स्याङ्जामा पाँच हजार सपिङ ब्याग वितरण
स्याङ्जा : स्याङ्जामा पाँच हजार सपिङ ब्याग वितरण गरिने भएको छ। सामग्री किनमेल गरेपछि सामान राख्नका लागि झोला वितरण गर्न थालिएको हो।
'सफा पुतलीबजार राख्न, हाम्रो सानो प्रयत्न' भन्ने नारा लेखिएको झोला सहयात्री को अपरेटिभ लिमिटेडका अध्यक्ष अज्योद्धा शाक्यले पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीलाई प्रदान गर्दै गरेर कार्यक्रम सुरु गरे।
पलाष्टिकका झोला प्रयोगलाई नियन्त्रण गर्ने उद्देश्यले सपिङ ब्यागको प्रयोगमा जोड दिएको हो। यस्ता खालका ब्याग बलियो र दैनिक उपयोगमा पनि सजिलो हुन्छ। नगरपालिकाले १२ हजार घरधुरीमा र सहकारीले ५ हजार घरधुरीमा यस्ता झोला वितरण गर्ने लक्ष्यबमोजिम पालिकासँग समन्वय भएको संस्थाका कोषाध्यक्ष श्रीबहादुर गुरुङ्ले जानकारी दिए।
झोला ग्रहण गर्दै प्रमुख रेग्मीले प्लाष्टिकमुक्त नगर बनाउने अभियानमा सहयात्रीसँग सहकार्य गरेर अघि बढ्ने बताए।
कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, सब इन्जिनियर अरुण पौडेल, वातावरण तथा सरसफाई शाखा प्रमुख धनप्रसाद कोइराला, सहकारी शाखा प्रमुख बिष्णु ढकाल, कम्प्यूटर अपरेटर प्रेम थापालगायतले स्वच्छ र सफा पुतलीबजार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पुतलीबजारमा रहेको यो सहकारी २०६९ सालमा स्थापना भएको हो। सहकारीमा २ हजार २० सेयर सदस्य छन्। सहकारीले समय समयमा विभिन्न प्रकारका मानवीय, आर्थिक तथा जिन्सी सहयोग गर्दे आएको छ।
यसअघि सहकारीले दृष्टिबिहिनका लागि सेतो छडी, चम्पागिरि आश्रममा आर्थिक सहयोग, जिल्ला अस्पताल स्याङ्जामा फलफूल र पानीका जार वितरण, दिशा निर्देश बोर्ड सहयोग, २०७२ सालको भूकम्पमा गोर्खाको बारपाकलगायत पुतलीबजारका विभिन्न वडाहरुमा भूकम्पपीडितहरुका लागि कपडा, खाद्यान्न, जस्तापाता सहयोग गरेको छ।
रामनदी वृद्दाश्रममा आर्थिक तथा खाद्यान्न सहयोग, अमोर सेवा नेपाल (बालगृहमा) खाद्यान्न सहयोग, बाल बचतकर्ताका लागि निःशुल्क झोला वितरण, निःशुल्क दन्त तथा स्वास्थ्य शिविर, कोभिड १९ पहिलो संक्रमणको बेलामा पुतलीबजार नगरपालिकामार्फत खाद्यान्न वितरण, कोभिड-१९ दोस्रो संक्रमणमा सर्वसाधारणलाई निःशुल्क मास्क वितरणलगायतका सामाजिक उत्तरदायित्व अन्तर्गतका काम गरेको जनाएको छ।