बुबाले नै खोजिदिए छोरीलाई 'ब्वायफ्रेन्ड'
अष्ट्रेलिया : आमा-बुबाले आफ्ना छोराछोरीका लागि वर खोजिदिनु सामान्य कुरा हो। तर के आमा-बुबाले आफ्ना छोराछोरीका लागि 'ब्वायफ्रेन्ड वा गर्लफ्रेन्ड' खोज्दिन्छन्? एक बुबाले आफ्नी ३० वर्षीया छोरीको लागि 'ब्वायफ्रेन्ड' खोजिदिएको समाचार यतिबेला चर्चाको विषय बनेको छ। डेलीमेलले आफ्नो अनलाइन संस्करणमा छापेको उक्त समाचार अहिले भाइरल बनिरहेको छ।
अष्ट्रेलियाको मेलबर्नमा बस्ने एलिस जेम्स 'ब्वायफ्रेन्ड' बनाउनका लागि डेटिङ एपको सहारा लिन्छिन्। लामो समयसम्म डेटिङ एपको सहारा लिए पनि उनले मन मिल्ने 'ब्वायफ्रेन्ड' खोज्न सकिनन्।
यो कुरा उनका बुबाले चाल पाउँछन्। एक साँझ बुबा-छोरी 'पब' जान्छन्। एक जना केटा उनको बुबाको नजरमा पर्छन्। त्यो केटालाई देखाउँदै आफ्नो छोरीलाई कस्तो छ भनेर सोध्छन्। छोरीले स्मार्ट भनेर जवाफ फर्काउँछिन्।
छोरीको उत्तर सुनेर बुबा त्यो केटा सामुन्ने जान्छन्। केटासँग भलाकुसरी गरेपछि 'सिंगल' रहेको थाहा पाउँछन्। उनका बुबाले तत्कालै प्रस्ताव गर्छन्, 'मेरी छोरी पनि सिंगल छिन्। उ त्यहाँ बसेकी छन्।' त्यही बेला उनीहरुबीच कुराकानी हुन्छ, फोन नम्बर साटासाट हुन्छ। त्यसको भोलिपल्ट एलिसले म्यासेज पठाउँदै भन्छिन्, 'मेरो बुबाको हर्कतका लागि माफी चाहन्छु।' उनले हाँस्दैगरेको इमोजी पठाउँछिन्। केही दिनपछि नै उनीहरु 'डीनर'सहितको 'डेटिङ'मा जान्छन्। 'पहिलो डेट धेरै रमाइलो थियो। त्यो दिन सम्झेर हामी खुबै हाँस्यौं रमायौं,' उनले भनेकी छन्।
केही दिनको कुराकानी र डेटिङपछि त्यो केटाले विवाहको प्रस्ताव गर्छन्। एलिसले हाँसीखुसी प्रस्ताव स्वीकार गर्छिन्। मन मिल्ने 'ब्वायफ्रेन्ड' पाएको उनले खुसी व्यक्त गरेकी छन्। डेलीमेलसँग गरिएको एलिससँगको कुराकानी यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।