जनप्रतिनिधि नै अवैध माटो उत्खननमा संलग्न
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकाका जनप्रतिनिधिले अवैध रूपमा खोलाको माटो उत्खन्न गरेर बेच्ने गरेको पाइएको छ।
बुढीगंगा गाउँपालिका- ६ का वडाध्यक्ष दिलीप चौधरीले मोरङ-सुनसरीको सीमा भएर बग्ने बुढी खोलामा माटो उत्खन्न गरी बेच्ने गरेको पाइएको हो।
वर्षायामा गाउँपालिकामा जानकारी नगराई बुढीखोलाको डिल नै मास्ने गरी माटो उत्खनन् गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको छ।
केही दिनअघि १४ जना स्थानीयले उजुरी दिएपछि सो रहस्य बाहिर आएको हो। निर्माणधीन गछीया पुल जोगाउन भन्दै खोलाको माटो अवैध रूपमा स्काभेट लगाएर टिपर र हैवाले माटो बेच्ने गरेको उजुरीमा उल्लेख गरिएको छ।
वडाध्यक्ष चौधरीले वडामा निर्माणाधीन ऐलानपुर र सिगापुर टोल जोड्ने पुल जोगाउन नम्बरी जग्गाको माटो काटिएको जानकारी दिए। 'पहिला नै धेरै काटिएको थियो। पुल जोखिममा परेपछि माटो काटेर ठेकेदारले पुल जोगाउने काम गरे', उनले भने। उनले वडाकै एैलानपुर गाउँ स्थित रहेको पुल निर्माणकार्यको लागि आफूले खोलाबाट १ सय ५० टिपर माटो काट्न लगाएको बताए।
गत वर्ष गाउँपालिकाले बुढी खोलाबाट भरौट र माटो निकाल्न ८३ लाखमा ठेक्का दिएको थियो। यस वर्ष खोलाको ठेक्का नलागेको बेला वडाध्यक्षले माटाको कारोबार गर्ने मनोज चौधरीसँगको मिलोमतोमा अवैध रूपमा माटो काट्न लगाएको स्थानीय सुखदेव चौधरीले बताए।
उनका अनुसार पहिलादेखि नै वडाध्यक्षले माटोको कारोबार गर्दे आएका छन्। स्थानीयका अनुसार त्यहाँको झोलङ्गे पुल पनि जोखिममा परेको छ।
बुढीखोलामा डोजर लगाउँदा ठाउँठाउँमा गहिरो भंगालो बनाएको छ। नारायण माविको जग्गा लगायतका क्षेत्रमा खोला दोहन गरी माटो बेच्ने गरेकाले खोला उच्च जोखिममा परेको स्थानीय बताउँछन।
असारदेखि भदौसम्म नदीजन्य ठाउँ र वरपरबाट बालुवा माटो प्रशोधन गर्न नपाइने कानुनी व्यवस्था छ। स्थानीय तहले खोलाको प्राकृतिक बहावको दायाँबायाँ तीनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न नपाइने व्यवस्था छ।
गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले उजुरी आउना साथ प्रहरी लगाएर माटो काट्ने काम रोकेको बताए।