मुस्ताङमा लटरम्म स्याउ (तस्बिरसहित)
जोमसोम : हिमालपारिको जिल्ला मुस्ताङका फाँटमा लटरम्म स्याउ फलेका छन्। पाकेर राताम्मे स्याउका दानाले हाँगा नुहिएर भुइँसम्मै पुगेको छ। स्याउले भरिभराउ बगैंचाले यहाँ आउने पर्यटकलाई मोहित बनाएको छ। भदौ लागेसँगै मुस्ताङमा पर्यटकको उपस्थिति बाक्लिन थालेको छ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले विभिन्न स्थानको स्याउ बगैंचा अवलोकन गर्छन्। फोटो खिच्छन्। टिकटक बनाउँछन्। दैनिक सयभन्दा बढी पर्यटक स्याउ बगैंचामा फोटो खिच्न आउने गरेको घरपझोङ–२ का वडाध्यक्ष तथा किसान मानबहादुर हिराचनले बताए। ‘यसवर्ष फल पनि राम्रो छ,’ उनले भने, ‘गाउँमा छुट्टै रौनक छ।’
समुद्री सतहदेखि २ हजार ५ सय मिटरभन्दा माथिको उचाइमा स्याउ खेती गरिन्छ। चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ। सहर, बजारका स्याउ पारखी मुस्ताङको स्याउ भन्नेबित्तिकै हुरुक्कै हुन्छन्। यहाँको स्याउको पृथक् ब्रान्ड बनिसकेको हिराचनले बताए। बजारमा मुस्ताङको नाम बेचेर अरू ठाउँको स्याउ बिक्री हुने गरेको उनले बताए।
स्याउको ब्रान्ड कायम राख्न स्याउ जोन, कृषि ज्ञान केन्द्र र जिसस मुस्ताङले स्याउ टिप्ने कार्यतालिका तोकेका छन्। यस वर्ष पनि भदौ २५ सम्म उच्चघनत्व प्रविधिमा आधारित गाला र किङरुट जातको स्याउ टिप्न पाइने र अन्य जातका स्याउ भदौ २५ गतेपछि टिप्नुपर्ने नियम राखिएको छ। अहिले किसान उच्च घनत्व प्रविधिमा आधारित गाला जातका स्याउ टिप्न व्यस्त छन्। मुस्ताङका पाँचवटै स्थानीय तहमा स्याउ खेती विस्तार भएको छ। गत वर्ष १ हजार ५ सय ४० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको थियो। यस वर्ष थप ३५ हेक्टरमा लगाइएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। ३८ हेक्टर जमिनमा उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए।
परम्परागत स्याउले फल दिन दसौं वर्ष लाग्ने र उच्च घनत्वको बिरुवाले लगाएको पहिलो वर्षमै फल दिन्छ। त्यसैले किसानमा उच्च घनत्वको स्याउ खेतीतर्फ आकर्षण बढ्दै गएको बस्ताकोटीले उल्लेख गरे। २०७२ सालमा मनाङ एग्रो फार्मले उच्च घनत्व प्रविधिमा आधारित स्याउ भित्र्याएपछि यो प्रविधि मुस्ताङमा भित्रिएको हो। यो प्रविधि सफल भएको छ। मुस्ताङमा १ हजार ५ सय ३७ हेक्टरमा परम्परागत रैथाने स्याउ लगाइएको छ। खेर गइरहेको बाँझो जग्गा र बगरमा पछिल्लो समय सामूहिक र व्यक्तिगत रूपमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ।
उच्च घनत्व प्रविधिमा आधारित गाला, फुजी, किङरुट, गोल्डेन डेलिसियस र जोना प्रिन्स गरी पाँच जातका स्याउ बिरुवा रोपिएको ज्ञान केन्द्रले बताएको छ। गण्डकी सरकारले मुस्ताङमा इटालीबाट ल्याइएको ९८ हजार ५ सय थान उच्चघनत्व प्रविधिमा आधारित स्याउका बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ। यस्तै स्याउ जोन मुस्ताङले पनि १८ हजार ५ सय थान उच्च घनत्वको स्याउ बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिसकेको छ ।
मुस्ताङमा रैथाने जातका तीन दर्जन प्रजाति स्याउमध्ये रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ लगाइएका छन्।
यस वर्ष वर्षा कम भएकाले स्याउमा लाग्ने रोग संक्रमण देखिएको छैन। यहाँको स्याउ हरितालिका तिज, दसैं र तिहारका समयमा धेरै बिक्री हुन्छ। बिक्री नभए कोल्ड स्टोरमा राख्नुपर्छ। तर, कोल्ड स्टोर नहुँदा किसान मर्कामा पर्ने गरेका छन्। मुस्ताङमा चालू वर्ष १५ प्रतिशत स्याउ उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रारम्भिक अनुमान गरेको छ ।
केन्द्रका अनुसार स्याउ उत्पादनको क्षेत्र वृद्धि हुँदै गइरहेको र यस वर्ष मौसम अनुकूलित रहेकाले स्याउ उत्पादन वृद्धि हुने सम्भावना रहेको केन्द्रले जनाएको छ। मुस्ताङका पाँचवटै स्थानीय तह गरी कुल ५ सय ८० हेक्टर जमिनमा लगाइएको स्याउले उत्पादन दिने गरेको जनाइएको छ ।
मुस्ताङमा स्याउ खरिद गर्न जिल्ला बाहिरका व्यापारीहरू भदौ लागेपछि मुस्ताङ आउने गर्छन्। मुस्ताङमा झन्डै ८० प्रतिशत स्याउ व्यापारीहरूले पोखरा–काठमाडांै पु¥याउने गर्छन् भने बाँकी स्याउ जिल्लामा खपत हुन्छ। मुस्ताङ आउने पर्यटकले कोसेलीको रूपमा स्याउ खरिद गर्छन्। यस्तै, बगंैचामा खेर गएका र कमसल स्याउहरूको ब्रान्डी, जुस, जाम, सुकुटी आदि बनाउँछन्। मुस्ताङमा स्याउको ब्रान्डी बनाउने ६ वटा डिस्टिलरी सञ्चालनमा छ ।