किताबमा सिद्धान्त पढे, व्यवहारमा पसल चलाए

किताबमा सिद्धान्त पढे, व्यवहारमा पसल चलाए

पोखरा : पसलमा एकजना अर्धवैंशे आइन्। सोधिन्, कुन किताब राम्रो छ। पसलले अक्मकाउँदै सेतो धर्तीतिर औंला सोझ्याए। 

ग्राहक महिलाले लेखक अमर न्यौपानेले नै लेखेको करोडौं कस्तूरी र सेतोधर्तीमध्ये कुन ठिक होला भनेर फेरि सोधिन्। पसलले आफूलाई सेतो धर्ती मन परेको सुनाए। 

फेरि थपे-मेरो साथीले चाहिँ यो (औंलाले करोडौं कस्तूरी देखाउँदै) सिफारिस गरेको थियो। त्यसपछि महिलाले त्यही किताब किनिन्। पसलमै रहेका अर्काले बिल प्याडमा कलम घुमाउँदै ग्राहकको हजुरको नाम? भन्दै सोधे। उनले भनिन्, गीता केसी।  

पसलले ग्राहकबीच संवाद र किताब किनबेचको यो दृश्य बजारको कुनै किताब पसलमा देखिएको होइन। पसलमा विद्यार्थी थिए। ग्राहक चाहिँ अभिभावक। सैनिक आवासीय महाविद्यालय पोखरामा वाणिज्य मेला आयोजना गरिएको थियो। 

वाणिज्य विषयमा १२ कक्षा पढिरहेका विद्यार्थीले मेलामा पसल चलाइरहेका थिए। ७ कक्षामा पढ्ने आफ्नी छोरीको स्कुलको मेलामा पुगेकी थिइन् घारीपाटनकी गीता केसी।
 
मेलामा किताब पसल मात्रै थिएन। किराना पसल पनि थियो। चिसो पेय पदार्थहरूको पसल थियो। साढे ११ बजे सुरु भएको मेलाको किराना पसलमा थुप्रै सामान थिए तर १ घन्टामै पसलका सामान सबै बिक्री भए। 

चिसो पेयपदार्थको पसलमा पनि सामान पुर्‍याउन धौधौ थियो। पसल पसल चलाइरहेकाहरू मम पकाउँदै बिक्री गर्न व्यस्त थिए। तरकारी पसलमा भेटिइन् सविना केसी। तरकारीहरू मण्डीमा पुगेर थोकमा किनेको र खुद्रा मूल्यमा बिक्री गरिरहेको सुनाइन्। कतिपय तरकारी चाहिँ गाउँघरतिर विद्यार्थीले नै मगाएका थिए।
 
सैनिक महाविद्यालयले वाणिज्य संकाय पढिरहेका विद्यार्थीलाई आफैंले व्यापार गर्न जान्ने बनाउन मेलाको चाँजो मिलाएको थियो। मेलाका संयोजक तथा विद्यालयको प्लस टु संयोजक उपेन्द्र पौडेलका अनुसार कुन-कुन सामान किन्ने, कहाँ गएर किन्ने र कसरी बिक्री गर्ने भन्ने सबै काम विद्यार्थी आफैंले गरेका हुन्। 'कतिपय सामान बिक्री नभए फिर्ता हुने गरी र कतिपय पहिल्यै पैसा तिरेर विद्यार्थी आफैंले डिल गरेर ल्याए,' उनले भने।
 
विद्यालयका प्राचार्य राजेन्द्र लाखेका अनुसार पढेको कुरा व्यवहारमा अभ्यास गराउने उद्देश्यले विद्यार्थीलाई वाणिज्य मेलाको अवसर दिइएको हो। 

शिक्षक पौडेलले सैद्धान्तिक ज्ञान लिइसकेपछि विद्यार्थी आफैंले उद्योग, व्यापार, बजारीकरण गर्न जानून भनेर सबै जिम्मेवारी विद्यार्थीलाई दिएर मेला गरिएको जानकारी दिए। 'आवश्यक ठाउँमा समन्वय त विद्यालयले पक्कै गर्‍यो,' उनले भने।
 
सौन्दर्य सामग्रीको पसल चलाएका विद्यार्थी पुष्पा शर्मा, रोजिना लामिछाने, धनिच्छा गुरुङ, सुविना श्रेष्ठ र कृतिका केसीले ४५ हजार रुपैयाँ लगानी गरेको जानकारी दिए। 

मेलामा पसल राख्ने भनेर कतिपय सामान उनीहरूले हेटौंडादेखि अनलाइनबाट पनि मगाएका थिए। 'हामी आफैंले हातै बनाएका नेक्लेस र ब्रेसलेट पनि छन्,' पसलमा भएका सामान देखाउँदै पुष्पाले भनिन्।
 
मम पसलमा भेटिएकी नम्रता पौडेल सालको पातको टपरीमा मम बेच्ने सुरसारमा थिइन्। रेडिमेड मम, टपरी, चटनी, सिन्का लगायत सामान छुट्टाछुट्टै ठाउँबाट किनेर जुटाएको अनुभव नम्रता र उनका साथीहरूले हाँसिल गरेका थिए। सैनिक महाविद्यालय नेपाली सेनाको कल्याणकारी कोषबाट सञ्चालित छ। 

मेलाको उद्घाटन नेपाली सेनाको मध्यकमाण्डका महासेनानी मोहन बञ्जाराले गरेका थिए। मेलामा इन्सोरेन्स, विद्युतीय स्कुटरलगायत गरी २२ स्टल थिए। मेलामा पसल चलाएर भएको नाफाबाट विद्यार्थीले विद्यालयको ब्याच टिसर्ट लगायत सामग्री किन्न खर्च गर्ने शिक्षक नवराज बरालले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.