर, हामी अनपढ र तल्लो जाति भनेर हेपिएका हाम्रा कुरा कसैले सुन्यानाई (सुनेनन्)। घरमै बसेर रुन्थे। अब क्यारु (के गर्नु) ? कसो अरू (गर्नु)? भन्ने लाथ्यो। आफ्ना छोराछोरीकन (छोराछोरीलाई) दुःख मिल्नेभयो, अफ्ठेरो पर्ने भयो भनेर सारै मन दुख्थ्यो।

त्यसपछि के–के समस्या आए नागरिकताको नाम कै कारण ?  

नागरिकता पाएपछि गाउँसमाजमा जानै छुट्यो। गाउँघरमा कहिकतै जाने काम पर्‍यो भने आपूmलाई माथिल्लो जातिका ठान्ने बुढापाकाले ‘कुकुर आयो..... कुकुर....आयो’ भन्दै गिज्याउँथे, हेला गर्थे। त्यसोभन्दा खेरीमा शिर निहुँराएर आफ्नो बाटो लाग्थे। नागरिकतामा कुकुर नाम लेखिँदा छिःछिः र दुरदुर हुने हुँ कि भनेर मनमा डर लाग्थ्यो। हामीकन आफ्नै खेतबारीको अन्नपातले खान पनि पुग्थेन्। त्यस्तै २०४८ सालतिर परिवारलाई साथ लिएर भारतको कालापहाड गएँ।

भारतको सिम्लामा पिटौलीको काम गर्थे। झन्डै १४/१५ वर्ष उतै बसे। कालापहाड बस्दा पनि हेपिने डरले नागरिकता कसैलाई देखाइन्। मेरो नाउँ कविराम हो भन्थे। सबैले कविराम नै भनेर चिन्थे। २०६३ सालतिर गाउँ फर्किए। गाउँमा आएको बेला देशमा शान्ति आयो शान्ति आयो भन्थे। फर्किएपछि पनि गाउँलेले कुकुर इन्डियाबाट फर्कियो भनेर भने। 

कहाँ–कहाँ अपमानित हुनुपर्‍यो ? 

नागरिकतामा मेरो नाउँ कुकुर छ भनेर सुईको पाएकाहरूले ‘मान्छेको नाउँ पनि कुकुर हुँदो रहेछ’ भनेर भन्दा सारै नमिठो लाथ्यो। कुकुर भन्दै हाँस्दै जिस्क्याउँदा अपमानित भएको महसुस हुन्थ्यो। म त मान्छे हुँ।

  • मैले आफ्नो नाउँ कविराम बताउँदा बताउँदै मेरो कुरा कसैले नसुनेकोमा पीडा धेरै भयो। तीन चारदिनसम्म त खान मन पनि लागेन्। भोकै बसे। खुब धेरै पीर लाथ्यो।
  • भारतको सिम्लामा पिटौलीको काम गर्थे। झन्डै १४/१५ वर्ष उतै बसे। कालापहाड बस्दा पनि हेपिने डरले नागरिकता कसैलाई देखाइन्। मेरो नाउँ कविराम हो भन्थे।
  • २०६३ सालतिर गाउँ फर्किए। गाउँमा आएको बेला देशमा शान्ति आयो शान्ति आयो भन्थे। फर्किएपछि पनि गाउँलेले कुकुर इन्डियाबाट फर्कियो भनेर भने। 
  • नागरिकतामा मेरो नाउँ कुकुर छ भनेर सुईको पाएकाहरूले ‘मान्छेको नाउँ पनि कुकुर हुँदो रहेछ’ भनेर भन्दा सारै नमिठो लाथ्यो।
  • छोराछोरीले पनि लाजले मेरो नाउँ भन्दैनन्। आफ्नै नाउँ पनि राम्रो राख्न नसक्ने भन्दै छोराछोरीले पनि गाली गर्छन्। रिसाउँछन्।
  • जेठो छोरा मलेसियामा तीन वर्ष बस्यो। बुबाको नाउँ ‘कुकुर’ लेखेर पैसा पठाउन गाह्रो लागेर उसले पैसासमेत पठाएन्।
  • चार वर्षअघि मेरो नागरिकतामा नाम कुकुर भयो भनेर माइलो छोरोले ६ महिना नागरिकता नै लुकाइदियो। मेरो नागरिकता खोइ माइला भनेर सोध्दा उल्टो मलाई नै गाली गर्थ्यो।

