बलात्कारको आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख कारागार चलान
बैतडी : बलात्कारको आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख कारागार चलान भएका छन्। बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख राजेन्द्र नेगीलाई जिल्ला अदालत बैतडीले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार बलात्कारको आरोपमा साउन १ गते पक्राउ परेका निवर्तमान क्याम्पस प्रमुख नेगीलाई जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
कैलाली घर भइ पुर्चौडीमा मजदुरी गर्दै आएकी महिलाले गत असार २० गते पानी माग्ने निहुँमा आफूलाई नेगीले जबरजस्तीकरणी गरको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीको आधारमा निवर्तमान क्याम्पस प्रमुख नेगी साउन १ गते पक्राउ परेका थिए।
क्याम्पस प्रमुख पदको जिम्मेवारीमा रहेका नेगीले बलात्कारको आरोप लागेपछि असार २७ गते क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका थिए।