एमालेले भन्यो- बहुमतका लागि करिब १६ प्रतिशत मत अपुग छ
काठमाडौं : नेकपा एमालेले बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको बताएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा बहुमतका लागि करिब १६ प्रतिशत मत अपुग रहेको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, 'बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ। त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने।'
मत वृद्धिका लागि मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने एमालेको योजना छ।
प्रतिवेदनमा भनिएको छ, 'आम जनसमुदायमा पार्टीका नीति र एजेन्डाको व्यापक प्रचार गर्नुपर्ने देखिन्छ। एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्नुपर्छ। आफ्नो शक्ति र सामर्थ्यमाथि आत्मविश्वास बढाउनुपर्ने देखिन्छ।'
गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ। अध्यक्ष ओलीले मुलुकमा पुँजीवादका पक्षधर र समाजवादका पक्षधर शक्तिहरूबीच ध्रुवीकरण आवश्यक रहेको बताए।
राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने भनिएको छ। प्रतिवेदनमा भनिएको छ, 'खास गरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जीत सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जीतलाई कायम गर्न पार्टी प्रवेशका ठोस र मूर्त योजनाहरू बनाइ कार्यान्वयन गर्ने।'