खाली खुट्टै दाङ-काठमाडौं यात्रा
दाङ : हिन्दू राष्ट्रको माग गर्दै एक व्यक्तिले दाङ काठमाडौं खाली खुट्टा यात्रा गरेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका-११ का झनक बहादुर बस्नेतले २१ दिनको खाली खुट्टा यात्रा गरेर बिहीबार काठमाडौं पुगेर समापन गरेका छन्।
उनले पशुपतिनाथ पुगेर यात्राको अन्त्य गरेका हु्न्। यही साउन ६ गते बबई नदीदेखि काठमाडौंसम्म खाली खुट्टा यात्रामा निस्केका थिए। नेपाली कांग्रेस नेता स्व खुम बहादुर खडकाको हिन्दू राष्ट्र अधियान सफल बनाउने उद्देश्यले उनी खाली खुट्टा काठमाडौंसम्म पुगे। उनले सनातन हिन्दू राष्ट्र नेपाल स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्नेलगायतका माग राखेका छन।
हिन्दू महाअभियान नेपाल आन्दोलनका लागि स्व. खड्काको नाममा समर्पित यात्रा गरेको बस्नेतले बताए। यात्रा बाँके, बर्दिया, सुर्खेत र सल्यानको सिमाना कोहलपुरदेखि छिन्छुको बीचमा पर्ने बबई पुलदेखि शुरु गरेका बस्नेतलाई ठाउँ ठाउँमा स्थानीयहरुले स्वागत गरेका थिए।
खाली खुट्टा पैदल यात्रा गरेका बस्नेतले पशुपति मन्दिरमा यात्रा विसर्जन गर्दै भने- 'मेरो पैदलयात्रा संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गराउन लक्षित थियो', त्यो यात्रा सफल भएको छ।' शुभचिन्तक, आफन्त, साथीभाइसहित हिन्दू धर्ममा विश्वास गर्नेहरूले पैदलयात्री बस्नेतलाई पशुपति मन्दिर परिसरमा स्वागत गरेका थिए। बस्नेत नेपाली कांग्रेस तुल्सीपुर उपमहानगरपालिका कमिटिका सह-सचिव समेत हुन।