मलाई नागरिक नभन्नू !
यो नागरिक भन्ने पगरी
उसैलाई गुथिदिनू।
मसँग तीनपुस्ते नामसहित
मेरै औंठाछाप राखेर
रातो फुल्टिनले सही धस्काएको
कागतको एउटा आयातकार खोस्टो छ
यही निरीह खोस्टोको भरमा
म बगरमा बस्ने मान्छे
कसरी नगरमा बस्ने नागरिक हुन सक्छु ?
म नागरिक भएको भए
मेरो धानबारीसम्म पुग्न
यी साउने खोलामा
सरकारको बिम्ब झल्किने पुल बन्थे
र पुलको प्रवेश बिन्दुमा
खोलाले बगाएकी रोपाहार
मनोरम नीलकमल बनेर फुलिरहेकी हुन्थिन्
भूस्खलन, दादुरा
र वनढाडेको घेराभित्र
म कंकला स्वरले रोइरहेकी छु
मेरो रुवाइ सुनेर
वनस्खण्डीहरू भागुनर क्षितिजपारि निदाइरहेका
स्वर्णिम मन्त्रालयहरू बिउँझिउन
अपायकमा ओइलाइरहेको
एउटा रैती फूल हुँ म
त्यो दिन मात्रै नागरिक फूल हुनेछु
जुन दिन मेरो छेवैमा
वर्णमालाका ज्ञानशाला बन्नेछन्
व्याधिविरोधी आरोग्यशाला बन्नेछन्
अनि त्यहाँ म
शक्तिशाली अधिराज्यकी राजकुमारीजस्तो
मुखभरि मुस्कान
र ठाडो शिर लिएर छिर्न पाउनेछु
म नागरिक भएको भए
मध्यरातमा सर्पले टोक्दा
साइरन बजाउँदै तीन मिनेटभित्र
मेरो सरकार मेरो ओछ्यानमा आइपुग्थ्यो
नागरिक बन्ने अभिलाषामा
मैले कैयौं आवधिक चुनाव कुरेकी छु
मेरो देशको खप्पर अभागी भन्दै
दशक दशकमा व्यवस्था फेरेकी छु
यो नागरिक भन्ने पगरी
जसको शिरमा सुहाउँछ
उसैलाई गुथिदिनू।