कोरोना बढ्यो, हेलचेक्रयाइँ किन ?
कोरोना संक्रमणको बढी मारमा परेका विश्वका देशहरूको सूचीमा ७०औं स्थानमा नेपाल पुगेको छ । दक्षिण एसियामा भारत र पाकिस्तानपछि बढी संक्रमित भएका देशको तेस्रो स्थानमा नेपाल छ । हालसम्म ९ लाख ९२ हजार १ सय ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ८२ जनाको त ज्यान गइसकेको छ । अहिले पनि ५ हजार ८ सय ६९ जना सक्रिय संक्रमित छन्् । संक्रमित र मृत्यु दिनप्रतिदिन बढ््दो क्रममा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा देखिन्छ । संक्रमितमध्ये १ प्रतिशतले ज्यान गुमाइरहेका छन् । बिहीबार मात्र देशभर ४ हजार ५ सय ३४ नमुना परीक्षण गर्दा ८ सय १५ जना नयाँ संक्रमित फेला परे । परीक्षण गराएकामध्ये १८ प्रतिशतलाई कोरोना लागेको ठहर भयो । कोरोनाबाट भएको मृत्यु र संक्रमण पुष्टिको तथ्यांकले देशमा कोरोना ग्राफ ह्वात्तै बढेको देखिन्छ ।
‘जब लाग्यो आगो, खन्न थाल्यो कुवा’ भन्ने उखान अहिले यो घटनामा ठ्याक्कै मेल खान्छ । विपत्ति अघि कुनै तयारी नगर्ने , विपत्तिको मुखैमा आएपछि मात्र समस्या देख्ने यो पुरानै रोग हो । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरबाट पाठ सिकेर हामी फेरि पनि कोरोनालाई सामान्य ठानिरहेका छौं । पहिलो लहरमा राज्यले लाग्दो पुग्दो सबै कोसिस गरेर कोरोनाको पाठ सिक्यो । सीमा बन्द गरियो । लकडाउन भयो । धेरै जना सहभागी हुने भेला, सभा, गोष्ठी सञ्चालनमा रोक लगाइयो । कोरोना सचेतनाका काम भए । स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा पनि कडाइ भयो । कोरोना परीक्षण, संक्रमितको सम्पर्कमा रहेका परिवारका सदस्यको कन्ट्याक्ट टे«सिङ, क्वारेन्टाइन, आइसोलेसन, उपचार सबै विधिसम्मत्् भए । जसका कारण कोरोना पुष्टि भए पनि क्वारेन्टाइन र घरमै सीमित भयो । फैलन पाएन । संक्रमित सबैको स्वास्थ्य संस्थामै उपचार भयो । दोस्रो लहरमा धेरैलाई संक्रमण भयो । धेरै संख्या भन्दै हामीले पहिलो लहरका आफैंले गरेका सफल अभ्यास अधिकांश लत्यायौं । त्यसैले कोेरोना धेरैको अकालको काल भयो । अहिले राज्यले धेरैभन्दा धेरै नागरिकलाई खोप लगाएको भनिरहेको छ तर पनि मान्छे कोरोनाबाट मर्न छोडेका छैनन्् । नागरिक र राज्यले कोरोनालाई सामान्यकरण गर्दै बेवास्ता गर्नुको परिणाम हो, यो ।
कोरोना संक्रमितका लागि बनाइएका क्वारेन्टाइन, आइसोलेसन र भेन्टिलेटर थान्को लागिसके । स्वास्थ्यकर्मी कटौतीमा परिसके । मन्त्रालय, विभाग, स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा सबै ढुक्क भएका छन्। खोप लगाएकाले अब क्षति व्यहोर्नु पर्दैन भनेर । कोरोना परीक्षण जारी छ । संक्रमण पुष्टि भइरहेकै छ । ‘सामान्य लक्षण त हो नि’ सुरक्षाका विधि अवलम्बन गर्नु भन्दै संक्रमितलाई अनिवार्य होम आइसोलेसनमा बस्ने छुट छ । कोरोनाविरुद्धको खोप सिंगल, डबल र बुस्टर डोज लगाएर पनि त कोरोना संक्रमण रोकिएको छैन । कोरोनाबाट मृत्यु भएका व्यक्ति र नयाँ संक्रमण पुष्टि भएका अधिकांशले खोप लगाएकै पाइएको छ । त्यसैले खोप लगाएको छु । लगाएका छौं । भनेर ढुक्क हुने अवस्था छैन । खोप लगाएका व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता बढेर कोरोनाको जोखिम कम भएकै हो । यही आधारमा सबै नागरिक सुरक्षित ठान्नु पनि राज्यका जिम्मेवार निकायमा बसेकाहरूको लागि मूर्खता हुनसक्छ ।
कोरोना संक्रमण दिनदिनै बढिरहेको छ । मानवीय क्षति पनि बढ््दो क्रममा छ । यति हुँदा पनि तीन तहकै सरकारको होस आएको छैन । कोरोनाविरुद्धको तयारी खासै देखिँदैन । यो हदैसम्मको लापरबाही नै हो । कोरोनाका भेरिएन्ट हरेक लहर पिच्छे फरकफरक पाइएको छ । त्यसैले पनि राज्यले यसको रोकथाम र नियन्त्रणमा तुरुन्त तदारुकता देखाउन ढिलो भइसकेको छ । तीन तहकै सरकारले कोरोना महामारीबाट नागरिकलाई सुरक्षित बनाउन समयमै सोच्न जरुरी छ ।