दाम्लोले धानेको जीवन
विराटनगर : नेपालमा रोजगारीको प्रचुर सम्भावना रहेपनि लाखौ खर्चेर विदेशिने युवाको संख्या दिनानुदिन बढ्दैछ।
तर स्वदेशमै व्यवसाय गरेर राम्रो कमाउने सकिने उदाहरण बनेका छन्, मोरङस्थित टेकुवाका बासिन्दाहरू। सुनवर्सी नगरपालिका- ५ का बासिन्दाले दाम्लो बनाउने पेसालाई आत्मसाथ गरेर जीविकोपार्जन गर्दै आएका छन्।
पुस्तौदेखि आत्मसाथ गरेको दाम्लो बनाउने पेसाले खुसीयालीका साथ बाच्न सिकाएको स्थानीय रमेश दास बताउँछन्।
मोरङको टकुवा-५ का ७० वर्षीय रमेशले दाम्लोबाट व्यवसाय सुरु गरे। उनी अहिले ५० वर्ष पुगिसकेका छन्। उनलाई आजभोलि दाम्लोको बन्दी बनेको जस्तो लाग्न थालेको छ। जीवनभर यो व्यवसाय नछुट्ने उनले बताए।
उनी टकुवा-५ बाट दाम्लो बेच्न करिब ३० किलोमिटर टाढा विराटनगर आउने गरेका छन्। पहिले उनी हप्तामा तीन खेपसम्म दाम्लो लिएर आउँथे। उनी हिजोआज हप्ताको एक पटक वा कहिलेकाहीं दुईदेखि तीन हप्तामा एक पटक आउन थालेका छन्।
उनी भन्छन, 'अहिले विराटनगरमा गाईवस्तु पहिलाजस्तो पाल्दैनन्। त्यसैले दाम्लो त्यति बिक्दैन।' विराटनगरमा सहरिया प्रवृत्ति बढ्दै गएको छ र दूधका लागि वस्तुभाउ पाल्नुभन्दा डेरी नै सहरियाहरूका लागि सजिलो भएको छ।'
अरु काममा आउँदा दाम्लो लिएरै आउने गरेको उनले सुनाए। फर्किँदा कहिलेकाहीं पसलहरूलाई नै दिएर जाने गरेको उनले बताए। 'विराटनगर बजारमै दाम्लो पाइन थालेपछि हाम्रोको व्यापार घटेको छ', उनले भने, 'विराटनगरमा दाम्लो नबिकेपछि गाउँमा बेच्ने गरेको छु।'
उनी प्रायः घुम्ती व्यापारमै हुन्छन्। उनी आफ्नो व्यापारका लागि झापा र सुनसरीका केही गाउँ पनि पुग्छन्। एउटा दाम्लोलाई चालिस-पचास रुपैयाँ पर्छ। दिनको १० वटासम्म दाम्लो बेच्न पाए उनी निकै खुसी हुन्छन्।
उनले भने, 'दसवटा बेच्ने झोंकमा कहिलेकहीं परेको मोलमै पनि बेचिदिन्छु।' उनले मुखारी (वस्तुभाउको मुख बाँध्ने) र गर्दामी पनि बेच्ने गर्छन्। यी सामग्री तिहारमा अलि बढी बिक्छ। त्यति बेला भ्याइनभ्याई हुन्छ। उनलाई गाउँतिर बोलाउँछन्।
कहिलेकाही उनी भारतीय सीमावर्ती गाउँ पनि पुग्छन्।तर व्यापार राम्रो चल्दैन। दाम्लो बेच्न रमेश एक्लै निस्कन्छन्। यसको तयारीमा भने उनका परिवारका सदस्यले पनि सघाउँछन्।
उनी भन्छन्, 'आखिर उनीहरूको गुजाराको आधार पनि त दाम्लो नै हो नि।' आजकल दाम्लो बुन्ने कच्चापदार्थको पनि अभाव हुन थालेको छ। खासमा यो जुट (सनपाट) बाट बुन्ने हो तर जुट नपाएको अवस्थामा लैलुनबाट पनि काम चलाउँछन्।
'लैलुनको त काम चलाउ मात्रै हो। मानिसहरूले जुटकै खोज्छन्', उनले थपे। उनले मासिक १५ देखि २० हजारसम्म कमाउने गरेको बताउछन्।
त्यहाँकै ५५ वर्षीय सत्यनारायण दासले पनि दाम्लो बेचेरै परिवार चलाउने गरेको बताउछन्। २० वर्षदेखि यो पेसा गर्दै आएको उनले बताए।
मेहनत गरे अनुसार मासिक २० हजारसम्म कमाउन सकिने उनले बताए। उनीहरूले अहिले झुल बनाउने फ्याक्ट्रीबाट एक सय ६० रुपैयाँमा एक किलो डोरी किनेर ल्याउने गरेका छन्। एक किलोबाट उनी ७ वटासम्म दाम्लो बनाउने गरेका छन्।