विद्यार्थीलाई लागूऔषध र साइबर अपराधबारे प्रशिक्षण
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माध्यमिक तहका विद्यार्थीलाई लागूऔषध र साइबर अपराध सम्बन्धी प्रशिक्षण दिएको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पुतलीबजार नगरपालिका-३ स्थित काजीमान हरिटीका माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको हो।
कक्षा ९ देखि १२ सम्मका छात्राछात्रालाई लागूऔषध दुर्व्यसन, साइबर अपराध नियन्त्रणका विषयमा प्रशिक्षण दिइएको प्रधानाध्यापक ओमप्रकाश शर्माले जानकारी दिए।
वरिष्ठ प्रहरी सहायक निरीक्षक ख्यामबहादुर क्षेत्रीले विद्यार्थीहरूलाई लागूऔषध भनेको के हो?, दुर्व्यसनबाट कसरी जोगिने ? तथा साइबर अपराध र यिनीहरूका कानुनी अवस्थाका बारेमा जानकारी गराएको बताए।
पछिल्लो समय किशोरकिशोरीहरू जानेर वा नजानेर लागूऔषधजस्ता कुलतमा फस्ने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्दै साइबर अपराध बढेकाले विद्यालयहरूमा पुगेर यस्ता कार्यक्रम सञ्चालन गरिएको प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेतले बताए।
प्रहरी प्रमुख समेत रहेका बस्नेतका अनुसार जिल्लाका विभिन्न विद्यालयमा पुगेर यस्ता खालका प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ।