मुस्ताङका बगैचामा लटरम्म स्याउ
जोमसोम : स्याउ उत्पादनले प्रसिद्ध मानिएको मुस्ताङमा अहिले लटरम्म स्याउ फलेको देख्न सकिन्छ ।
बगैचामा फलेका स्याउका दृष्यले मुस्ताङ भ्रमण गर्ने पर्यटक मोहित हुने गरेका छन् । कृषि र पर्यटन प्रर्वद्धनमा मुस्ताङको स्याउले महत्वपूर्ण योगदान दिएको पाइन्छ । स्याउ उत्पादनले मुस्ताङको आर्थिक अवस्थालाई समेत माथि उकास्न सहयोग पुर्याउने गरेको छ ।
मुस्ताङको स्याउ भदौदेखि कार्तिक महिनासम्म बोटमै रहन्छ । कार्तिकपछि भने यहाँका स्याउ बगैचा उजाड हुन्छन् ।
भदौ सुरु भएसँगै मुस्ताङमा पर्यटकको उपस्थिति बाक्लिन थालेको छ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले जिल्लाका विभिन्न स्थानको स्याउ बगैचा अवलोकन गर्छन् भने स्याउका बगैचामा तस्बिर समेत खिच्छन्,टिकटक बनाउँछन् ।
समुन्द्री सतहदेखि करिब २५ सय मिटर अग्लो उचाई भन्दा माथि स्याउ खेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुनेगर्छ । सहर/बजारका स्याउ पारखीहरु मुस्ताङको स्याउ भन्ने विक्तिकै हुरुक्कै हुने गर्छन् ।
मुस्ताङमा उत्पादित पृथक ब्रान्ड बनिसकेको स्याउले बजारको माग थेग्न समेत मुश्किल पर्ने गर्छ । यसैले बजारमा मुस्ताङको नाम बेचेर अन्य स्थानमा फलेका स्याउ समेत व्यापारीले बिक्री वितरण गर्ने गरेको पाइन्छ । केही वर्ष अघि मुस्ताङका स्याउ बगैचामा राम्ररी फल नपाक्दै व्यापारीले बजार पुर्याउने परिपाटीले मुस्ताङको स्याउमा गुणस्तर खस्किएको भन्दै उपभोक्ताले प्रश्न उठाउने गरेका थिए ।
स्याउको ब्रान्ड कायम राख्न पछिल्लो समय स्याउ जोन,कृषि ज्ञान केन्द्र र जिसस मुस्ताङले स्याउ किसानलाई बगैचाबाट स्याउ टिप्न पाउने निश्चित कार्यतालिका तोक्दै आएको छ । यस वर्ष पनि भदौ २५ सम्म उच्चघनत्व प्रविधिमा आधारित गाला र किङरुट जातको स्याउ मात्र टिप्न पाइने र अन्य जातका स्याउ भदौ २५ गतेपछि मात्र टिप्न पाइने नियम राखिएको छ ।
अहिले मुस्ताङमा धमाधम उच्च घनत्व प्रविधिमा आधारित गाला जातको स्याउ टिप्न सुरु गरिएको छ ।
मुस्ताङका ५ वटै स्थानीय तहमा स्याउ खेती विस्तार भइसकेको छ । गत वर्ष जिल्लामा १५ सय ४० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएकोमा यसवर्ष थप ३५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार चालु वर्ष मुस्ताङमा कुल १५ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको मध्ये ३८ हेक्टर जमिनमा उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको हो । परम्परागत स्याउले फल दिन दशौं वर्ष लाग्ने र उच्च घनत्वको स्याउ बिरुवाले लगाएको पहिलो वर्षमै फल दिने भएकाले मुस्ताङका किसानमा उच्च घनत्वको स्याउ खेतीतर्फ आर्कषण बढ्दै गइरहेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे ।
२०७२ सालमा मनाङमा मनाङ एग्रो फार्मले उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती भित्र्याएपछि २०७४/०७५ सालदेखि यो प्रविधि मुस्ताङमा भित्रिएको हो । मुस्ताङमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती सफल हुँदै गइरहेको छ ।
