नागरिकता विधेयक फिर्ताबारे एमालेले टिप्पणी गर्नुपर्ने आवश्यक छैन : नेम्वाङ
सन्धिखर्क: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विषयलाई एमालेले स्वागत र विरोध केही पनि नगरेको बताएका छन् । उनले संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेको भन्दै त्यसमा एमालेले कुनै टिप्पणी गरिहाल्नुपर्ने अवस्था नभएको बताए।
प्रेस चौतारी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तव्य राख्दै नेता नेम्वाङले पार्टीले आगामी निर्वाचनका लागि तयारी पूरा गरिसकेकाले आगामी निर्वाचनमा एक्लै अगाडि बढ्ने बताए ।
उनले आगामी संघ र प्रदेशको निर्वाचनबाट फेरि एमालेको सरकार बन्ने दावी गरे।
एमालेले जनप्रीय कामहरु गरेकाले फेरि सरकारमा आउने उनको दावी थियो। आउने निर्वाचन आफूहरुका लागि चुनौती रहेपनि मुद्दा मिल्न सक्ने दलसँग संवाद भइरहेको उनको भनाइ छ । नभए एमाले एक्लै निर्वाचनमा जाने तयारीमा रहेको उनको भनाइ छ।
गत स्थानीय तहको निर्वाचनमा एमालेलाई जनताले लोकप्रिय मत दिएकाले अबको निर्वाचनमा समेत एमाले पहिलो पार्टी बन्ने बताए । पार्टीभित्रको आन्तरिक समस्याले स्थानीय निर्वाचनमा सोचेअनुरुप परिणाम आउन नसकेको भन्दै नेम्वाङले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्ने बताएका छन् ।
नेकपा एमालेले देशैभर सञ्चालन गरेको पार्टी प्रशिक्षण कार्यक्रमअन्तर्गत अर्घाखाँची आएका उपाध्यक्ष नेम्वाङले ११ सय नेता कार्यकर्तालाई प्रशिक्षित गर्दैछन् ।