अनि मैले ईश्वरलाई चिठी लेख्न थालें

अनि मैले ईश्वरलाई चिठी लेख्न थालें

काम न ठूलो हुन्छ न सानो। तर हाम्रो समाजले वर्गीकरण गरिदिएको छ। आखिर म पनि त त्यही समाजकी उपज न हुँ। मलाई अमेरिका जानु भनेको पलायन हुनु हो भन्ने लाग्थ्यो। नेपालमा केही गर्न नसकेर भाग्नु हो भन्ने लाग्थ्यो। अहिले सम्झिँदा पनि हाँसो लाग्छ।


नेपालमा चिनजानका कसैलाई ‘म यहाँ एम्ब्रोइडरीमा काम गर्छु’ भनेँ भने...

महिनौँलाई उनीहरूको गफको विषय बन्ने थियो–
‘लीना त अमेरिका गएर टेलरमा पो काम गर्छे रे !’
‘नेपालीले त्यहाँ गएर गर्ने त्यस्तै त हो नि !’
‘जति पढेलेखेको भए पनि बाहिर गएर गर्ने त्यही हो, मिडियामा काम गरेकी भनेर के गर्नु ?’

यस्तै कुरा गम्दै मेरा हातहरू माउस र किबोर्डमा दौडिरहेका थिए–टेक्ससस्थित एउटा सपिङ मलको स्टोरभित्र। म पुरानो कम्प्युटरको विलकम सफ्टवेयरमा कोर्दै थिए– ‘ह्याप्पी इस्टर’। 

सानैमा एकजना चर्चित नायिकाले अमेरिकामा आइसक्रिम बेच्छिन् भन्ने सुन्दा अचम्म लाग्थ्यो। नेपालीका लागि अमेरिका भाँडा माझ्ने, आइसक्रिम बेच्ने वा पेट्रोल पम्पमा काम गर्ने थलो जस्तो लाग्थ्यो। मनमनै आफैँसँग भन्थे–म त ‘राम्रो’ काम गर्ने हो, कहिल्यै अमेरिका जान्न।’

काम न ठूलो हुन्छ न सानो। तर हाम्रो समाजले वर्गीकरण गरिदिएको छ कामलाई सानो र ठूलो भनेर। आखिर म पनि त त्यही समाजकी उपज न हुँ। मलाई अमेरिका जानु भनेको पलायन हुनु हो भन्ने लाग्थ्यो। नेपालमा केही गर्न नसकेर भाग्नु हो भन्ने लाग्थ्यो। अहिले सम्झिँदा पनि हाँसो लाग्छ।

०००

केहीअघि नेपालबाट एक जनाले ‘तिमी अमेरिका बस्ने कुनै कारण देख्दिनँ म’ भने। सुन्दा उदेक लाग्यो। अलिअलि झोँक पनि चल्यो। हुन त आफूलाई न घरपरिवार पाल्नु छ न धेरै पैसा कमाउनु छ। उहिल्यै दुईवटा विषयमा स्नातकोत्तर गरिसकेकी मलाई उच्च शिक्षा हासिल गर्ने इच्छा पनि छैन। यी बाहेक कुनै पनि कारणले अमेरिका बस्नुलाई आम नेपालीले अमेरिका बस्ने कारण नै नमान्ने रहेछन्।

एउटै ठाउँ र एउटै सर्कलमा धेरै समय बसेरभन्दा अलगअलग ठाउँको अनुभव बटुल्न चाहने म त्यस्ता अनुभवले धेरै कुरा सिक्न र सिकाउन सकिन्छ भन्ने मान्यता राख्छु। इन्टरनेट पुस्ताकी म आफूलाई ‘ग्लोबल सिटिजन’ भन्न रुचाउँछु। विश्वको जुनसुकै कुनामा बसे पनि आफ्नो देशका मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गरेकी मान्छे।
डलास फोर्टवोर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदै गर्दा मैले आफैँलाई भनेको थिएँ– म अमेरिका पलायन हुन होइन, उदाउँन आएको हुँ।

नेपालमा आठ र भारतमा सात वर्ष काम गर्दा सिकेको भन्दा अमेरिका आएको एक वर्षमै मैले जीवनमा कहिल्यै नसिकेका धेरै पाठ सिकें। मेरो लागि ‘जीवनलाई अझ धेरै बुझ्ने र सिक्ने’ कुरा नै अमेरिका आउने एकमात्र कारण बन्यो। 

