यार्तुङ महोत्सव सकियो, घोडा दौडमा नेपाली सेना प्रथम
जोमसोम : मुस्ताङमा सञ्चालन भएको घोडा दौड प्रतियोगितामा नेपाली सेना प्रथम भएको छ। शनिबार सम्पन्न यार्तुङ महोत्सवको घोडा दौड प्रतियोगितामा सैनिक उच्चशिखर शिक्षालय जोमसोमका राजकुमार अधिकारी च्याम्पियन बनेका हुन्।
लामो दूरीको साहसिक घोडा दौड प्रतियोगितामा अधिकारीको रोहित नामको घोडा पहिलो बनेको थियो। अधिकारीले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन्। प्रतियोगितामा बारागुङ मुक्तिक्षत्रे-२ झोङका बिरबहादुर विकको टिका नामको घोडा दोस्रो भयो। बिकले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जिते। घरपझोङ गाउँपालिका-५ ढुम्बाका कर्मा टसी गुरुङको नाम्का नामको घोडा तेस्रो बन्यो। गुरुङले १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाए।
जनप्रिय युवाक्लवका सचिव छिरिङ नर्बु गुरुङका अनुसार वारागुङ मुक्तिक्षेत्र-१ झारकोटदेखि पुराङ रानीपौवा बजारसम्मको तीन किमी दूरीमा प्रतिस्पर्धा गराइएको थियो। मुक्तिनाथको जनप्रिय युवाक्लव पुराङ रानीपौवाले आयोजना गरेको प्रतियोगितामा २३ जनाले भाग लिएका थिए। यार्तुङ पर्वमा बर्सेनि क्लवले लामो दूरीको घोडा दौड र छोटो दूरीको घोडा दौड प्रतियोगिता आयोजना गर्ने गरेको छ। कोरोनाका कारण दुई वर्षपछि महोत्सव सञ्चालन भएको हो।
यार्तुङ पर्वको अन्तिम दिन रानीपौवा बजारक्षेत्रमा छोटो दूरीको घोडा दौड प्रतियोगितामा घरपझोङ-५ ढुम्बाका कर्मा टसी गुरुङको नुर्बु नामको घोडा च्याम्पियन बनेको छ। उनले नगद १५ हजार पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन्। वारागुङ मुक्तिक्षेत्र-१ खिङ्गाका लाक्पा टसी गुरुङको आनत घोडा दोस्रो हुँदै नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाए भने झारकोटका राजकुमार बिकको कान्छा नामको घोडा तेस्रो स्थान हासिल गर्दै नगद ५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाए।
हिमाली क्षेत्रका आदिवासी जनजाति समुदायका मानिसले स्थानीय चाडपर्वमा घोडा दौडाएर रमाइलो गर्ने गर्छन। मौलिक भेषभुषा र हिमाली सभ्यताको पहिरनमा घोडा चढेर सांस्कृतिक सम्यतालाई उजागर गर्ने परम्परा छ। हिमाली क्षेत्रको मौलिक परम्परा र सभ्यतालाई क्लवले प्रतियोगिताको रूपमा सञ्चालन गर्दै आएको क्लवका सचिव गुरुङले बताए।
महोत्सवमा जनप्रिय युवाक्लवे तीर हान्ने आर्चरी खेल, सेभेन ए साइड फुटबल र डोरी तान्ने खेल सञ्चालन गरेको क्लवले जनाएको छ। हिमाली क्षेत्रको परम्परागत आर्चरी खेलमा म्याग्दीको सरो एण्ड ब्रो क्लवले १०३ स्कोर बटुल्दै च्याम्पियन बन्दै नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जितेका छन्।
घरपझोङ गाउँपालिकाको फाइभ स्टार क्लवले ९९ स्कोर जोड्दै उपविजेता बन्यो। फाईभ स्टारले नगद २५ हजारसहित नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। मिलिजुली युवाक्लव मार्फाले ९७ स्कोर निकाल्दै तेस्रो स्थान भयो। मिलिजुलीले नगद १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जितेको छ। तारो हान्ने आर्चरी खेल प्रतियोगितामा म्याग्दी दानाका कुमार पुर्जा सर्वोत्कृष्ट खेलाडी घोषित भए भने मनाङका सर्वोत्कृष्ट खेलाडी सोनाम लामा घोषित भए।
महोत्सवको सेभेन ए साईड फुटबल प्रतियोगितामा थोरङ्लापास युवा क्लव च्याम्पियन बन्यो। च्याम्पियन बनेको थोरङ्पास युवक्लवले नगद ४५ हजारसहित मेडल ,ट्रफी र प्रमाणपत्र हात पार्यो भने जनहित युवाक्लव जोमसोम उपविजेता बन्दै नगद २५ हजारसहित मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। प्रतियोगितामा सर्वाधिक गोलकर्ता थोरङ्लापासका टाटु सुनुवार भए भने सर्वोत्कृष्ट खेलाडी थोरङ्पासकै महेश लामा घोषित भए।
प्रतियोगिताअन्तर्गत डोरी तान्ने खेलाडीहरुलाई पनि नगद, मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजक जनप्रिय युवा क्लवले जनाएको छ। यार्तुङमा आयोजित विभिन्न खेलका विजेतालाई स्थानीय जनप्रतिनिधि गुम्बाका अंग्रज लामा र समाजसेवीबाट पुरस्कार हस्तान्तरण गरिएको थियो।
बर्सेनि श्रावण महिनामा मुक्तिनाथमा यातुङ महोत्सव आयोजना गर्ने गरिन्छ। तर, कोरनाका कारण विगतको दुई संस्करण सामान्य रूपले मनाइएको र यस वर्ष भव्यताका साथ सम्पन्न भएको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए। यारको अर्थ बर्खा र तुङको अर्थ पर्व हो।
बर्खायामको महिनामा मनाइने पर्व भएकाले स्थानीय भाषामा यसलाई यार्तुङ भनीएको हो। यार्तुङ पर्व अघि स्थानीयले अन्नबाली घरमा थन्काइसकेका हुन्छन्। यार्तुङ पर्वपछि हिउँदयामको आगमन भएको संकेत गर्छ। यो पर्व जोमसोममाथिका तीनवटा पालिकाका गुरुङ समुदायले अलग अलग यार्तुङ पर्व मनाउने चलन छ।