रंग भरौं रंगशालामा

रंग भरौं रंगशालामा

नेपालमा ठूला परियोजना सुरु हुनुअघि निकै ठूलो प्रचार हुन्छ, तामझाम पनि ठूलै हुन्छ। त्यसपछि सुरु हुनै समय लाग्छ। सुरु भइहाले सकिन वर्षाैं लाग्छ। यही प्रवृत्तिको सिकार भरतपुर महानगरपालिका–१५ शान्तिचोकमा निर्माण थालिएको रंगशाला पनि भएको छ। त्यसो त कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले क्रिकेट रंगशाला निर्माणको अभियान थाल्दै गर्दा जति चर्चा भयो, उत्तिकै विवाद पनि। धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने भनेपछि वाहवाही पनि भयो। मनकारीहरूले पैसा दानको घोषणा पनि भकाभक गरे। कतिले हातहातै पनि सहयोग गरे। कतिले उधारो राखे।

अर्काेतिर कलाकारको काम कला प्रदर्शन गर्ने कि भौतिक पूर्वाधार निर्माण गर्ने हो भनेर त्यति बेलै प्रश्न उठेको थियो। आलोचना भएको थियो। टिप्पणी भएको थियो— धुर्मुस सुन्तलीले रंगशाला बनाउनै सक्दैनन्। उनीहरू नजाने गाउँको बाटोतिर लागे, गर्नै नसक्ने काम आँटे। यस्ता पूर्वाधार सरकारले पो बनाउने हो त भनेर उनीहरूको उछितो पनि काढियो– अब नाटक चल्न छोड्यो अनि रंगशाला बनाउन लागे। आलोचना र टिप्पणीभन्दा बेसी प्रशंसै भएकाले धुर्मुस सुन्तली हौसिए र रंगशाला बनाउन सुरु गरिहाले। उनीहरूको योजना साकार भएको भए आज चितवनको भरतपुरमा क्रिकेटका धेरै खेल भइरहेका हुन्थे। कमलको फूल आकारको रंगशालामा एकैपटक ३० हजार दर्शकले क्रिकेटको मज्जा लिन पाउँथे।

त्यो सपना, त्यो परिकल्पना अर्थात् त्यो परियोजना अहिले अलपत्र छ। कतिपय पिलर ठडिएका छन् तर कतिपय पिलरका रड भुइँमा पिलरका लतारिएका छन्। रडमा खिया जमेको छ। प्रस्तावित मैदान घाँसे मैदान भएको छ। झाडीले त्यहाँ राज जो गरेको छ। प्यारापिटका लागि ठडिएका पिलरका रडमा खिया लागेको छ। एकातिर खेल क्षेत्र उत्साहित थियो, अर्कातिर स्थानीय। विकासको अपेक्षा जो स्थानीयले गरेका थिए। तर अहिले फाउन्डेसनको स्वतन्त्र लेखा परीक्षणले यो परियोजनामा १८ करोड ४३ लाख रुपैयाँ ऋण देखाएको छ। न पहिला घोषणा गरेका दाता सबैले पैसा दिए न अरू कसैले। रंगशाला निर्माण पूरा हुनु त पर फाउन्डेसनसँग लागेको ऋण तिर्ने ल्याकत पनि भएन। फाउन्डेसनले रंगशाला बनाउने भनेपछि भरतपुर महानगरपालिकाले २० बिघा जमिन उपलब्ध गरायो, तर रंगशाला पूरा गर्न आवश्यक बजेट हाल्न सकेन। स्वामित्व ग्रहण गर्न उसलाई अहिले त्यही अप्ठेरो छ। ऋणको भारी कसरी बोक्ने ? कुन स्रोत जुटाएर त्यति ठूलो परियोजना पूरा गर्ने ?

शिलान्यास भएको दुई वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गर्ने भनिएको परियोजना तीन वर्ष हुन लाग्दा पनि नबन्नु दुःखद् हो। यसमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन अघि सरेको धुर्मुस–सुन्तली फाउन्डेसनले स्रोतको सुनिश्चितता गर्न नसक्नु एउटा कमजोरी रह्यो। तर, अब दोष फाउन्डेसनलाई थोपरेर रंगशाला बन्दैन। अधुरो यो काम पूरा हुँदैन। वास्तवमा त्यति ठूलो परियोजनामा संघ सरकारकै संलग्नता हुनुपथ्र्याे। पहल कदमी लिने धुर्मुस–सुन्तलीलाई धन्यवाद दिँदै त्यसको स्वामित्व सरकारले नै लिन जरुरी छ। बाँकी काम पूरा गरी रंगशालालाई मूर्तरूप दिने अभिभारा सरकारकै हो। भरतपुर महानगरले त सकेन भने अब रंगशाला निर्माण क्रममा लागेको ऋण तिर्दै बाँकी काम पूरा गर्नु फाउन्डेसनका लागि महाभारतै हुन्छ। संघीय सरकारका लागि भने खास ठूलो कुरा होइन।

काठमाडौंको मूलपानीमा निर्माण गर्ने भनेको क्रिकेट रंगशाला पनि संघ मातहतै छ र अलपत्र छ। तर, चितवनको गौतम बुद्ध रंगशालालाई अरू झन्झट हैन, केवल रकम अभाव हो। इच्छाशक्ति भए संघ सरकारका लागि चितवन रंगशाला निर्माण पूरा गर्न कुनै ठूलो कुरा होइन। बागमती प्रदेश सरकार पनि रंगशाला निर्माण पूरा गर्न सहभागी बन्न सक्छ। स्थानीय, प्रदेश र संघले हातेमालो गरेरै रंगशाला बनाउन सक्छन्। निचोड के हो भने अलपत्र रंगशालामा रंग भर्न कतैबाट पनि कसर बाँकी राखिनु हुँदैन। त्यसलाई रंग हराएको रंगशालाकै रूपमा अलपत्र छाड्नु हुन्न। यसमा जतिसक्दो चाँडो रंग भर्नुको विकल्प छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.