चिनियाँ दैलो उघारौं
सबैभन्दा धेरै नेपालीले उत्साहका साथ मनाउने पर्व दसैं नजिकिँदो छ। दसैं नेपालीको सांस्कृतिक पर्व त हुँदै हो। देशमा धेरै आर्थिक गतिविधि हुने बेला पर्व पनि यही हो। नेपाली सबैभन्दा महान् चाडकै बेला धेरै किनमेल गर्छन्। पहिलापहिला नयाँनयाँ लुगाफाटो किन्ने छेको दसैंमात्रै हुन्थ्यो भन्दा पनि हुन्छ। आजकल जसै नेपालीको क्रयशक्ति वृद्धि भयो, किनमेल त अरू बेला पनि हुन्छ। तर लुगाफाटोमात्रै नभई घरायाशी सामानदेखि सवारीसाधनसम्म किन्न नेपाली दसैंकै साइत पर्खन्छन्। तर, आउँदो दसैं नेपालीहरूका लागि महँगो पर्ने पक्काजस्तो देखिँदैछ। किनभने दसैंलाई लक्ष्य गरेर व्यापारीले सामान ल्याउन पाएका छैनन्।
अर्डर गरेर आएका कतिपय सामान बाटैमा रोकिएका छन्। त्यस्तो भएको चीनले नेपालसँगका नाकामा तालाचाबी लगाउनाले हो। हो, चीनले नेपालतिरका नाकामा लामो समयदेखि अघोषित नाकाबन्दी नै गरेको छ। मुख्यनाका रसुवागढी र तातोपानी पनि खुलेका छैनन्। देशभरका ९ जिल्लाका १० नाकामा पनि बारबन्देजै छ। तातोपानी नाका २०७२ सालको भूकम्पपछि लामो समय बन्दै रह्यो। कताकति चीनले खोलेको पनि थियो। तर नियमित खुला हुन सकेन। झन् गएको साताअघि बन्दै भएको छ। त्यही नाकाबाट सामान ल्याउँला भनेर नेपालीले व्यवसायीले सामान अर्डर गरेका थिए। सामान बाटामा आइपुगेको पनि थियो। अहिले त नाका नै बन्द छ। एकातिर व्यापारीलाई ती सामान नआएर घाटा। अर्काेतिर उपभोक्तालाई अब महँगा सामान किन्नुपर्ने बाध्यता। यस्तै अवस्था आइलाग्ने देखिन्छ। चिनियाँ सामानको विशेषता भनेकै नेपालीको गच्छेअनुसारको हुनु हो।
नेपाली सरसामानका लागि चीनमा आकर्षित हुनुको मुख्य कारण सस्तो सामान पाइनाले हो। त्यसो त चीनसँग नेपालीको किनमेलको साइनो आजको होइन, कम्तीमा पनि १५ सय वर्ष हाराहारीको हो। नेपाल भोट व्यापारको इतिहास ताजै छ। तर, अहिले आएर चीनले सात वर्षयता नाकामा कसिकसाउ गरिरहेको छ। सम्भवतः उसलाई चीनविरोधी घूसपैठको डर होला। चीनको स्वशासित क्षेत्र तिब्बत हो नेपालसँग जोडिएको। जुन भूमिका बारेमा कहिलेकाहीँ शंकास्पद गतिविधि पनि हुने गरेका छन्। नेपाल तिब्बती भूमि चीनको अधीनस्थ हो भन्ने मान्यता राख्छ। एक चीन नीतिमा नेपाल अडिग छ। नेपाली भूमि चीन वा कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नेपाल दिँदैन। साँच्चिकै चीनलाई कुनै भयत्रास छ भने उसले नेपालीसँगको संवादबाट टुंगो लगाउन सक्थ्यो। उसले त्यसो नगर्नु दुःखद् हो। मित्रका हैसियतमा जुन खाले व्यवहार अपेक्षा नेपाल र नेपालीको छ, त्यो प्रदर्शन गर्नु उसको दायित्व अपेक्षा गर्नु कुनै अघेल्याइँ होइन।
अर्काेतिर, छिमेकी मित्रबाट अपेक्षित व्यवहार नहुँदा त्यसमा कूटनीतिक पहलका माध्यमबाट समस्या सुल्झाउन लाग्नु हाम्रो सरकारको कर्तव्य हो। कुरा, व्यापार व्यवसायको मात्रै होइन, दुई देशको सम्बन्धको पनि हो। सामान ल्याउन लैजानमात्रै नभई चिनियाँ नाकाबाट मानिसको आवातजावत पनि रोकिएको छ। त्यसको नकारात्मक प्रभाव नेपालको पर्यटनमा पनि परेको छ। स्थलमार्गबाट १५ दिनमा आइपुग्ने चिनियाँ सामानलाई डेढ महिना लाग्छ। समग्रमा, नाका खुला नहुँदा दुई देशको सम्पर्क र सम्बन्धबिच्छेदजस्तो अवस्था छ। यसबारे परराष्ट्रमन्त्री नारायण खड्काको हालैको चीन भ्रमणमा कुरा उठाइएको भनिएको छ। परिणाम भने आएको छैन। औपचारिक रूपमा नाकाको विषयलाई एजेन्डा बनाएर सरकारले चीनसँग संवाद गर्न जरुरी देखिएको छ। यो समस्या कूटनीतिक पहलकै माध्यमबाट सुल्झाउन जरुरी छ।