मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा
जोमसोम : भौगोलिक रुपले विकट मानिएको मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।
संघीय सरकारको गत आर्थिक वर्षमा (सीओएमसी) साइट स्थापना कार्यक्रमअन्तर्गत विनियोजित २५ लाख बजेटमार्फत् जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताललाई आवश्यक उपकरण तथा सामाग्री उपलब्ध गराइपछि जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आएको हो।
संघीय सरकारले मुस्ताङ जिल्ला अस्पताललाई सीओएमसी साइट स्थापनाका लागि गत आर्थिक वर्षको अन्तिममा आवश्यक उपकरण तथा सामाग्री खरिद गर्न बजेट उपलब्ध गराएको थियो ।
यसपछि अस्पतालले अप्रेसन थिएटर (ओसी) कक्षको आवश्यक स्तरोन्नति र मर्मत गरी जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन विशाल तिवारीले अन्नपूर्णलाई जानकारी दिए ।
‘३ महिना अघि प्रसूति शल्यक्रिया सम्बन्धी उपकरण प्राप्त भयो,दुई हप्तामा ओसी कक्षको स्तरोन्नति गर्यौं,निमित्त मेसु तिवारीले भने,‘दुई हप्तामा हामीले यसको सबै व्यवस्थापन मिलायौं ,अब सामान्य प्रसूति अप्रेसन गर्न पोखरा–काठमाडौं धाउन पर्दैन ।'
जिल्ला अस्पतालमा सीओएमसी साइड स्थापनासँगै पहिलो पटक प्रसूति सेवा सञ्चालनमा आएपछि यसको सफल परीक्षण समेत भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन तिवारीले जानकारी दिए । मंगलबार सामान्य सुत्केरी व्यथाले चापेर प्रसूतिका लागि मुस्ताङ अस्पताल ल्याइएकी थासाङ–३ लेते कालोपानीकी २४ वर्षीया अनिता परियारको शल्यक्रियाबाट प्रसूति गराइएको अस्पतालले जनाएको छ ।
उनी शल्यक्रियामार्फत् बच्चा जन्माउने पहिलो महिला बनेकी छन् ।
शल्यक्रियाका लागि अस्पतालका एमडीजीपी डाक्टर कुन्दन कर्णको नेतृत्वमा डा. विशाल तिवारी,डा. राजिव सापकोटा ,स्टाप नर्स सुनिता श्रीमल,निता घर्ती र सहयोगी सनिलाल परियार समेतको टोली खटिएको थियो । उनीहरुले प्रसूति व्यथाले चापेकी महिलाको पेटबाट शल्यक्रिया गरेर २ केजी ८ सय ग्राम तौलको बच्चा बाहिर निकालेका थिए । अस्पतालले शल्यक्रियामार्फत प्रसूति गराइएको महिला र शिशुको अवस्था सामान्य रहेको जनाएको छ ।
यसअघि मुस्ताङ जिल्ला अस्पतालमा प्रसूति शल्यक्रिया सम्बन्धी सेवा नहुँदा महंगो खर्च गरेर पोखरा–काठमाडौं लैजानु्पर्ने बाध्यता थियो ।
कतिपय गर्भवतीले समयमा सेवा तथा उपचार पाउन नसक्दा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ।
जिल्लाभित्र शल्यक्रियाबाट सुत्केरी भएकी महिलाका श्रीमान मनिस परियार खुशी भएका छन् । 'मंगलबारदेखि श्रीमतीलाई व्यथाले च्याप्यो,कता लैजाने अलमलमा थिएँ ,उनले भने,'पोखरा लैजाउ कि म्याग्दीको बेनी लैजाउ भन्ने सोचमा थिए ,मुस्ताङ अस्पतालमै शल्यक्रिया सुविधा छ भन्ने सुनेँ ,त्यसपछि श्रीमतीलाई यहाँ ल्याएँ।'
उनले मुस्ताङमा पहिलो पटक सुरु भएको यसप्रकारको सेवा सुविधाले मुस्ताङी महिलालाई ठूलो राहत पु्याउने विश्वाश व्यक्त गरे ।
मुस्ताङमा पहिलो पटक शल्यक्रिया सफल भएपछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी उत्साहित भएका छन् । मुस्ताङ जिल्ला अस्पतालमा आवश्यक स्रोत साधन नहुँदा बिरामीले विभिन्न कठिनाई झेल्नुपर्ने अवस्था छ।