नागरिकतामा जनावरको नाउँ कुकुर राखिदिँदा नमिठो लाग्थ्यो। गाउँ टोलमा हुने बैठक भेलामा जान पनि अप्ठ्यारो लाग्थ्यो। भेला बैठकमा गइहाले पनि कसैले केही भनी हाल्ने हुन कि भनेर अलग्गै बस्थेँ। छोराछोरीले पनि लाजले मेरो नाउँ भन्दैनन्। आफ्नै नाउँ पनि राम्रो राख्न नसक्ने भन्दै छोराछोरीले पनि अपमान गर्छन्। गाली गर्छन्। रिसाउँछन्।

छोराछोरीलाई पनि त गाह्रो भएछ नि ! 

मेरो नाउँ बिगारेको पीडा मेरा छोराछोरीले झन् धेरै भोगिरहेका छन्। छोराछोरीलाई स्कुलमा कुकुरका छोरा, कुकुरकी छोरी भनेर जिस्क्याउँदा रुँदै घर आउँथे। त्यसबेला मरे जत्तिकै लाग्थ्यो। छोराहरू कमाउने भए। बाहिरबाट पैसा पठाउँदा नागरिकता चाहिने, त्यहाँ आफ्नो नागरिकता देखाउन पनि अफ्ठेरो लाग्थ्यो। जेठो छोरा मलेसियामा तीन वर्ष काम बस्यो। बुबाको नाउँ ‘कुकुर’ लेखेर पैसा पठाउन गाह्रो लागेर उसले पैसासमेत पठाएन्। पछि त्यहाँ झन्डै तीन लाख रुपैयाँ सापटी लिएका नेपाली साथीले छोराको पैसा फर्काएनन्। कान्छी छोरी र माइलो छोराले नागरिकता बनाएका छन्। तर, मेरो नाउँ ‘कुकुर’ लेखिएकै कारण त्यो नागरिकता देखाउन अप्ठ्यारोले गाउँका समूहमा बस्दैनन्। 

टोलमा हुने कार्यक्रमहरूमा सहभागी हुन्नन्। प्रधानमन्त्री रोजगार कार्यक्रम कि के–के भन्छन् त्यहाँ पनि जाँदैनन्। स्कुलका साथीहरूले जिस्काएकै कारण साइलो छोराले कक्षा ८ मा पढ्दा–पढ्दै पढाइ छोडिहाल्यो। दुईछोरा दुई छोरीको अझैं नागरिकता बन्याएका छैनन्। चार वर्षअघि मेरो नागरिकतामा नाम कुकुर भयो, अपमान भयो भनेर माइलो छोरोले ६ महिना नागरिकता नै लुकाइदियो। मेरो नागरिकता खोइ माइला भनेर सोध्दा उल्टो मलाई नै गाली गथ्र्यो। पछि मैले म सोधी खोजी गरेर नाउँ बदल्छु भनेपछि मात्र छोराले नागरिकता दियो। यस्ता धेरै समस्या छन् सर क्यार्नु (के गर्नु) ? 

आफ्नो नामको समस्याबारे कसैलाई भन्नुभएन ? 

