म अब ‘कविराम’ भएँ
दैलेख : होचो कद। सर्टमाथि हातैले बुनेको स्वीटर। त्यसमाथि कोट पाइन्ट। अनि शीरमा ढाका टोपी। खुट्टामा पुरानो च्यातिएको चप्पल। उनी हुन्, ६२ वर्षीय कविराम कामी। आइतबार यही पहिरनमा उनी जिल्ला प्रशासन कार्यालयमा आइपुगेका थिए। उनी निकै खुसी देखिन्थे। उनको मुहारमा बेग्लै चमक थियो। कारण थियो, उनले नयाँ नागरिकताको प्रतिलिपि पाउँदै थिए। नेपाली नागरिकतामा ‘कुकुर कामी’ उल्लेख भएका उनले आइतबार नयाँ नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। उनको नयाँ नागरिकतामा लेखिएको छ ‘कविराम कामी’।
साविक मेहेलतोली गाविस–६, हाल भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका कविरामले तत्कालिन श्री ५ को सरकार जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए। २०१७ पुस २५ गते जन्मिएका कविरामलाई तत्कालिन समयमा गाउँमा पुगेको नागरिकता टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता थमाएको थियो।
नागरिकतामा अपमानजनक नाम ‘कुकुर कामी’ लेखेको थाहा पाएपछि उनी पीडामा थिए। सच्याउन प्रयास पनि नगरेका होइनन्। तर, उनको कुरा कसैले सुनेनन्। अन्नपूर्ण पोस्ट्ले साउन १७ गते ‘नागरिकतामा अपहेलित नाम’ शीर्षकमा विशेष समाचार प्रकाशन गरेपछि उनको मुस्कुराउने दिन सुरु भएको हो। साउन २३ गते गृह मन्त्रालयले त्यस्ता नाम सच्याउन ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेसँगै उनले नाम सच्याउन साउन २४ गते नै निवेदन दिएका थिए। ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले सबै प्रक्रिया सकेर नयाँ नागरिकता प्रदान गरेको होे।
‘अब म कविराम भएँ’, सच्चा नाम पाएका उनले खुसी साट्दै भने। गाउँ समाजमा भोग्दै आएको अवहेलना र परिवारबाटै भोगेको हेलाँ अब अन्त्य भएको उनले बताए। ‘त्यतिबेला नागरिकता पाएपछि गाउँ समाजमा सहज हिंड्डुल गर्न अप्ठेरो लाग्थ्यो। कसैले कुकुर भनेर बोलाई पो हाल्ने हो कि भन्ने मनमा डर हुन्थ्यो’, उनले भने, ‘अब शीर ठाडो पारेर हिड्न सक्छु।’ नागरिकतामा कुकुर कामी नाम भएकै कारण छोराछोरी र परिवारले भोगेको विभेद पनि अब अन्त्य हुने कविरामको विश्वास छ। आफ्नै नामको नागरिकता पाउन पनि ३३ वर्ष पर्खिनु परेको बताउँदै कविरामले भने, ‘आजै जन्मिएको महसुस भइरहेको छ।’
दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले सबै प्रक्रिया पुर्याएर नयाँ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जारी गरिएको बताए। ‘हामीले तत्कालीन समयमा नेपाली नागरिकतामा कुकुर कामी नाम लेखिएका कविराम कामीलाई नयाँ नागरिकता दिएका छौं। अब कविरामकी पत्नी र छोराछोरीको पनि नागरिकता सच्चाउने प्रक्रिया सुरु हुन्छ।’ उनले कविरामको जग्गाधनी लालपूर्जा र मतदाता नामावली समेत सच्चाउने प्रक्रिया अघि बढाइने बताए।
नामकै कारण पढाइ छाड्नु परेको पीडा
नेपाली नागरिकतामा अपमानजनक नाम हुने अर्का पात्र हुन्, कर्णबहादुर विक। साविक कट्टी गाविस–६, हाल भगवतीमाई गाउँपालिका–५ का उनको नाम नै कर्णबहादुर हो। तर, नेपाली नागरिकतामा उनको नाम ठगे कामी लेखिएको थियो। २०३५ पुस १० गते जन्मिएका उनले २०५६ चैत्र २० गते जिल्ला प्रशासन कार्यालयबाटै नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बंशजको आधारमा जारी गरेको नागरिकतामा उनको नाम ‘ठगे कामी’ लेखिएको थियो।
‘मेरो बुबाको नाम गजवीरे कामी हो। तत्कालीन समयमा प्रशासनमा बुबाको नाममा ढड्डा रहेछ। त्यसमा मेरो नाम ठगे कामी लेखिएको रहेछ। त्यो पनि गाउँकै ठूलाबडाले राखिदिएका रे। जिल्ला प्रशासनमा नागरिकता लिन आउँदा कर्मचारीले कुन चाहिँ छोरा हो भनेर सोधे। मैले म साइलो छोरा हुँ भनें। मैले आफ्नो नाम कर्णबहादुर विकको नागरिकता पाउनुपर्छ भनेर दाबी गरें। तर, लिने भए ठगे कामी भनेर नागरिकता दिन्छौ नत्र हुँदैन भनेर मलाई ठगे कामी नाम राखेर नागरिकता दिइयो’, उनले भने।
नागरिकता लिँदा गाउँकै स्कुलमा कक्षा ५ मा अध्ययनरत उनले नागरिकतामा ठगे कामी नाम भएकै कारण पढाइ छोड्नु पर्यो। ‘स्कुलमा साथीभाइहरूले जिस्क्याउन थालेपछि पढाइ नै छोड्नुपर्यो’, उनले भने। अहिले आफ्नो नामकै कारण छोराछोरीलाई पनि समस्या पर्न थालेको उनले बताए। उनका चार छोरी र एक छोरा छन्। नेपाली नागरिकतामा ‘ठगे कामी’ नाम उल्लेख गरिएका कर्णबहादुर विकलाई जिल्ला प्रशासनले आइतबार नयाँ नागरिकता प्रदान गरेको छ। गृहको परिपत्रपछि उनले साउन २९ गते प्रशासनमा निवेदन दिएका थिए। नयाँ नागरिकता पाएपछि उनले खुसी प्रकट गरे। ‘उ बेला पाएको नागरिकताले आफ्नै पढाइ छुट्यो। त्यसयता नागरिकताकै कारण अपमानित महसुस हुन्थ्यो। अहिले छोराछोरी ठूला भएँ उनीहरू पनि समस्यामा पर्न थालेका थिए। अब आफ्नै नामको नागरिकता पाएँ। अब सजिलो होला’, उनले भने।
अब छोराछोरीलाई बुबाको नाम भन्न लाज मान्नुपर्ने अवस्थाको अन्त्य हुने कर्णबहादुरले बताए। प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्ला प्रशासनले नेपाली नागरिकतामा अपमानजनक नाम लेखिएका व्यक्तिहरूको नाम सच्चाएर नयाँ नागरिकता जारी गर्ने प्रक्रिया सुरु भएको बताए। ‘हामीले आवश्यक प्रक्रिया सकेर दुई जनालाई नयाँ नागरिकताको प्रमाणपत्र दिएका छौं’, उनले भने, ‘नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरूलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छौं।’