मुस्ताङका तीन पालिकामा स्थानीय भोट भाषा शिक्षा

मुस्ताङका तीन पालिकामा स्थानीय भोट भाषा शिक्षा

जोमसोम : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङका तीन पालिकाका सामुदायिक विद्यालयहरूमा स्थानीय भोट भाषा शिक्षा लागू भएको छ। 

मुस्ताङको लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि सामुदायिक विद्यालयमा स्थानीय भाषाको कक्षा सञ्चालन गरेका छन्। 

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले भने स्थानीय भाषा शिक्षा सञ्चालन नगरेपनि स्थानीय भाषा शिक्षालाई मान्यता दिएको छ। 

गाउँपालिकामा अमेरिकन हिमालयन फाउन्डेसनअन्तर्गत जिग्मे फाउन्डेसनले विगत १५ वर्षदेखि स्थानीय भाषा शिक्षा संरक्षणमा योगदान दिँदै आइरहेको छ।

मुस्ताङको वारागुङ मुक्ति क्षेत्रले चालु वर्षका लागि स्थानीय भाषाको पठनपाठन सञ्चालन गर्न १६ लाख २५ हजार बजेट विनियोजन गरेको छ। 

वारागुङका शिक्षा प्राविधिक सहायक रेखा पन्तका अनुसार पालिकाले चालु वर्षमा दुई सामुदायिक र एक गुम्बा विद्यालयमा मासिक २५ हजार तलब दिने गरी स्थानीय भाषा शिक्षक करारमा नियुक्त गरेको छ। 

यसका अतिरिक्त पालिकाले स्थानीय भाषा शिक्षकलाई थप एक महिनाको बोनस दिने गरेको प्रास पन्तलेउले बताइन्।  

'स्थानीय लोपोन्मुख भाषा संरक्षण गर्ने अधिकार पालिकालाई छ। यसैले गुम्बाका लामाहरू र स्थानीय भाषा विद्सँग समन्वय गरी पाठ्यक्रम निर्माण गरेका थियौं', उनले भनिन्, 'गत वर्ष चार सामुदायिक विद्यालयमा भाषा शिक्षा कार्यान्वयनमा ल्याएका थियौं। यसवर्ष एक गुम्बा विद्यालय पनि थपिएको छ।'

मुक्तिक्षेत्रले छुसाङको जननर्मल मावि, कागबेनीको जनशान्ति मावि, लुप्राको लुप्रा आवि, झारकोटको मुक्तिनाथ आवि र कागछोदे गुम्बामा भाषा शिक्षाको पठनपाठन हुने गरेको प्रास पन्तले बताइन्।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पालिकाको तीन वटा सामुदायिक विद्यालयमा स्थानीय भोट भाषाको शिक्षा कार्यान्वयनमा ल्याएको जनाइएको छ। 

लोमान्थाङले स्थानीय भाषा शिक्षकलाई मासिक २५ हजार तलब दिने गरी करारमा स्थानीय भाषा शिक्षक नियूक्ती गरेको पालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए। 

उनका अनुसार लोमान्थाङले लोमान्थाङको राष्ट्रिय आधारभूत विद्यालय, साविक छोनुप गाविसको झिन्जु आधारभूत विद्यालय र छोसेरको दिव्य दीप माविमा भाषा शिक्षा लागू गरेको हो। 

लोमान्थाङले स्थानीय भाषा शिक्षाका लागि पाठ्यक्रम निर्माण नगरेको र गुम्बा विद्यालयसँग सहकार्य गरी त्यहाँका पाठ्यक्रमलाई मान्यता दिदै भाषा शिक्षा कार्यान्वयमा ल्याएको प्रशासन प्रमुख केशीले उल्लेख गरे।

उपल्लो मुस्ताङको लोघेरक दामोदरकुण्ड गाउँपालिकामा भाषा शिक्षाका लागि पालिकाले बजेट विनियोजन गरेको छैन। सो पालिकामा जिग्मे फाउन्डेसनले स्थानीय भाषा शिक्षकको व्यवस्थापन गरी पठनपाठन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। 

उनका अनुसार फाउन्डेसनले घमी आधारभूत विद्यालय, जनज्योति आधारभूत र ढाक्मर आधारभूत विद्यालयमा स्थानीय भोट भाषाको कक्षा सञ्चालन गर्न शिक्षकको व्यवस्था मिलाएको हो।

यसअघि फाउन्डेसनले चराङ आधारभूत र किम्लिङ आधारभूत विद्यालय लगायतमा भाषा शिक्षकको व्यवस्था मिलाएकोमा अहिले सो कोटा हटाएको छ। 

तर, फाउन्डेसनले लोमान्थाङको दिव्यदीप मावि छोसेरमा आधारभूत तहमा भाषा शिक्षकको कोटा यथावत राखी पठन/पाठनलाई निरन्तरता दिएको छ।  

गाउँपालिका अध्यक्ष बिष्टले पछिल्लो समय स्थानीय भाषा लोप हुने खतरा बढेको र स्थानीय भाषालाई पुस्तान्तरणसम्म जोगाएर राख्न सामुदायिक विद्यालयमा भाषा शिक्षा अनिवार्य गराइएको उल्लेख गरे। 

उनले सविधानले भाषिक अधिकार संरक्षणका लागि सुनिश्चिता प्रदान गरेको र यसले हिमाल सभ्यता  र संस्कृतिलाई जीवन्त राख्न योगदान पु‍र्‍याउने दावी गरे।

विद्यालयमा स्थानीय भाषा संरक्षण गर्न भोट भाषाको शिक्षा अनिवार्य गराइएको हो। 

मुलुक संघीय प्रणालीमा रूपान्तरण भएसँगै भाषा, संस्कृति उत्थान र विकासमा संविधानले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेकाले सम्बन्धित क्षेत्रका जनजातिले माग गरेमा भाषा शिक्षा कार्यान्वयन गर्न पाउने अधिकार स्थानीय तहलाई छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.