नागरिकता हातमा पडेदेखि (परेदेखि) गाउँका पढेलेखेका र जाने बुझेकालाई भनिरहेँ। बीचमा १४/१५ वर्ष कालापहाड हुँदा वास्तै गरिन्। कालापहाड जानुअघि गाउँका टाँठाबाँठालाई भनेको थिएँ। उनीहरूले यो सुध्रिदैन्। यही ठीक छ त भन्दै उल्टै हेलाँ गर्थे। कालापहाडबाट फर्किएपछि पनि पढेलेखेका गाउँले भाइ छोराहरूलाई सुनाएको थिएँ। स्कुलका मास्टर सावहरूलाई पनि भने। तर, कसैले पनि मलाई सही बाटो लेखायानाई (देखाइदिएनन्)। म अनपढलाई अरू केही थाहा नाईँ। काँ जाने के गर्ने थाहा भए पो हुने ?

आजभोलिका युवाहरूले त तपाईंलाई कविराम भनेर बोलाउँछन् होला नि ! 

अहिले अली जाने बुझ्या र पढेलेख्याले त कविराम नै भन्छन्। उतिबेलाका बुढापाकाले अहिले पनि कुकुर भन्छन्। छोराछोरीलाई सारै अफ्ठेरो परेको छ, सबैभन्दा ठूलो पीर उही छ। बाले नाउँ हेराउँदा कविराम आएको थियो। बाँचोस् भनेर ‘कुकुर’ नाउँले बोलाए होलान्।

म कान्छो छोरा। संयोग नै होला म बाँच्ने पनि। म त बाँचे तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण म आफूमात्रै होइन्, परिवार, छोराछोरी र नातिनातिनीहरू फलानोको श्रीमती, फलानोको छोराछोरी, फलानोको नातिनातिनी भन्न नाम उच्चाहरण गर्न लाजिनु (लज्जित) हुनु परेको छ। यसले सारै पीडाबोध गराउँछ। घरमा पालिने जनावर कुकुर नै मेरो नाम नागरिकतामा लेखेर प्रमाणित हुँदा सारै अपमान महसुस हुन्छ। गाउँ टोलमा आफ्ना सन्तान र आफ्ना जातिकाले कविराम नै भन्छन् तर माथिल्लो जातका ठान्ने कतिपयले कुकुर नै भन्छन्। 

जातीय विभेदकै कारण तपाईंको नाम त्यसरी राखी दिएका हुन् जस्तो लाग्छ ? 

अहिले त उ बेला जस्तो छैन्। त्यो जमाना र अहिलेको जमानामा धेरै फरक छ। हाम्रो पालामा छोइछिटो धेरै हुन्थ्यो। त्यसबेला कतिको विभेद थियो भनेर मेरै नागरिकताले देखाइहाल्छ नि ! गाउँघरमा मलाई जसरी बाँचोस् भनेर कुकुर भनेर बोलाउन लागे त्यसरी नै माथिल्ला जातको ठान्ने साथीभाइहरूलाई पनि नाउँ बिगारेर बोलाइन्थ्यो। नागरिकता लिँदा उनीहरूको नाउँ सुधारियो। ब्राह्मण क्षेत्री कसैको पनि मेरो जस्तो नाउँ लेखिएन्। जन्मिएपछि हेराएको राशिकै नाउँ नागरिकतामा लेखियो। उनीहरू माथिल्लो जातको ठानेर त होला नराम्रो नाउँ नलेखिएको ? म त दलित परेँ। 

त्यही कारणले त होला नागरिकतामै कुकुर नाउँ लेखियो। यो भन्दा ठूलो विभेद के होला ? धारा पँधेरामा पानी छुन दिँदैनथे। कसैको घरमा काम गर्न गएका बेला खाना खानु पर्दा पनि अलग्गै बसेर खानु पथ्र्यो। आफुले खाएको भाँडा माझेर अलग्गै सुकाउँथ्यौ। पछि त्यही घरकाले सुन पानी हालेर भित्र लैजान्थे। हामीले खाने पानीको अङ्खोरामा अलग्गै पानी हालिदिन्थे। जनावरकै व्यवहार गरिन्थ्यो। 

हामी कामी, दमाई, सार्कीसँग छुइछिटो भइगयो भने घरमा गएर सुनपानी छर्किन्थे। मन्दिर पस्न पाइन्नथ्यो। क्यार्नु र त्यही बेला मेरो नाउँ पनि बिगारिदिए। हामीलाई त उ बेला खुब हेप्थे, हेलाँहा गर्थे। अहिले आएर थाहा पाएको छु, तर कसलाई के भन्नु ? 

