विराटनगर सुपर किङ्सले टेस्ट राष्ट्रका खेलाडी भित्र्याउने
विराटनगर : नेपालमा पहिलोपटक हुने टी-२० फ्रेन्चाइज लिगमा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ। आउँदो सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म काठमाडौंमा हुने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागिता जनाउने भएको हो।
प्रतियोगिता क्रिकेटको सर्वोच्च निकाय आइसीसीद्वारा मान्यता प्राप्त हो। देशभरिका ६ वटा टिमले यो प्रतियोगितामा भाग लिनेछन्। भारत, नेपाल, अमेरिका र युकेका व्यापारीहरु ६ टिमको मालिक रहेका छन्।
विराटनगर सुपर किङ्सको मालिक भारतका युवा व्यापारी विक्रम यादव रहेका छन्। यादवले विराटनगर सुपर किङ्सको लागि खेलाडीहरू छनौट गर्न लागि परेका छन्।
प्रतियोगितामा विराटनगर सुपर किङ्समा टेस्ट खेल्ने राष्ट्रको खेलाडी भित्र्याउने तयारीमा रहेका छन्। सुपर किङ्स टिममा विराटनगरबाट पनि खेलाडी छनौट गर्ने भएको यादवले बताए।
‘खेलाडी छनौट गर्नको लागि चाँडै विराटनगरमा ट्यालेन्ट हन्टको पनि आयोजना गर्दैछु,’ उनले भने, ‘यस ट्यालेन्ट हन्टबाट २-३ जना खेलाडी टिममा राख्नेछु। त्यसपछि उत्कृष्ट हुने खेलाडीहरूलाई पनि भारतको हरियाणमा रहेको एकाडेमीमा निःशुल्क प्रशिक्षण दिने व्यवस्था गर्नेछु।’
आफूले सुपर किङ्सको जिम्मा लिएसँगै विराटनगरको क्रिकेटको विकासमा लागि पर्ने यादवले बताए। ‘सुपर किङ्सको जिम्मा लिएपछि मेरा दायित्व पनि बढेको छ। यहाँको क्रिकेट क्षेत्र विकास गरेर अगाडि बढाउनेछु,’ उनले भने, ‘यहाँ आठ वर्ष रहनेछु। आफूले सक्दो रूपमा यहाँको क्रिकेट क्षेत्रका विकासमा ध्यान दिनेछु।’
यादव विराटनगर सुपर किङ्सको लागि क्यानसँग आठ वर्षको लागि सम्झौता गरेको छ।
यादवले सुपर किङ्सको जिम्मा लिएसँगै उनले विराटनगर १९ मा रहेको बैजनाथपुर क्रिकेट मैदानको निरीक्षण समेत गरेको छन्। प्रतियोगितामा ५ जना अनिवार्यरूपमा अन्तर्राष्ट्रिय र बाँकी रहेको ६ जना खेलाडी स्वदेशका राख्नुपर्ने नियम रहेको छ।