मुस्ताङमा १५३७ हेक्टर जमिनमा परम्परागत रैथाने स्याउ विस्तार भएको छ । जिल्लामा खेर गइरहेको बाँझो जग्गा र बगरमा पछिल्लो समय सामूहिक र व्यक्तिगत रुपमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ ।मुस्ताङमा अहिले उच्च घनत्व प्रविधिमा आधारित गाला,फुजी,किङरुट,गोल्डेन डेलिसियस र जोना प्रिन्स गरी ५ जातका स्याउ विरुवा रोपण भएको कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ ।
गण्डकी प्रदेश सरकारले मुस्ताङमा अहिलेसम्म इटालीबाट आयात गरिएको ९८५०० थान उच्चघनत्व प्रविधिमा आधारित स्याउ बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरिसकेको छ । यस्तै,स्याउ जोन मुस्ताङले पनि १८५०० थान उच्च घनत्वको स्याउ विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिसकेको छ ।
मुस्ताङमा रैथाने जातका ३ दर्जन प्रजाती स्याउ मध्ये रेडडेलिसियस,रोयल डेलिसियस,रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ लगाइएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२ का वडाध्यक्ष एवं स्थानीय स्याउ किसान मानबहादुर हिराचनले यसवर्ष स्याउ उत्पादन वृद्धि हुने अनुमान गरे ।
यसवर्ष वर्षा कम भएकाले स्याउमा लाग्ने रोग संक्रमण नदेखिएकाले उत्पादन वृद्धि हुने दावी गरे । ‘यसवर्ष स्याउ उत्पादनदर वृद्धि हुने अपेक्षा गरेका छौं,मौसम पनि सन्तुलित रह्यो,उनले भने,बगैचामा स्याउ पाकिसेको छ, तर जिल्लामा स्याउ टिप्ने कार्यतालिका बनाइएकाले स्याउ बिक्री नहुने होकी भन्ने चिन्ता छ ।’
उनले मुस्ताङको स्याउ हरितालिका तीज पर्व,दसैं र तिहारको समयमा बिक्री हुने भएकाले सो समयमा स्याउ बिक्री नभएमा कृषक मारमा पर्नसक्ने उल्लेख गरे । जिल्लामा स्याउ भण्डार गर्ने पर्याप्त कोल्ड स्टोर नभएकाले स्याउ बिक्री नहुँदा किसान मर्कामा पर्नसक्ने उनको भनाइ छ ।
मुस्ताङमा चालु वर्ष १५ प्रतिशत स्याउ उत्पादन वृद्धि हुने कृषि ज्ञानकेन्द्र मुस्ताङले प्रारम्भिक अनुमान गरेको छ । केन्द्रका अनुसार स्याउ उत्पादनको क्षेत्र वृद्धि हुँदै गइरहेको र यसवर्ष मौसम अनुकूलित रहेकाले स्याउ उत्पादन वृद्धि हुने सम्भावना रहेको केन्द्रले जनाएको छ ।
मुस्ताङका ५ वटै स्थानीय तह गरी कुल ५८० हेक्टर जमिनमा लगाइएको स्याउले उत्पादन दिने गरेको जनाइएको छ ।
मुस्ताङमा स्याउ खरिद गर्न जिल्ला बाहिरका व्यापारीहरु भदौ लागेपछि मुस्ताङ आउने गर्छन् ।मुस्ताङमा झन्डै ८० प्रतिशत स्याउ व्यापारीहरुले पोखरा–काठमाडडौं पुर्याउने गर्छन् भने बाँकी स्याउ जिल्लामा खपत हुन्छ । मुस्ताङ आउने पर्यटकले कोशेलीको रुपमा स्याउ खरिद गर्छन् ।
यस्तै,बगैचामा खेर गएका र कमसल स्याउहरुको ब्रान्डी,जुस,जाम,सुकुटी आदी बनाउँछन् । मुस्ताङमा स्याउको ब्रान्डी बनाउने ६ वटा डिस्टिलरी सञ्चालनमा छ ।