कुबेलामा गण्डकीका मुख्यमन्त्री पोखरेलसहित जम्बो टोली मुस्ताङमा

कुबेलामा गण्डकीका मुख्यमन्त्री पोखरेलसहित जम्बो टोली मुस्ताङमा

जोमसोम : मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित गण्डकी प्रदेश सरकारका एक दर्जन बढी जम्बो टोली शुक्रबार हिमाली जिल्ला मुस्ताङ आइपुगेको छ। 

आसन्न संघीय तथा प्रादेशिक निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा कार्यकाल सकिँदै गर्दा गण्डकीका मुख्यमन्त्री पोखरेलसहितको जम्बो टोली मुस्ताङ आइपुगेका हुन्।

मुख्यमन्त्री पोखरेलसहित प्रदेश आन्तरिक मामिला मन्त्री दोबाटे विक, मुख्य मन्त्रीका राजनीतिक सल्लाहाकार खड्गबहादुर कमाल, मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद आचार्य र प्रदेश सभा सदस्य बिष्णुप्रसाद लामिछानेसहितको टोली मुस्ताङ आइपुगेको हो।

टोलीले शुक्रबार बिहान हतार-हतार प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी जोमसोम फर्किएको थियो। यसअघि जिल्ला प्रशासन कार्यालयको समन्वयमा शुक्रबार जिसस सभाहलमा बिहान १० बजे तय गरिएको पूर्वनिर्धारित कार्यक्रममा समेत मुख्य मन्त्री पोखरेल एक घण्टा ढिला गरी पुगे। 

शुक्रबारनै उत्तरी कोरला नाकाको भ्रमण गर्ने कार्यतालिका रहेको मुख्य मन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए।

टोलीले मुस्ताङमा आर्थिक, सामाजिक र भौतिक विकासमा भइरहेको प्रगति, समस्या चुनौती र समाधानका विषयमा जोमसोममा जिल्लास्थित कार्यालय प्रमुख र जनप्रतिनिधिहरूको धारणा बुझ्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। मुख्य मन्त्री पोखरेललाई मुस्ताङ प्रहरीले सलामी अर्पण गरेको थियो।

टोलीको मुस्ताङ भ्रमण बेमौसमे बाजा जस्तै भएको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए। 

जोमसोममा आयोजित मुख्यमन्त्री सम्मिलित कार्यक्रममा सहभागी सांसद तुलाचनले मुख्यमन्त्री र मुस्ताङका कार्यालय प्रमुख र जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया भएको जानकारी दिए। 

'उहाँ मुख्यमन्त्री भएको धेरै समय भइसक्यो, तर कार्यकाल सकिँदै गर्दा उहाँ मुस्ताङ आउनुभयो, सांसद तुलाचनले भने,' निर्वाचिनको मिति घोषणा भइसकेको छ, यो बेला उहाँको मुस्ताङको भ्रमण कुनै सार्थकता छैन।' 

सांसद तुलाचनले गण्डकी प्रदेशले नीति तथा कार्यक्रम बजेट ल्याइसकेको र यो बेलाको भ्रमणले मुस्ताङको विकासमा कुनै योगदान नदिने दावी गरे। मुस्ताङको वस्तुगत अवस्था बुझ्ने र कोरला नाका र मुक्तिनाथ भ्रमण गर्ने उद्देश्यले मात्र मुख्यमन्त्री पोखरेलको टोली मुस्ताङ आएको सांसद तुलाचनले उल्लेख गरे।

यता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद आचार्यले मुख्यमन्त्रीको मुस्ताङ भ्रमण पूर्व घोषित कार्यतालिका भएकाले ढिलै भएपनि मुस्ताङ आएको जानकारी दिए। 

'मुख्यमन्त्री पोखरेल पहिल्यै मुस्ताङ आउन खोज्नु भएको थियो, विभिन्न कारण र व्यस्तताले उहाँ आउन पाउनु भएको थिएन, सचिव आचार्यले भने, मुस्ताङका समस्या र चुनौतीलाई सम्बोधन हुन गरी मुख्यमन्त्री यहाँ पाल्नु भएको हो, यो भ्रमणमा शंका गर्नु हुँदैन।'

यसअघि जिसस सभाहलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई सरकारी कार्यसम्पादन सेवामैत्री बनाउन निर्देशन दिएका छन्। 

मुख्यमन्त्री पोखरेलले प्रादेशिक अधिकारलाई संघीय सरकारले नियमन गर्न खोजेको आरोप लगाए। आन्तरिक मामिला मन्त्री दोबाटे विकले प्रदेशअन्तर्गतका १६ वटा प्रहरी चौकी भवन बनाउन टेन्डर भइ काम अघि बढाएको र कतिपय सम्पन्न भइसकेको जानकारी दिए।

चालु वर्ष प्रदेश प्रहरी अस्पताल बनाउन बजेट विनियोजन भएको मन्त्री विकले बताए। 'प्रदेशभर जम्मा ७ सय प्रहरी र २२ सय सशस्त्र प्रहरी छन्, मन्त्री दोबाटेले भने, 'यो प्रदेशका लागि अपुग हो, प्रदेश प्रहरी संयाजन र दरबन्दी कायम गर्न संघको ध्यानाकर्षण गराएका छौं।' 

उनले जिल्लामा हुने विपदका घटनामा प्रहरी, प्रशासन र स्थानीय तहले मुचुल्का उठाएर जानकारी गराएर विपद् सहयोगका लागि प्रदेशले बजेट उपलब्ध गराउने उल्लेख गरे।

मुस्ताङका संघीय सांसद तुलाचनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध हुन नसकेसम्म कोरलानाका नखुल्ने दावी गरे। उनले कोभिडका कारण विगत तीन वर्षदेखि कोरला व्यापार मेला ठप्प रहेको र त्यसका लागि आफूले पटक पटक पहल गरेको जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.