एमालेलाई हराउनु भनेको मुलुकको अस्मिता लुटिनु हो : प्रदेश इन्चार्ज घिमिरे
उदयपुर : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेश इन्चार्ज देवराज घिमिरेले स्थानीय तहको निर्वाचनमा एमाले पराजित हुनुको मुख्यकारण सांगठनिक अराजकता रहेको बताएका छन्।
आगामी निर्वाचनलाई लक्षित गरी नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफू भए ठीक नभए हराउने प्रवृति हाबी हुँदा निर्वाचनको नतिजा अनपेक्षित आएको बताए।
६ वटा सूर्यलाई मत लगाउने प्रमुख पदमा विपक्षी पार्टीलाई मत लगाएको यसपटकको निर्वाचनमा अत्यधिक देखिएकाले त्यस्ता अराजक गतिविधि नियन्त्रणका लागि सुक्ष्म अध्ययन र अनुसन्धान थालिएको उनले बताए।
‘समग्र निर्वाचनको नतिजा हेर्दा एमाले अहिले पनि पहिलो पार्टी नै छ, तर प्रमुख र उपप्रमुख विजयी भएको संख्या हेर्दा हामी दोस्रो छौं। यसको कारण हामीभित्रकै आन्तरिक समस्या हो,' उनले भने, ‘३६४ दिन एमाले हुने एक दिन अन्य पार्टी हुने छुट कसैलाई छैन।'
उनले पार्टीभित्र मैलाउँदै गएको अराजकता, कमजोर संगठन प्रणालीलाई तलैदेखि सुधार गर्नपर्ने बताए। आउँदो निर्वाचनमा एमाले पहिलो शक्तिको रुपमा उदाउने दाबी उनले थपे, ‘यो निर्वाचनमा एमालेलाई हराउनु भनेको मुलुकको अस्मिता लुटिनु हो, देश वर्वादीतर्फ धकेलिनु हो, विकासले पछि पर्नु हो र वैदेशिक हस्तक्षेप बढ्नु हो।'
त्यस्तै स्थायी कमिटी सदस्य हिक्मत कार्कीले अर्थमन्त्री जनार्दन शर्मालाई सिधै जेल हाल्नुपर्ने बताए। भारतीय नागरिकलाई कोठाभित्र राखेर बजेट बनाउने अर्थमन्त्री शर्मालाई राज्यविरुद्धको अपराधमा सिधै जेल हाल्नुपर्ने उनको भनाइ छ।
‘एउटा मन्त्रीले राज्यशक्तिको चरम दुरुपयोग गर्ने त्यो अपराध कसैलाई छुट छैन्,' उनले भने, ‘त्यति अपराधगर्दा समेत प्रधानमन्त्री देउवा मौन बस्नु त्यहाँ भन्दा लाचारीपन के हुन सक्छ।' उनले सत्ता कुर्सीका लागि मात्र नभई जनताको हितमा हुने गरी काम गर्न गठबन्धन सरकारलाई अनुरोध गरे।
माओवादी र कांग्रेसका ७ जना एमालेमा प्रवेश
नेकपा माओवादी केन्द्रका ६ र नेपाली कांग्रेसका एक गरी सात जना नेता नेकपा एमालेमा प्रवेश गरेका छन्। पार्टीभित्र मौलाउँदै गएको व्यक्ति केन्द्रित राजनीतिले समग्र कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको भन्दै पार्टीको जिल्ला समन्वय समितिका सदस्य तथा नगरका सहइन्चार्ज केदार दनुवारको नेतृत्वमा ६ जना प्रवेश गरेका छन्।
त्यसैगरी पार्टीको त्रियुगा नगर कमिटी ९ नम्बर वडाध्यक्ष जितबहादुर बराल, सदस्य धनवीर मगर, गोपी बराल, राधा बराल, रुद्र घिमिरे एमालेमा प्रवेश गरेका हुन्। दनुवार यसअघिका त्रियुगा नगर कार्यपालिकाका सदस्य हुन्।