‘वाह अलैंची’ अभियान

‘वाह अलैंची’ अभियान

झापा : नेपालको कृषिजन्य उत्पादन अलैंचीको आन्तरिक खपतका विषयमा देशव्यापी अभियान सुरु भएको छ। नेपाल अलैंची व्यवसायी महासंघले ‘वाह अलैंची’ अभियान घोषणा गरेपछि यसको आन्तरिक खपतका विषयमा देशव्यापी रुपमा अभियान थालेको हो।

महासंघले साताअघि कृषि विकास मन्त्रालय र स्वीस सरकारको सहज परियोजनाको सहयोगमा ‘वाह अलैंची’ अभियान घोषणा गरेको थियो। विश्व बजारमा अलैंचीको माग उच्च भइरहेका बेला महासंघले ‘स्वाद अलैंचीको मिठास नेपालको’ भन्ने नारासहित वाह अलैंची अभियान सुरु गरिएको जनाएको छ। अलैंची अभियान प्रवर्द्धनका लागि महासंघले मास्टर सेफ सन्तोष साहलाई ‘ब्राण्ड एम्वासडर’ तोकेको छ। उनले अलैंचीको प्रयोग बढाउन खाना प्रतियोगितालगायतका कार्यक्रम पनि चलाइरहेका छन्। परम्परागत नेपाली खानाका परिकारमा अलैंचीको प्रयोगबारे खोजी सुरु गरिएको छ।

अभियान घोषणापछि विभिन्न जिल्लामा यो सञ्चालन भइरहेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए। ‘अलैंचीको आन्तरिक खपत कसरी बढाउने भन्नेमा हाम्रो क्याम्पियन केन्द्रित छ’, अध्यक्ष भट्टराईले भने, ‘भारतमा मात्रै अलैंची निर्यात गर्दा यसको प्रवर्द्धन सम्भव छैन।’ खोल्साको कालो सुनको उपमा पाएको अलैंचीको भाउ अहिले प्रतिमन ३२ हजार रुपैयाँ छ। घट्दो मूल्यले किसान र व्यवसायी चिन्तित भइरहेका बेला वाह अलैंची प्रवर्द्धन अभियान चलाइएको हो।

अध्यक्ष भट्टराईका अनुसार उत्पादित अलैंचीको आन्तरिक खपत पाँच प्रतिशतको हाराहारीमा मात्रै छ। नेपालमा पाँच हजार दुई सय मेट्रिक टनको हाराहारीमा अलैंची उत्पादन हुन्छ। प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना आन्तरिक खपत बढाउन सके अलैंची किसानले राम्रो लाभ लिन सक्ने बताउँछन्। ‘पहिले आफूले प्रयोग गर्नुपर्छ अनि मात्रै अरुलाई भन्न सकिन्छ’, अलैंची प्रवर्द्धन अभियानको क्याम्पियनमा कृषि सचिव तिम्सिनाले भने, ‘प्रदेशको पहिलो निर्यातजन्य प्रतिस्पर्धी बाली भनेकै अलैंची हो। यसको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले निश्चित बजेट बिनियोजन गर्दै आएको छ।’

वाह अलैंची अभियानका ब्राण्ड एम्वासडर मास्टर सेफ साह नेपालमा अलैंचीको आन्तरिक खपत बढाउन सकिनेमा विश्वस्त छन्। साहले हरेक घरको भान्सामा दैनिक अलैंची प्रयोग गर्न सकिने उपाय सुझाएका छन्। ‘नेपाली ६० प्रकारका परिकारमा अलैंची प्रयोग गर्न सकिने पहिचान गरेका छौं’, मास्टर सेफ साहले भने, ‘अहिले आधा मात्रैमा प्रयोग भयो भने पनि अलैंचीको आन्तरिक खपत ह्वात्तै बढेर जान्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.