अमेरिका आएपछि यहाँको म्यागजिनमा लेखक भएर काम सुरु गर्नुभन्दा अगाडि दुई महिना जति मैले घर नजिकैको सपिङ मलमा काम गरेँ। खाली समय सदुपयोग गर्न म सप्ताहन्तमा मल जान थालेको थिएँ।
जीवनमा पहिलो पटक मैले फ्रन्ट डेस्कमा बसेर कुनै अमेरिकनलाई ‘हाई, हाउ आर यु डुइङ्, सर ?’ भनेकी थिएँ। पहिलो पटक कुनै विदेशीसँग उनीहरूको ‘कलर च्वाइस’बारे कुरा गरेको थिएँ। भविष्यमा लेखिने कथाका लागि पात्रहरू भेट्टाएकी थिएँ। अनि, जीवनभरि आफैँसँग गफ गर्न पुग्ने विषय संग्रह गरिरहेको थिएँ।

०००

सम्भवतः कसैको जीवन–यात्राका कतिपय कुराहरू ईश्वराधीन हुन्छन्। त्यसमा कसैको केही जोर चल्दैन। त्यसैले त मैले ईश्वरीय योजनामा कहिल्यै शंका गरिनँ। मेरो अमेरिका बसाइ सायद उनकै योजना हुनुपर्छ। नत्र कहिल्यै अमेरिका जान्न भनेर अड्डी कस्ने म करिब तीन वर्षदेखि यतै छु। 

जीवन–यात्रा सजिलो छैन, तर सुन्दर छ। जीवनमा आइपर्ने दुःख–कष्ट पनि तिनलाई पार गरेपछि सुन्दर लाग्ने रहेछन्। अमेरिका आएको पहिलो तीन महिना मेरा लागि भावनात्मक हिसाबले कठिन थियो। काम हुँदाहुदै पनि म धेरैजसो खाली नै बस्थेँ।

यहाँ आएर मलाई आधारभूत आवश्यकता पूर्ति गर्न कुनै मेहनत गर्नु परेन। यो मानेमा म भाग्यशाली थिएँ। तर मन खासै उत्साहित थिएन। म बिना कारण विरक्तिएर बस्थे– भगवान्लाई गाली गरेर। सामाजिक सञ्जालमा कसैले ‘तपाईंको लाइफ कस्तो परफेक्ट छ है !’ भन्दा अनौठो लाग्थ्यो। ‘परफेक्ट लाइफ’ र ‘सफलता’ भन्ने कुरालाई हामीले कति बदनाम गरेका छौँ। त्यो जीवनको एउटा चरण थियो। अनेकौँ पाठहरू सिक्ने चरण।

०००

जीवनका धेरै यात्रा मैले एक्लै तय गरेकी छु। सबैभन्दा धेरै रमाइला र नरमाइला अनुभूति यिनै यात्राका क्रममा भोगेकी छु। यात्रा किताब पढे जस्तै हो। थुप्रै पात्रहरू भेट्छु, एक–एकलाई पढ्दै जान्छु, त्योभन्दा धेरै हरेक पानामा आफैँलाई पढिरहेकी हुन्छु। नेपालमा छँदा मैले यात्रा नै गरिन भन्दा पनि हुन्छ। नेपालमा त्यतिबेला यात्रा भनेकै ‘काम नपाएर डुल्ने’ जस्तो ठानिन्थ्यो। नेपालमा अत्यावश्यक काम नपर्दासम्म मैले चितवन छाडेको याद छैन। सायद त्यसैले होला मेरा अनुभवहरू साँघुरा थिए। नयाँ ठाउँ हेर्ने र नयाँ कुरा सिक्ने रहर त कसलाई पो हुँदैन र? तर ‘केटी मान्छे एक्लै हिड्नु हुँदैन’ भन्ने आम धारणाले मेरो मस्तिष्कमा पनि जरा गाडेको थियो।

अंग्रेजीमा एउटा भनाइ छ– ‘द वल्र्ड इज अ बुक एन्ड दोज् हु डु नट ट्राभल रिड वन्ली वन् पेज।’ नेपाल छँदा सायद म जिन्दगीको पहिलो पृष्ठमै अड्किएकी थिएँ।

