अस्पतालको फितलो सेवा

अस्पतालको फितलो सेवा

फिदिम : पाँचथरसहित तेह्रथुम र ताप्लेजुङका बिरामीहरूलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सदरमुकाम फिदिममा सुविधासम्पन्न अस्पतालको भवन निर्माण भएको छ। भव्य भवनबाट ५० शय्या सञ्चालन गर्ने भनिए पनि हालसम्म १५ शय्या मात्र सञ्चालन गरिएको छ।

५० शय्याको अस्पताल सञ्चालनका लागि २१ करोड ३४ लाखमा भवन निर्माण भएको हो। सघन सहरी विकास कार्यालयले अस्पताल व्यवस्थापन समितिलाई भवन हस्तान्तर गरेपछि नयाँ भवनबाटै सेवा सुचारु गरिएको छ। तर, सेवा भने १५ शय्याको मात्र सञ्चालनमा छ।

दक्ष चिकित्सकको अभावमा १५ शय्या पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। भव्य संरचना भए पनि ५० शय्याका लागि आवश्यक दरबन्दी स्वीकृत नभएको अस्पताल प्रशासनको भनाइ छ। अस्पतालमा पर्याप्त उपकरणहरू छन्। तर, विशेषज्ञ डाक्टर र जनशक्तिको अभावले अस्पतालको सेवा फितलो बनेको छ।

सञ्चालन भइरहेको १५ शय्याका लागि दरबन्दी अनुसारका दक्ष चिकित्सक र कर्मचारीहरू छैनन्। निःशुल्क भनिएका औषधि अस्पतालमा पाइदैनन्।  दक्ष जनशक्ति नहुँदा सेवा फितलो भएको सूचना अधिकारी नारायण जोशीको तर्क छ। ‘अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्य उपकरहरू छन्,’ जोशीले भने ‘दक्ष जनशक्तिको अभावमा उपकरणहरू थन्क्याएर राख्नुपरेको छ।’ १५ बेड सञ्चालनका लागि चिकित्सकसहित ३२ जना स्थायी स्वास्थ्यकर्मीको दरबन्दी छ। जसमध्ये एक डाक्टरसहित १६ जना स्वास्थ्यकर्मीमात्र कार्यरत छन्। 

तीन जना डाक्टरको स्थायी दरबन्दी भएपनि हाल मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापा मात्र कार्यरत छन्। अस्पतालमा अस्थायी र करारका गरी ६८ जना स्वास्थ्यकर्मी र कर्मचारीहरू कार्यरत छन्। उक्त जनशक्ति प्रभावकारी रुपमा अस्पताल सञ्चालनका लागि पर्याप्त नभएको अस्पताल प्रशासनको दावी छ। तर, उपलब्ध चिकित्सकहरूले नीजि अस्पताल र क्लिनिकबाट सेवा दिने भएकाले पाँचथर अस्पतालको सेवा प्रभावकारी हुन नसकेको सर्वसाधारणको गुनासो छ।

डाक्टरको दरबन्दी खाली भएपछि दुइजना मेडिकल अफिसर र एक जना डेन्टल सर्जनलाई करारमा नियुक्ति गरिएको छ। स्थायी दरबन्दी खाली भएपछि ७ जना स्टाफ नर्स, १ जना अनमी र ३ जना एचए करारमा नियुक्ति गरिएको जोशीले बताए। ‘सरकारले ५० बेड सञ्चालनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ,’ जोशीले भने ‘तर, जनशक्ति अभावले सामग्रीहरू प्रयोगबिहीन छन्। सुविधासम्पन्न भवन र सामग्री अनुसार दरबन्दी पनि थप गर्नुपर्छ।’ दक्ष जनशक्ति अभावले ४ वटा भेन्टिलेटर थन्किएका छन्। ६ ओटा आईसीयूका सामग्री प्रयोगबिहीन भएका छन्। 

अस्पतालको सेवा प्रभावकारी हुन नसक्दा पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमका बिरामीहरू तराइका अस्पतालमा जान बाध्य छन्। पहाडमा सञ्चालित सरकारी अस्पतालहरू रेफर सेन्टर जस्तै भएका छन्।

पाँचथर अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्न फिदिम नगरपालिका लागि परेको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए। ‘अस्पताललाई आवश्यक सहयोग गर्न नगरपालिका लागि परेको छ,’ काफ्लेले भने ‘सेवालाई प्रभावकारी बनाउन अस्पताल प्रशासनले पनि तदारुकता देखाउनुपर्छ।’ संरचना अनुसारको सेवा दिन आफूहरू लागि परेको अस्पताल विकास समितिका अध्यक्ष रामराज आङ्देम्बे बताउँछन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.