माछा मार्न थापेको जालमा अजिङ्गर
झापा : स्थानीयले माछा मार्न थापेको जालमा अजिङ्गर फेला परेको छ। झापा गाउँपालिका- ७ स्थित सानो माई खोलामा अन्दाजी २० केजी तौलको अजिङ्गर फेला परेको हो।
स्थानीय सोम मुर्मु, सोम हेमरम, आसिक मुर्मु, लुखिराम मुर्मु र सुनिल मुर्मुले सानो माईमा माछा मार्न जाल थापेका थिए। उनीहरूले थापेको जालमा बिहीबार बेलुका ९ बजे अजिङ्गर परेको र सो अजिङ्गरलाई जालमै पोको पारेर घर ल्याएका थिए।
स्थानीयले शुक्रबार बिहान पन्थापाडा प्रहरी चौकीलाई खबर गरी स्थानीय रानी सामुदायिक वन उपभोक्ता समितिलाई अजिङ्गर जिम्मा लगाएको छ।
रानी वनले उक्त अजिङ्गरको संरक्षण गर्ने जनाएको छ। यसअघि पनि रानी सामुदायिक वनले आफ्नो परिसर भित्रको खोरमा दुईवटा अजिङ्गर राखेको थियो। तर, दुवै अजिङ्गर खोरबाट फुत्केर भागेको स्थानीय बताउँछन्।