जब भारतलाई कर्मथलो बनाएँ मैले जिन्दगीका अन्य पानाहरू पल्टाउन पाएँ। यात्रा मात्र होइन म फिल्म हेर्नदेखि रेस्टुरेन्टमासम्म एक्लै जान्थें। नेपाल र भारतमा एक्लै रेस्टुरेन्टमा जाँदा वेटर्सले ‘म्याम एक्लै?’ भनेर सोध्ने गर्छन्। फिल्म हलमा टिकट काट्दा पनि साथमा कोही छन् कि भनेर सोधिन्छ। तर अमेरिकामा कसैले त्यस्ता प्रश्न गर्दैनन्।

०००

हलिउडका फिल्म र सिरिजहरूमा मैले देखेको अमेरिका दृष्टिविहीनले हात्तीको पुच्छर छामेर यही नै हात्ती हो भने जस्तो रहेछ। म यात्रामा भेटिएकी एउटी महिलालाई सम्झिन्छु। उनी म बसेको होटलको भान्सामा काम गर्थिन्। मेरो आमाको उमेरकी उनी पेसाले चिकित्सक रहिछन्। सप्ताहन्तमा उनी होटलमा काम गर्थिन्। निकै खुसमिजासकी उनले खाना बनाउने र खुवाउने सोखका कारण यसरी काम गर्न थालेको र होटलमा काम गरेर कमाएको रकम च्यारिटीमा दिने गरेको बताउँदा म आश्चर्यचकित भएकी थिएँ।

जीवन–यात्रा सजिलो छैन, तर सुन्दर छ। जीवनमा आइपर्ने दुःख–कष्ट पनि तिनलाई पार गरेपछि सुन्दर लाग्ने रहेछन्।

अमेरिका बसेका हामी नेपाली यहाँका हरेक कुरालाई आफ्नो ठाउँको अवस्थासँग तुलना गर्छौं। कामलाई हेर्ने दृष्टिकोणमा नेपाल र अमेरिकाबीच आकाश–पातलको फरक छ। नेपालका कुनै चिकित्सकले साताका दुईदिन आफ्नो पेसा बाहेकको काम गर्ने कुरा कल्पना पनि गर्न सक्दैन। यदि कुनै चिकित्सकले ती महिलाले जस्तै कुनै क्याफे, रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर वा अन्यत्र काम गर्न थाल्यो भने समाचार नै बन्थ्यो होला।

०००

अमेरिका आउनुअघि म भारतको इन्दौरमा काम गर्थे। घर र देश छाडेर टाढा गएर काम गर्ने मेरो निर्णयले परिवारका कसैलाई पनि खुसी बनाएको थिएन। आफू के गर्दैछु र केका लागि गर्दैछु भन्ने कुरामा दृढ विश्वास भएकोले अरू केही सोचिनँ। मैले रोजेको बाटो सजिलो पक्कै छैन भन्ने थाहा थियो र अघि बढ्दै जाँदा त्यो बाटो सोचेकोभन्दा कठिनसमेत रह्यो पनि। तर मलाई आफ्ना कुनै पनि निर्णयमा पछुतो भएन।
सुरुवाती समयबाहेक इन्दौर बसाइका पाँच वर्ष मेरा लागि एउटा ‘गोल्डन पिरियड’ थियो। म विटिफिड (मैले काम गरेको कम्पनी, जुन भारतका चर्चित कम्पनीमध्ये पर्छ) मा निकै खुसी थिएँ। स्टार्टअप भएकोले गर्दा त्यहाँ काम गर्ने सबैले मजस्तै ठूला सपना बोकेका थिए। कम्पनी स्टाफको औसत उमेर २३÷२४ वर्ष मात्रै थियो। कार्यस्थलमा प्रायः देखिने राजनीति, गुटबन्दी, भाइभतिजावादजस्ता कुराबाट विटिफिड टाढा थियो। ‘योङ ट्यालेन्ट्स’का लागि विटिफिड ‘ड्रिम कम्पनी’ थियो।

मेरो टिममा २५ वर्षको एकजना भाइ थियो। सन् २०१५ मा उसले मेरो टिममा काम सुरु गरेदेखि नै हामी नजिक भइसकेका थियौँ। हरेक वर्ष रक्षाबन्धनका दिन म उसलाई राखी बाँधिदिन्थेँ। मलाई कहिल्यै पनि दुष्यन्त मेरो आमाको कोखबाट जन्मेको होइन जस्तो लागेन।

दुष्यन्तलाई मैले नजिकबाट नियालेकी थिएँ। १८ वर्षको उमेरमै क्यान्सरबाट आमा गुमाउनुको पीडा, एकमात्र सन्तान भएकोले उमेर ढल्दै गएका बाबुको जिम्मेवारी, आफ्ना निजी हजार सपना, त्यसका लागि गर्नुपर्ने अथक मेहनत, दुष्यन्तले कम उमेरमै धेरै कुरा सम्हालिरहेको थियो। आमा गुमाएपछिको आघात सहन नसकेर उसले दुई पटकसम्म आत्महत्याको प्रयास गरेको थियो।

विटिफिडमा काम गर्न थालेपछि उसले आफ्ना लक्ष्यहरू पूरा गर्ने बाटो देखेको थियो। कैयौँ लन्च र डिनरहरूमा हामीले एकअर्काका दुःख साटेका थियौँ। आफ्ना भविष्यका योजनाबारे चिन्तन गरेका थियौँ। मन परेका पुस्तक र फिल्मबारे ‘गोसिप’ गरेका थियौँ। आफ्नो आमालाई सम्झेर उसले व्यक्त गर्ने शोकमा प्रायः म साक्षी थिएँ।

‘लीना दिदी, आप सुनाते हो ना मैं अपना हेल्थका ध्यान नहीं रखता, मैंने ठान लिया हैं नई साल में मैं अपनी हेल्थ और फिटनेसको प्रायोरिटी पर रखूँगा,’ २०१८ डिसेम्बर महिना सकिने दिन हामी एउटा रेस्टुरेन्टमा डिनर गर्दैगर्दा उसले भनेको थियो। उसको अनुहारमा अनौठो प्रकारको चमक देखें मैले।
सानैमा एकजना चर्चित नायिकाले अमेरिकामा आइसक्रिम बेच्छिन् भन्ने सुन्दा अचम्म लाग्थ्यो। नेपालीका लागि अमेरिका भाँडा माझ्ने, आइसक्रिम बेच्ने वा पेट्रोल पम्पमा काम गर्ने थलो जस्तो लाग्थ्यो। मनमनै आफैँसँग भन्थे–म त ‘राम्रो’ काम गर्ने हो, कहिल्यै अमेरिका जान्न।’

दुष्यन्त र मसँगै हामी आठ जनाको एउटा ग्रुप थियो, जुन आफैँमा एउटा सुखद परिवार थियो। हरेक दिन अफिसका ९÷१० घण्टा हामी सँगै हुन्थ्यौँ। प्रायः सप्ताहन्तमा जम्मा भएर घण्टौँसम्म बात मारिरहेका हुन्थ्यौँ। मैले आफ्ना जीवनमा देखे–भेटेका सबैभन्दा असल मान्छेमध्ये यी पनि पर्छन्। मेरा लागि उनीहरूको साथ घरभन्दा टाढाको घर थियो।

सन् २०१९ जनवरीमा हामी तीनदिने राजस्थान यात्रामा गएका थियौँ। हाम्रो त्यो पहिलो ‘ग्रुप ट्रिप’ थियो। १५ घण्टे रेलयात्रा र हजारौँ मीठा सम्झना। बाटोमा कुराकानीका क्रममा दुष्यन्तले भनेको थियो, ‘लीना दिदी, आप के बर्थडे पर इस बार स्पेसल पार्टी करेंगे।’ ग्रुपमा कुनै पनि ‘गेट टुगेदर’को प्लान बनाइन्थ्यो, सबैभन्दा पहिला तयारीमा ऊ नै लाग्थ्यो। यात्राका क्रममा तय गरिएका रेल, कार, बस सबैको बुकिङको जिम्मा उसैले नै लिएको थियो। जसलाई जे परे पनि सहयोग गर्न ऊ सबैभन्दा पहिला अघि सर्ने गर्दथ्यो। एकपटक दसैँमा नेपाल जानु अघिल्लो साँझ मैले उसलाई ‘भाइ, मसँग इयरफोन्स छैन, मलाई फ्लाइटमा चाहिन्छ मात्र भनेकी के थिए, बाइकमा मलाई बसाएर साथीको इलेक्ट्रोनिक पसलमा पुर्‍याएको थियो। मैले प्रयोग गरिरहेको फोन र ल्यापटप मैले उसैसँग गएर किनेको हो। मध्यप्रदेशको उज्जैनमा हरेक १२ वर्षमा लाग्ने कुम्भ मेला हेर्न जाने योजना बनाउँदा राति १ बजे मलाई लिन मेरो होस्टल परिसर पुगेको थियो दुष्यन्त।

