तामाङ हत्याका अभियुक्त सार्वजनिक
जोमसोम : जिल्ला प्रहरी कार्यालय मुस्ताङले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका एक अभियुक्तलाई सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेका अभियुक्तलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
गत श्रावण १७ गते स्याउबारीमा काम गरी बस्ने चन्द्रबहादुर तामाङको हत्या गरिएको अभियोगमा पक्राउ परेका रोल्पा सुनछहारी गाउँपालिका- १ घर भई मुस्ताङको घरपझोङ–५ ढुम्बामा ज्याला मजदुरी गरी बस्ने २६ वर्षीय हिमाल भन्ने डुकमन घर्ती मगरलाई मुस्ताङ प्रहरीले सार्वजनिक गरेको हो ।
हत्या अभियोगमा पक्राउ परेका अभियुक्त डुकमान घर्तीमगरलाई भदौ ६ गते २० दिनपछि मुस्ताङ प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको अनुसन्धान र अभियुक्तले प्रहरीसमक्ष दिएको बयानमा आफूले तामाङको हत्या गरेको स्वीकार गरेका छन्।
हत्याका अभियुक्त घर्ती मगरले प्रहरी अनुसन्धानका क्रममा दिएको बयान र पत्रकार सम्मेलनमा दिएको बयानमा तामाङको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् ।
घरपझोङ–५ स्थित लालबहादुर गुरुङको स्याउबारीमा सिंचाई गर्ने क्रममा पानीको विषयलाई लिएर विवाद हुँदा अभियुक्त भनिने घर्तीमगरले आफ्नो हातमा भएको फलामले सिंगुरले तामाङको टाउकोमा तीन पकट प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।
यसअघि गत श्रावण १७ गते हत्या गरिएका धादिङ जिल्ला खनियाबास गाउँपालिका–४ स्थायी घर भई मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बा स्थित स्याउबारीमा काम गरी बस्ने ४९ वर्षीय तामाङ स्याउ खेतीमा सिंचाई गर्न गएकोमा बेलुका अबेरसम्म घर नफर्किएपछि सोही दिन साँझ खोजतलासका लागि प्रहरीलाई जानकारी गराइएको थियो।
खोजतलास गर्ने क्रममा सोहीदिनको राति ११ बजेतिर घरपझोङ–५ ढुम्बा लालबहादुर गुरुङको स्याउबारीमा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । मृत अवस्थामा फेला परेका तामाङको टाउकोमा गम्भीर चोट लागेको भेटिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले घटनाको पछिल्लो दिन श्रावण १८ गते मुचुल्का उठाइ मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोममा पठाइ आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ परेका घर्तीमगरलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए ।