एमालेबाट भावी प्रधानमन्त्री ओली नै, किन ?

एमालेबाट भावी प्रधानमन्त्री ओली नै, किन ?

काठमाडौं : नेकपा (एमाले) ले आगामी निर्वाचनपछि केपी शर्मा ओली किन भावी प्रधानमन्त्री भनेर स्पष्ट पारेको छ। दुई–दुईपटक प्रधानमन्त्री भइसकेका ओलीलाई किन फेरि प्रधानमन्त्री बनाउनुपर्‍यो भन्ने प्रश्नमा एमालेले त्यसको कारण दिएको छ। एमाले महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बहुमत प्राप्त गरी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने योजनासाथ अगाडि बढेको बताए । 

महासचिव पोखरेलले नेपालको राजनीतिलाई सही बाटोमा डोर्‍याउन भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई अघि सारेको बताए। अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्नुपर्ने विभिन्न कारणहरू बताउँदै महासचिवले स्पष्ट पारे। उनले भने, ‘अध्यक्ष ओली नाकाबन्दीको डटेर सामना गर्ने, संविधान निर्माणमा बाह्य हस्तक्षेपको दृढतापूर्वक सामना गर्ने, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा, हिंसा पीडितहरूको संरक्षक र देशको विकास र समृद्धिलाई अगाडि बढाउने अत्यन्त सक्षम नेतृत्व हुनुहुन्छ। उहाँले अगाडि बढाएका विकास र समृद्धिका योजना अगाडि बढाउन आगामी निर्वाचनपछिको एमालेको प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको हो।’ 

उनले आगामी निर्वाचनमा एकल बहुमतसहित विजय प्राप्त गर्न पार्टीले एक संगठित सदस्य दुई नयाँ भोट वृद्धि र पाँच भोटको सुरक्षा अभियान अगाडि सारेको र यो अभियान सफल हुँदा पार्टीले बहुमत प्राप्त गर्ने स्पष्ट पारे। पोखरेलले भने, ‘पूर्वाधार निर्माणका क्षेत्रमा एमाले नेतृत्वको सरकारका पालामा ठूलो काम भएको तर विकास, समृद्धि र जनताको हितमा अगाडि बढ्दा एमाले र यसको नेतृत्वमाथि निरन्तर घेराबन्दी र आक्रमण भएको छ।’ 

  • ‘देशको विकास र समृद्धिलाई अगाडि बढाउने अत्यन्त सक्षम नेतृत्व हुन् ओली’
  • एमालेले कुनै पनि किसिमको गठबन्धनको पक्षमा नरहेको

विभागका उप्रमुख तथा पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्नुका विभिन्न कारण र आधारबारे स्पष्ट पारे। उनले विभिन्न कारण र आधारमा केन्द्रीय कमिटी बैठकले सर्वसम्मत निर्णय गरी भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको बताए। नेता रिजालले विकास र समृद्धिको अधुरो सपना पूरा गर्न, राष्ट्रिय स्वाभिमानको प्रवद्र्धकका रूपमा एकमात्र साहसिलो व्यक्तिका रूपमा देशको नेतृत्व गर्न अगाडि सारिएको बताए।

नेता रिजालले वैदेशिक सम्बन्ध सेतुको रूपमा बलियो बनाउन नेपालको हितका लागि समदुरीको सम्बन्ध बनाउन ओलीको नेतृत्व आवश्यक, अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलन बनाउन, अन्तर्राष्ट्रियस्तरमा उच्च तहका नेताका रूपमा बीपीपछिको अन्तर्राष्ट्रिय हैसियत भएको बलियो नेता भएकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको बताए।

ओली इतिहासको व्याख्याता मात्र नभएर कम्युनिष्ट आन्दोलनको इतिहास जोगाउन उनको नेतृत्व आवश्यक भएकोले नै कम्युनिष्ट आन्दोलनको इतिहास जोगाउन भावी प्रधानमन्त्री प्रस्ताव गरिएको बताउँदै रिजालले भने, ‘उहाँको संघर्ष, त्याग र समर्पणको सम्मान गर्न ओलीको नेतृत्वलाई सर्वसम्मत रूपमा अगाडि सारेका हौं। देशको अस्तित्व जोगाउन पनि उहाँको नेतृत्व अपरिहार्य छ।

गठबन्धन भर्सेस एमाले

केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा गरिएको अन्तरसंवाद कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनमा प्रतिस्पर्धा गठबन्धन र एमाले बीच हुने बताए। एमालेले कुनै पनि किसिमको गठबन्धनको पक्षमा नरहेको स्पष्ट गर्दै महासचिव पोखरेलले एमालेको नीति, कार्यक्रम र योजनामा सहमत हुनेहरूसँग स्थानीय तहमा तालमेल भने हुन सक्ने बताए। उनले आगामी निर्वाचनमा आफूहरूले केन्द्रबाट गठबन्धन नगर्ने बताए। उनले स्थानीय स्तरमा भने तालमेल हुन सक्ने बताए।

राजनीतिक दलहरूले चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्ने तर्क गर्दै आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको उनले बताए। ‘आगामी निर्वाचनका लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ। हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौं। हामी आफ्नो नीतिको आधारमा निर्वाचनमा प्रस्तुत हुन गइरहेका छौं,’ उनले भने, ‘स्थानीय तहमा तालमेल हुन सक्छ। तालमेलमा बारेमा हामी सदैव खुला छौं। तर, चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्छ भन्ने मान्यताको पक्षमा छौं। त्यसकारण कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेको छैनौं। चुनावी तालमेलको कुरा गरेका छौं।’ पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको बताए। कांग्रेसले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको र कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको महासचिव पोखरेलको भनाइ छ। 

नागरिकता विधेयक र अध्यादेशको व्यवस्था एउटै होइन

एमालेले नागरिक विधेयक र अध्यादेश एउटै नभएको स्पष्ट पारेको छ। महासचिव पोखरेलले नागरिकता विधेयक र अध्यादेश फरक–फरक भएको दाबी गरे। ‘नागरिकता विधेयकका सम्बन्धमा एमाले नेतृत्वको सरकारका पालामा ल्याइएको अध्यादेश र अहिले ल्याइएको विधेयक उस्तै हो भनेर पाँचदलीय गठबन्धनले भ्रमपूर्ण प्रचार गरिरहेको छ। त्यस्तो होइन। हामीले ल्याइएको अध्यादेशमा अंगीकृत नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था थियो,’उनले भने। 

उनले नागरिकता विधेयक पास गर्नुपर्ने पक्षमा एमाले रहेको बताए। उनले अहिलेको विधेयकका सबै विषयमा एमालेको विमति नभएको पनि स्पष्ट पारे। उनका अनुसार नागरिकता विधयेकका दुईवटा विषयमा मात्रै एमालेको विमति छ । एउटा– वैवाहिक अंगीकृत नागरिकता र अर्को– विधेयक पारित गर्ने संसदीय प्रक्रिया। ‘वैवाहिक अंगीकृत नागरिकताका हकमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था नै यहाँ पनि उचित हुन्छ भन्ने नेकपा कालको पार्टीको धारणा अहिले पनि कायम हो भने विधेयक फास्ट ट्र्याकमा पारित गर्ने गठबन्धन दलको हुटहुटीप्रति हाम्रो असहमति हो,’उनले भने ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.