जसपाले मोरङमा गठबन्धन नगर्ने
विराटनगर : उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीले मोरङमा गठबन्धन नगर्ने भएको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पार्टीले दावी गरेको क्षेत्रहरूमा गठबन्धनले टिकट नदिए एक्लै चुनाव लड्ने तयारी गरेको छ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ को दुवै प्रदेश सभासँगै क्षेत्र नम्बर ६ को (ख) मा जसपाले पाउनुपर्ने र सो नपाए एक्लै निर्वाचनमा जाने मोरङ अध्यक्ष राजकुमार यादवले बताए ।
स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पराजय भएपछि पछिल्लो समय कार्यकर्ताहरू गठबन्धन प्रति असन्तुष्ट छन्।
उनले भने- 'निर्वाचन क्षेत्र नम्बर ५ त कुनै हालतमा जसपाले छोड्दैन, बरु गठबन्धनबाट बाहिर आउँछ।'
मधेश आन्दोलनको आधारभूमि निर्वाचन क्षेत्र नम्बर ५ नै हो। पटक पटक भएको मधेश आन्दोलनमा मोरङका ९ जना सहिद भएका थिए। जसमध्ये ५ नम्बरबाट नै ७ जना सहिद भएका छन्।
सहिद परिवारको रेखदेख गर्दे आएका अध्यक्ष यादवले सहिद परिवार पनि निर्वाचन क्षेत्र नम्बर ५ नछोड्न दवाव दिँदै आएकाले आफू कुनै हालतमा पछि नहट्ने बताए।
आधारभूमिलाई छोड्नु पर्दा पार्टी नै सखाप हुने कार्यकर्ताहरूले चेतावनी दिएकाले एक्लै निर्वाचनमा जाने तयारी गरेको बताए।
गत निर्वाचनमा सो क्षेत्रमा त्रिपक्षीय भिडन्त भएको थियो। माओवादी केन्द्रबाट शिवकुमार मण्डल, कांग्रेसबाट अमृत अर्याल र जसपाबाट राजकुमार यादव चुनावी मैदानमा उत्रिएका थिए।
कडा प्रतिस्पर्धाका बीच झिनो मतान्तरले माओवादीका मण्डल विजय भएका थिए भने कांग्रेसका अर्याल दोस्रो र जसपाका यादव तेस्रो स्थानमा रहेका थिए।
यस पटक जसपाका केही अगुवा युवा नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेकाले अर्याल पनि आफू बढी सुरक्षित महसुस गरेको क्षेत्र हो भने मण्डल दोहोर्याउने तर्फ लागेका छन्।
जसपाका यादवले जसपाका लागि गत वर्षभन्दा बढी सुरक्षित क्षेत्र भएको भन्दै कुनै हालतमा ब्याक नहुने बताउँदै आएका छन्।