राजस्थानको माउन्ट आबुमा उसले दुई घण्टा लगाएर १९ सय भारतीय रुपैयाँमा एउटा बन्दुक किनेको थियो। उसलाई यस्ता कुराको निकै सोख थियो। उसैको आग्रहमा मैले दुबई एयरपोर्टको ड्यटी फ्री सपमा कुन्नि के ब्रान्डको वाइन खोज्दै हिँड्नु परेको थियो।

दुष्यन्तलाई माइग्रेन थियो। हामी राजस्थान यात्राबाट फर्केपछि दुई दिन ऊ थला पर्‍यो। त्यसपछिका दिनहरूमा बारम्बार बिरामी पर्न थालेको थियो। ज्वरो आउने र टाउको दुख्ने भइरहन थाल्यो। त्यसलाई सबैले सामान्य लिन्थ्यौँ किनकि ऊ एकाध दिनमा ठीक पनि भइहाल्थ्यो।

सन् २०१९ मार्च १७ ! मेरो जन्मदिनमा दुष्यन्त मेरो फ्ल्याटमा केक लिएर आइपुगेको थियो। त्यसको भोलिपल्टदेखि उसलाई ज्वरो आउन थाल्यो। तीन दिन अस्पताल बसेपछि उसले घरमै आराम गर्‍यो। मैले भेट्न आउने इच्छा फेसबुकमा गर्दै मेसेज पठाउँदा ‘पर्दैन, छिट्टै अफिस आउछु’ भनेर रिप्लाई गरेको थियो। मार्च २५ मा दुष्यन्त अफिस आयो। त्यो एउटा सामान्य दिन थियो। मैले सपनामा पनि सोचेकी थिइँन– ऊसँग बसेर काम गर्ने त्यो नै अन्तिम दिन हुन्छ भनेर। त्यसको भोलिपल्ट ऊ पुनः अस्पताल भर्ना भयो। अवस्था अलि गम्भीर छ भन्ने थाहा पाएर मैले मेसेन्जरमा स्याड इमोजीसँगै लेखेकी थिएँ– ‘भाइ, प्लिज छिटो निको भएर आइज !’ दुर्भाग्य ! त्यो म्यासेज कहिल्यै सिन भएन।

३० तारिख, म बिहानै अस्पतालतिर लागेँ। २÷३ घण्टा भेटेर फर्किन्छु भन्ने सोचेर निस्किएकी थिएँ। अस्पताल पुग्दा दुष्यन्तलाई आईसीयूबाट भर्खरै भेन्टिलेटरमा सारिएको रहेछ। डाक्टरसँग आग्रह गर्दा पनि भित्र जान अनुमति दिइएन। मैले वार्डको ढोकाबाट उसलाई नियाले। मेरा आँखा नरसाई रहन सकेनन्।

‘अस्पतालबाट डिस्चार्ज भएपछि यसले खुब गाली खान्छ,’ वार्ड बाहिर बसेर हामी कुरा गर्दै थियौँ। सञ्चो भएर आएपछि ‘दुष्यन्तले आफ्नो जीवनशैलीमा पक्कै पनि यो–यो परिवर्तन गर्ला’ मैले सोचिरहेकी थिए।
केही साथीले घर गएर खाना खाएर आराम गर्न सुझाव दिए। तर मन मानेन। बिहानै अस्पताल पुगेकी म खाना त के पानी पिउने मेसो पनि नपाएर ‘दुष्यन्त बिलकुल ठीक छ’ भन्ने डाक्टरको भनाइ कुरेर बसेकी थिएँ।