नागरिकतामा तपाईंको नाम सच्चिने भयो ? कस्तो लागिरहेको छ ? 

खुसी। म त निकै खुसी छु। त्यही बेला कविराम कामी नामभन्दा भन्दै ‘कुकुर कामी’ लेखिएको नागरिकता अहिले सच्चिन्छ भनेर सिडियो साप कहाँ आएर निवेदन दिएको छु। सिडियो सापकोमा गएर मज्जाले आफ्नो कुरा पनि राखेँ। तपाईंहरूले मेरो लागि दुःख गरिदिनुभयो। अब मैले नयाँ नागरिकता पाउँछु भन्नेमा ढुक्क छु। म त पढ्या पनि लेख्या पनि नाईँ। पहिला स्कुल पनि टाढाटाढा थिए। बाआमाले पढाइदिएनन्। अब नयाँ नागरिकता आउँदा त खुसी छु।

बालबच्चाहरूलाई पनि खुसी, मलाई पनि खुसी। अब त छोराछोरीले पनि मेरो नाउँ त लिन सक्लान् नि ! नातिनातिनीलाई पनि सजिलो होला। 

आजभोलि छुवाछूतको अवस्था कस्तो देख्नु/भोग्नु भएको छ ? 

उहिले–उहिले बाहुन क्षेत्रीले हामी कामी, दमाई, सार्कीलाई छुइछिटो गर्थे। हाम्रोनजिक पर्दैनथे। मन्दिर जान दिँदैनथे। घरको ओटालीसम्म जान पाइँदैनथ्यो। छुवाछूत भन्या त्यही त होला। गाउँ टोलमा हुने बैठक भेलामा पनि हामी तल्ला जाति अलग्गै बस्नुपथ्र्यो। विवाह ब्रतबन्ध पूजामा धेरैजसोले बोलाउँदैनथे। बोलाइहाले भने पनि सँगै बसेर खान पाइँदैनथ्यो। अलग्गै बस्नुपथ्र्यो। अहिले त गाउँ समाज पनि राम्रै भएका छन्। ब्राह्मण क्षेत्री हाम्रा घरमा आएर खान्छन्, हामी उनीहरूको घरमा गएर खान्छौ। पहिले जसो पानी पधेरोँ, कुवामा पनि विभेद गर्दैनन्। अहिले त उहिले जस्तो कहाँ छ र ? समाज सुधारिँदै गएको जस्तो लाग्या छ।
जातीय छुवाछूतलाई अन्त्य गर्न के गर्नुपर्ला ? 

म पढ्नलेख्न त जाँन्दिन। हाम्रो पालामा भएको जस्ता विभेद नभए पनि कताकता दलितहरूलाई विभेद भएको भन्ने समाचार रेडियोबाट सुन्छौं। उहिले–उहिले जसो जातका आधारमा छुवाछूत गर्न हुँदैन भनेर गाउँ समाजमा सिकाउनुपर्छ। सरकारले विभेद गर्नेलाई कारबाही गर्नसक्नुपर्छ। हाम्रा बालबच्चा सरकारी स्कुलमा पढ्छन्। सरकारी स्कुलको पढाइलाई राम्रो बनाउनुपर्छ। बलिया–बलिया युवा केटाहरू इन्डिया गइरहेका छन्। उनीहरूलाई गाउँ समाजमै कामको व्यवस्था हुनुपर्ला। हामी पनि हुने खाने भयौं भने त कसैले हेलाँ नगर्ला नि !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.