अपराह्न ४ बजेको थियो। म दुष्यन्तलाई राखेको वार्ड भएको भन्दा तल्लो तलाको वासरुममा गएकी थिएँ। फर्कंदा सबैजना भक्कानिएर रुबावासी गर्दै थिए। त्यो दृश्यले मलाई पनि भक्कानो छुटायो। एक्लो जवान सन्तान गुमाएका बूढा बाले मेरो हात समात्दै ‘छोरी, मेरो बाबुले मलाई छाडेर गयो’ भन्दा मलाई कहाली लागेको थियो। त्यो पलको स्मरणले आँखा रसाउँछन्।

शवलाई अस्पतालबाट घर पुर्‍याउँदा म पनि पछिपछि लागेँ। त्यो दिन म पहिलोपटक ‘जैन निवास’ पुगेकी थिएँ। ढोकाबाट छिर्दै गर्दा भुइँमा लेटाएर राखिएको दुष्यन्तलाई देखेँ, अन्तिम बिदाइका लागि उसलाई उसकै मनपर्ने सेतो कुर्तामा सिंगारिएको थियो। उसलाई देख्नेबित्तिकै मैले भनेँ, ‘भाइ, तेरो घर आउने प्लान थियो, तर यसरी होइन।’ आफूलाई सम्हाल्न सकिनँ र कहिल्यै नबिउँझने गरी सुतिरहेको भाइको गोडामा टाउको अड्याएर घोप्टो परेर निकैबेर रोइरहेँ। दुष्यन्तकी फुपूले ‘लीना, उसलाई लैजाने बेला भयो, लेउ राखी बाँधिदेऊ’ भन्दा मात्र मेरो होस खुल्यो। मैले अन्तिमपटक उसको हातमा राखी बाँधिदिए। आँखाबाट आँसु थामिएका थिएनन्।

०००

घाटमा दुष्यन्तको शव चितामा चढ्यो। उसको शव जलेर खरानी बन्न थाल्यो। म भने कुनै चमत्कार भएर दुष्यन्त उठेर पो आइहाल्छ कि भनेझैँ उसैलाई हेरिरहेकी थिएँ। तर ऊसँगै जलेर खरानी भइरहेका उसका हजार सपनाहरूलाई हेर्न म बाध्य थिएँ।

मलाई काममा मन लाग्न छाड्यो। कारण सिर्फ दुष्यन्तको निधन त थिएन। जीवनका यस्ता कैयौँ सत्यहरूमाथि कसैको नियन्त्रण नहुनु र अनिश्चितता नै अनिश्चितताले भरिएको जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ भन्नेतिर मेरो मन मोडिएको थियो। आफ्ना एकएक सपना र महत्त्वाकांक्षालाई मैले केलाउन थालेकी थिएँ। म के गर्दैछु र केका लागि गर्दैछु भन्ने कुरा रातदिन दिमागमा चल्न थाल्यो। हरेक रात मैले भगवान्लाई पत्र लेख्न थालेँ। ती सबै प्रश्नैप्रश्नले भरिएका हुन्थे। मेरा आग्रहले भगवान् कुनै दिन थाकेर उत्तर दिनै छाड्छन् भनेर माफी पनि मागिरहेकी हुन्थेँ।

यस्तो लाग्थ्यो कि जीवनमा फरक खालको मोड आउँदैछ। अन्तरमनबाट आवाज निस्कन्थ्यो – मैले आफ्नो मनोबल दरो राख्नुपर्छ र आगामी यात्राका क्रममा आउने सबै परीक्षाहरूलाई हिम्मतका साथ ‘डिल’ गर्नुपर्छ।’ अब मैले पत्रको साथ साथै हरेक रात सुत्नु अघि ईश्वरसँग गफ गर्न थालें। आफू निश्चिन्त हुने कैयौं कारण देख्न थालें। किनकि कतिपय कुराकानीमा मैले आफ्ना प्रश्नका उत्तरहरू पाएको थिएँ। यसै बीचमा जागिर छाडें। के गर्ने कुनै योजना थिएन। भगवान्‌ भरोसामा थिएँ। त्यो समय मेरो लागि एउटा ‘टर्निंग पोइन्ट’ थियो। जसमा मैले परमात्मासँगको मेरो सम्बन्ध अझ नजिकिँदै गएको पाइरहेकी थिएँ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.